पर्वतहरूको बीचमा उभिंदा...
लाङटाङबाट फर्किंदा अनुभव र स्मृति मात्रै होइन, थुप्रै कहानी बोकेर आएँ। पछि कुनै समय फेरि त्यहाँ जाने बहाना छोडेर आएँ।
म त्यहाँ पुगें, जहाँ योभन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो।
लाङटाङले फिंजाएको हत्केलामा चौंरी चरिरहेका थिए, जो आउने-जाने हरेक पदयात्रीलाई एकटकले हेर्थे।
चार-पाँच महीनाको अन्तरालमा चौंरीलाई नुन खुवाइँदो रहेछ। त्यसैले मान्छे देख्दा नुन लिएर आए कि भनेर आश गर्दा रहेछन्। यो कहानी सुन्दा मुखमा नुनिलो पानी आयो।
एक स्थानीयले सुनाए, यी चौंरी कसैका हैनन्, हिमाललाई सुम्पिएका। परिवारका कुनै सदस्यको मृत्यु हुँदा आफन्तजनले शोक-सम्झनामा एउटा चौंरी गोठबाट निकालेर हिमालमा छोडिदिंदा रहेछन्। “यी चौंरीले कसै न कसैको आत्मा बोकेका छन्,” उनले थपे।
स्थानीय बासिन्दासँगको कुराकानीपछि लाग्यो, यी चौंरी मृत्यु भएका मान्छेको स्मृति बोकेर हिमाल चहारिरहेका छन्। उसो त हामी पनि तिनै चौंरी जस्तै हौं, जो कसै न कसैको याद बोकेर बाँचिरहेका छौं।
शायद हिमालको काखमा बिछ्याएका बाटाहरूले पनि हाम्रा सम्झना भरिएका पदचापलाई बोकिराखेका छन्। “हरेक सजीवता अथवा निर्जीवताले केही न केही बोकेको हुन्छ,” यात्रामा भेटिएकी बेलायती वृद्धाले भनेकी थिइन्, “पदयात्रा भनेको हिंड्नु मात्रै होइन। एउटा यस्तो जीवन बाँच्नु हो, जुन बाँचिसकेपछि कुनै प्रकारको लालसाको पछि लाग्न मन लाग्दैन।”
७० वर्षीया उनी युवा अवस्थामा वातावरणको अध्ययन गर्न डेढ वर्ष जति लाङटाङमा बसेकी रहिछन्। अहिले वृद्धावस्थामा लाङटाङ पुगेकी उनी बोलिन्, “हिंडेर मात्रै पदयात्रा सफल हुँदैन। बाटोमा भेटिने जीव तथा निर्जीवबारे जान्न पनि जरुरी छ।”
यस पटक दौंतरीसँगै आएकी उनी आफ्नो जीवनका केही वर्ष बिताएको ठाउँ देखाउन चाहन्थिन्। लाङटाङ पदयात्रामा उनी जस्तै वृद्धवृद्धा भेटिए, जसका आँखामा अनौठो र अपरिभाषित आभा झल्किरहेको थियो। मन र मुहारमा यस्तो इच्छाशक्ति र उत्साह पोतिएको थियो, जसले हरेक पाइला चाल्न ऊर्जा दिइरहेको हुन्थ्यो।
थाहा थिएन, हिमालमा के थियो? जसले सबैलाई तानिरहेको थियो। मैले भने ठिंग उभिएका सेता हिमाल देखें, जसले आफ्नो भीमकाय अँगालो फिंजाएर हरेक यात्रीलाई स्वागत गरिरहेका थिए।
लाङटाङ पछ्याइरहँदा बुझ्न सकिरहेको थिइनँ, जीवनको उत्तरार्धमा पुगेका वृद्धवृद्धा कुन स्वार्थ र सपना लिएर हिमाललाई अँगाल्न हिंडिरहेका छन्? पाइला पाइलामा लामो श्वास लिंदै कनिकुथी किन त्यो उचाइ नापिरहेका छन्? हिंड्न नसकेकाहरू किन घोडा अथवा खच्चरमा उकालो चढिरहेका छन्? आखिर ती डाँडाहरूमा के लुकेर बसेको छ?
लाङटाङ उपत्यकामा एउटा त्यस्तै वृद्धा भेटिइन्। कुराकानीको सिलसिला अघि बढाउँदा थाहा पाएँ, जर्मनबाट ‘सोलो ट्रेक’ मा निस्किएकी उनी ७०औं वसन्तमा टेक्दै थिइन्। ३० वर्ष पहिले लाङटाङ आएकी रहिछन्, अधबैंसे उमेर बोकेर। अतीतका अनुभव र स्मृतिलाई सँगाल्न पुनः लाङटाङ भित्रिएकी रहिछन्।
त्यस्ता, थुप्रै आत्मा थिए, जो आफ्नो अस्तिस्वलाई स्पर्श गर्न पदयात्रामा निस्किएका थिए। उकालो चढ्दा माथिबाट तृप्त भएर ओरालो झर्दै गरेकाहरूलाई हेर्थे। लाग्थ्यो, उनीहरू सबैका भोक र प्यास मेटिएका छन्। फर्किंदा उनीहरू जस्तै म पनि सन्तोषले ओतप्रोत हुनेछु।
मान्छे जस्तै हरेक ठाउँसँग पनि कहानी हुन्छन्। तर आँसु विनाको कहानी हुँदैनन्। लाङटाङसँग आँसुको कुण्ड छ।
गइरहेका र फर्किरहेका हरेक पदयात्रीका आँखा र पाइला केही बेर पुरानो लाङटाङमा अडिन्थे, जहाँ एक्लो घर अहिले पनि शोकमा उभिइरहे जस्तो देखिन्छ। त्यो मात्रै एउटा यस्तो घर हो, जुन त्यो २०७२ सालको महाभूकम्पमा जोगिन सफल भयो। भूकम्पका कारण आएको पहिरोले पूरै बस्तीलाई नै तहसनहस पारेको थियो। त्यो भयकारी प्राकृतिक प्रकोपले स्वदेशी र विदेशी गरी २४३ जनाको प्राण लिएको थियो।
त्यही पहिरोलाई टेकेर केही बेर हिंडेपछि नयाँ लाङटाङ पुगिन्छ, जहाँ अहिले पनि त्यो आघात र वेदनालाई लिएर बाँचिरहेका छन्। निदाइरहेको पहिरोमाथि हिंडिरहँदा यस्तो लाग्थ्यो, आफ्नै चिहानमाथि हिंडिरहेका छौं। लाङटाङको चिसो हावाले भन्दा त्यो दर्दनाक घटनाले चिस्यायो। लाङटाङ चिहान पनि हो, जसले मृत्युलाई आफ्नो गर्भमा सुताइरहेको छ।
एक स्थानीय वृद्धासँग भूकम्पको घटना स्मरण गर्न खोजें। उनको अनुहारको छाला नमज्जासँग मुजा पर्यो, मुहार मलिन भयो। तुरुन्तै विषयान्तर गरी स्याफ्रुबेसीबाट हाम्रो विपरीत कुदिरहेको खोलालाई देखाउँदै सोधें, “आमा, यो खोलाको नाम के हो?”
“के यो मान्छे हो र! नाम हुनलाई? पानीको पनि नाम हुन्छ?” उनको जवाफ थियो।
शायद मैले घाउको पाप्रा उप्काएको थिएँ। चूपचाप उनको आँखामा जम्न थालेको लाङटाङलाई हेरिरहें, जहाँबाट चुहिएको लाङटाङ खोलाले हामीलाई माथि चेरगोरी ( ४९८४ मिटर) सम्मै गीत सुनाइरह्यो।
भूकम्पपछि लाङटाङ पदयात्रा लगभग तीन वर्षसम्म बन्द भयो। घटनास्थलभन्दा केही माथि मृतकका स्मृतिमा स्मारक पर्खाल बनाइएको छ, जहाँ दिवंगतका नाम कोरिएका छन्। स्थानीयले सुनाए, त्यो घटनापछि यस भेगमा बस्ने मान्छेले मासु खान छाडे। चुल्होमा लसुन र अदुवा पोल्न पनि छोडे। यदि त्यसो गरेमा फेरि कुनै अनिष्टकारी प्रकोप आउने भय व्याप्त रहेछ, उनीहरूमा।
पदयात्रामा निस्किनुअघि साथीले लाङटाङबारे लिनुपर्ने जति जानकारी र थाहा पाउनुपर्ने इतिहासलाई खोतलेको थियो। बेम्बो (२२०० मिटर उचाइ) मा पहिलो रात टेन्टमा बिताउँदा पनि उसले सुनाएको थियो, लाङटाङको नामकरण एक प्राचीन दन्त्यकथाबाट आएको हो। ‘लाङ’ अर्थात् ‘चौंरी’ र ‘टाङ’को अर्थ ‘पछ्याउनु’।
तिब्बतबाट झरेको एक लामाले आफ्नो हराइरहेको चौंरीलाई खोज्दै जाँदा उपत्यका फेला पारेको विश्वास छ, जहाँ उनले आफ्नो चौंरीलाई मृत अवस्थामा भेटेका थिए। यो उपत्यकामा धेरैजसो तामाङ समुदायका मान्छे बसोबास गर्छन्, जो बौद्धमार्ग पछ्याउँछन्।
तामाङ बाहेक यहाँ भोटे र हेलम्बु भेगबाट आएका ओल्मोहरू पनि बस्छन्। उनीहरूले लगाउने गहना र कपडा, बोल्ने भाषा, बस्ने घर, मान्ने रीतबाट सजिलै पहिचान गर्न सकिन्छ। त्यहींबाट उनीहरूको संस्कार र संस्कृति पनि झल्किन्छ।
एक हजार ५०० मिटर उचाइको स्याफ्रुबेसीबाट तन्किएर लगभग सात हजार २०० मिटर उचाइसम्म पुगेको छ, लाङटाङ उपत्यका। जुन देशका ठूला र सुन्दर उपत्यकामा पर्छ।
चाडपर्वको वेला भएर होला, पदयात्रामा आउनेको ताँती नै थियो। सबैले आआफ्ना फोक्सोमा उत्साह र उल्लास भरेर आएका थिए। त्यहाँ कोही पहिलो पटक आएका थिए, आफ्ना पैतालाका डोबहरू छाड्न। कोही आएका थिए, दोहोर्याएर आफ्नै निशानहरूलाई खोज्न।
बाटोमा खच्चरहरू पनि थिए, जसले पदयात्रीका सरसामान बोकेर हिंडिरहेका थिए। उकालो चढ्न अभ्यस्त भइसकेका अभिशप्त ती खच्चरलाई धपाउँदै हिंडिरहेका शेर्पा दाइलाई सोधें, “दाइ, एउटा खच्चरले कतिसम्म बोक्न सक्छ?”
“५० देखि ६० केजीसम्म,” उनको जवाफ थियो।
मेरा थप प्रश्नमा धाँगोमा फूल उने जसरी उनले जवाफ उन्दै गए। एउटा खच्चरको भाडा एक हजार ५०० देखि तीन हजार ५०० सम्म पर्ने सुनाए। दूरीले भाडा फरक पर्ने त भयो नै, मान्छे र ग्यासको सिलिन्डर बोकेको पनि फरक हुँदो रहेछ। दशैंतिहारको वेला पैसा कमाउन उनी स्याफ्रुबेसीबाट माथि उक्लिएका थिए, खच्चरको गोठालो बनेर।
खच्चरलाई पछ्याउँदै गर्दा सोचें- हिंड्दा सबैभन्दा धेरै माया आफ्नै पैतालाको लाग्छ। बाटो र गन्तव्यको लाग्छ। तर पछि थाहा पाउँदै गएँ, सबैभन्दा धेरै माया बाटोमा भेटिएका कहानीहरूको लाग्दो रहेछ। पदयात्राभरि साथ दिएको लौरोको पनि कस्तो माया लाग्छ, शब्दमा अनुवाद गर्न सक्दिनँ।
खच्चर गोठालो जस्तै विभिन्न ठाउँबाट मान्छेहरू आएका थिए, कोही गाइड बनेर त कोही भरिया बनेर। कोही होटल, चिया पसलमा काम गर्न। थुप्रैले रोजगारी पाएका छन्।
अधिकांश पदयात्री यस्ता भेटें, जो एक्लै आएका थिए। उनीहरू सबैबाट लगभग एउटै किसिमको कुरा सुनें, “एक्लो आएपछि कसैलाई पर्खिनु पर्दैन। आफ्नो हिंडाइको गति अरू कसैसँग मिलाउनु पर्दैन। आफ्नो भारी बाहेक अरू कसैको जिम्मेवारी बोक्नु पर्दैन। तर यस्तो यात्रामा कहिल्यै एक्लो भइँदैन। पदयात्रामा सबैभन्दा असल साथी अन्य पदयात्री भइदिन्छन्।”
हामी काठमाडौंबाट त्रिशूली नदीको किनारैकिनार, मनास्लु र गणेश हिमाललाई हेर्दाहेर्दै लगभग सात घण्टामा पुगेका थियौं, स्याफ्रुबेसी। खाजा र केही बेरको आरामपछि जोशजाँगर लिएर उकालो चढ्न थाल्यौं। केही समयसम्म खुट्टाले होइनन्, उत्साहले हिंडाइरह्यो। तीन-चार घण्टापछि शरीर गल्यो।
ठाउँ ठाउँमा रहेका होटल व्यवसायीले आफ्नो होटलमा बस्छन् कि भनेर जंगलमा भालुको डर देखाए। तर मन बनाइसकेका थियौं, पहिलो रात बेम्बोमा बिताउने। दोस्रो रात दुई हजार ७७० मिटर उचाइको रिभरसाइडमा र तेस्रो रात तीन हजार ४३० मिटर उचाइको लाङटाङ उपत्यकामा।
रातले भने आफूलाई घना जंगलमा चाँडै नै पसाइसकेको थियो। मोबाइलको बत्तीले अन्धकारलाई चिर्दै हिंडिरह्यौं, मनभरि भालुको डर लिएर। कहिले बाँदर हाम्रो बाटो रोक्न आउँथे, कहिले माथिबाट हुँत्तिंदै आइरहेका घोडा र खच्चरले तर्साउँथे। ठाउँ ठाउँमा गएको पहिरोले त्रसित बनाउँथ्यो।
भय र थकाइ कैयौं पटक मारे पनि इच्छाशक्तिलाई मर्न दिएका थिएनौं। यसरी दुई हजार २८५ मिटर उचाइको रिम्चे, तीन हजार ३० मिटर उचाइको घोडातबेला, तीन हजार ४३० मिटर उचाइको लाङटाङ गाउँ, तीन हजार ८३० मिटर उचाइको क्यानजिङ गोम्पा र चार हजार ४०० मिटर उचाइको क्यानजिन-रि हुँदै लाङटाङ पदयात्रालाई मात्र ६ दिनमा सक्यौं।
हिउँको टोपी लगाएर उभिरहेका लाङटाङ, लाङटाङ लिरुङ र याला पिकले जिस्काइरहे। स्पर्श गरेर आएको हावालाई फोक्सोमा भर्यौं। क्यामेराले भन्दा हृदयले आफ्नो ‘फ्रेम’ मा मनोरम दृश्यलाई कैद गर्यौं। परपरसम्म फैलिएको चौंरी-खर्क, चिज-फ्याक्ट्री, चौंरीको सुकुटी, लोकल सि-बक थ्रोन जूस र मदिरा, गीत सुनाइरहने खोला, हत्केला जस्तै बाटो, सम्मोहित पार्ने जंगल, हाँसिरहने हिमाल, हिउँको प्रतीक्षामा बसेका पहाड, शान्त गुम्बा, झुलिरहने जंगली फूल, लाङटाङको मीठो आतिथ्य सबै सबै सम्झनलायक छन्।
अझै यात्राभरि अन्य पदयात्रीका अनुभव र वास बसेको होटलमा आगो ताप्दै पदप्रदर्शक र भरियाका अनेकन् कथा-किस्सा सुन्नुको मजा बेग्लै। हिमालको हात समाउँदै राति आकाशमा झुन्डिएको चन्द्रमा हेर्नुको अनुभूति। बिहान लाङटाङबाट चिहाउँदै उदाएको सूर्यलाई ताप्नुको आनन्द। खर्कमा बसेर चौंरीहरू चरिरहेको हेर्नुको रमाइलो। पर्वतहरूको बीचमा उभिएर ध्यानमग्न हुनु, ओहो!
लाङटाङ पदमार्ग अन्नपूर्ण आधारशिविर र सगरमाथा आधारशिविरपछि धेरै हिंडिने मार्ग रहेछ। प्रकृतिको सुन्दर रूप हेर्न लाङटाङ पदयात्रा सजिलो र आनन्दयुक्त छ।
हरेक अनुभव र अनुभूतिलाई लिपिबद्ध गर्न नसकिने रहेछ। त्यसैले लाङटाङ पदयात्राको हर्षपूर्ण पूरै कथा अभिव्यक्त गर्न असमर्थ छु।
पदयात्राबाट फर्किंदा हरेक प्रश्नले जवाफ पाइसकेका थिए। वास्तवमा मान्छेले बाटो र गन्तव्य आफैंभित्र लिएर हिंड्दो रहेछ। आफूदेखि आफूसम्मको यात्रा नै पदयात्रा रहेछ।
लाङटाङबाट फर्किंदा अनुभव र स्मृति मात्रै होइन, थुप्रै कहानी बोकेर आएँ। पछि कुनै समय फेरि त्यहाँ जाने बहाना छोडेर आएँ। म त्यहाँ पुगें, जहाँ योभन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो।