‘मिल्क होलिडे’ ले समस्यामा मकवानपुरका दुग्ध व्यवसायी
मकवानपुरका दुग्ध व्यवसायी अहिले ‘मिल्क होलिडे’ का कारण समस्यामा छन्।
मकवानपुरगढी गाउँपालिका-३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २४० दुग्ध व्यवसायीबाट चार हजार ८०० लिटर दूध संकलन गर्दै आएको थियो। तर हेटौंडा दुग्ध वितरण आयोजना र केही निजी डेरीले हप्तामा पाँच दिन मात्र दूध संकलन गर्नु भनी जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मार्फत मनकामना दुग्ध सहकारीलाई भनेपछि अहिले उनीहरू मारमा परेका हुन्।
“डेरी बन्द भएपछि घरमा दूध व्यवस्थापन गर्नै समस्या हुन्छ। न खाएर भ्याउनु, न फ्याल्नु,” मकवानपुर गढी गाउँपालिका-५ की विष्णु बजगाईंले भनिन्।
हप्तामा दुई दिन दूध संकलन नहुँदा मुख्यतः दैनिक २०० लिटरसम्म दूध बिक्री गर्दै आएका व्यवसायीलाई समस्या भएको मनकामना सहकारीका व्यवस्थापक शशि लम्साल बताउँछन्। सहकारी मार्फत दूध बिक्री गर्ने २४० जनाले मिल्क होलिडेका कारण निकै नोक्सानी बेहोर्दै आएको व्यवस्थापक लम्साल बताउँछन्।
यहाँ मात्र नभई मकवानपुरका विभिन्न सहकारी संस्था मार्फत दूध बिक्री गर्दै आएका नौ हजार दुग्ध व्यवसायी अहिले अघोषित रूपमा भइरहेको मिल्क होलिडेले समस्यामा परेका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले अहिले ६१ वटा दुग्ध सहकारी मार्फत दैनिक ५० हजार लिटर दूध खरीद गरी बिक्री गर्दै आएको छ। जसमध्ये अहिले १५ हजार लिटर दूध हेटौंडामा खपत भइरहेको छ भने २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रे पठाउने गरिएको छ।
दैनिक संकलित १५ हजार लिटर दूध भने खपत हुन सकेको छैन। यही कारण संस्थाले साताको पाँच दिन मात्र दूध संकलन गर्ने गरेको हो।
संघका व्यवस्थापक कुमारमणि दाहाल भन्छन्, “आयोजना र निजी डेरी उद्योगहरूले दूध संकलन गर्न रोक लगाएकाले दुई दिन अघोषित रूपमा मिल्क होलिडे हुन गएको हो।”
एक दिन दूध बिक्री गर्न नपाउँदा दुग्ध व्यवसायीलाई ७१ लाख ५० हजार रुपैयाँ नोक्सान हुने बताउँदै दाहाल सम्बन्धित निकायले समस्या समाधानमा तत्काल चासो दिनुपर्ने बताउँछन्। “दुग्ध बिक्रीमै समस्या भएपछि व्यावसायिक रूपमा पशुपालनलाई कसरी प्रेरित गर्न सकिन्छ? यसैगरी हो युवा पलायन हुने,” दाहालले भने।
हेटौंडा दुग्ध वितरण आयोजना प्रमुख नवीन शर्मा मकवानपुर जिल्लामा उत्पादन भएका सबै दूध खरीद गर्न सक्ने आयोजनाको क्षमता नै नभएको बताउँछन्। आयोजनाले बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाका व्यवसायीले उत्पादन गरेको दूध संकलन गर्दै आएको छ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र
दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायत मन्त्रीहरूलाई अनुरोध गरेका छन्।
संघका प्रतिनिधिहरूले मुख्यमन्त्री सहित बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। यसैगरी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई भेटी समस्याबारे अवगत गराउँदै समाधानमा आवश्यक सहजीकरण गरिदिन पनि आग्रह गरेका छन्।
संघका मकवानपुर जिल्ला अध्यक्ष हरिप्रसाद कँडेल व्यवसायीमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकार समक्ष किसानका तर्फबाट उठाइएका विभिन्न माग समाधान गर्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको बताउँछन्।
ज्ञापनपत्रमा उपादित दुग्धजन्य पदार्थको बजारीकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगतभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने लगायत माग उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री जमकट्टेल तथा मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले माग सम्बोधन गर्नेतर्फ आफ्नो ध्यान रहेको र छिटै प्रदेश सरकारको लगानीमा हेटौंडा-१० मा निर्माण हुँदै गरेको पाउडर प्लान्ट तयार भएपछि दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान हुने आश्वासन दिएका छन्।
कँडेलको नेतृत्वमा पत्र बुझाउन गएको टोलीमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले र सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल समेत उपस्थित थिए।