बोरामा मृत भेटिएका दुई जनाको पहिचान हुन सकेन
हातखुट्टा बाँधेको अवस्थामा बोरामा मृत भेटिएका दुई जनाको चार दिनसम्म पहिचान हुन सकेको छैन।
चितवनको भरतपुर महानगरपालिका-१२, मिलनचोकमा मंसीर ६ गते दुई व्यक्तिको शव भेटिएको थियो। मिलनचोकस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डको कल्भर्टमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए।
डीएसपी पण्डितका अनुसार देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा हुलिया सहित परिपत्र गरिएको छ। त्यस्तै, सीमावर्ती भारतीय प्रहरी एकाइहरूलाई पनि परिपत्र गरिएको उनले बताए।
सबैतिर परिपत्र गर्दा पनि अहिलेसम्म सनाखत हुन नसकेको उनले बताए। दुवै जना कल्भर्टमुनि बोरामा हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिएका थिए। शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
यसबारे प्रहरीले सामाजिक सञ्जालमा पनि जानकारी राखेको छ। मृतक दुवै जनालाई पहिचान गर्न सकिने सामग्री पनि सामाजिक सञ्जालमा राखेको छ।