हमासले रिहा गरेका बन्धकको सूची सार्वजनिक, आज थप बन्धकलाई छोड्दै
इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासद्वारा रिहा गरिएका बन्धकको सूची सार्वजनिक गरेको छ।
हमाससँगको सम्झौताको एक भागका रूपमा रिहा गरिएकामध्ये ११ जना विदेशी नागरिक रहेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हसासले रिहा गरेका २४ जना बन्धकको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई पनि मुक्त गरेको थियो।
“इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकको स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा नागरिकले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारलाई हाम्रा अधिकारीहरूले फर्केको जानकारी गराएका छन्।”
इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ। घर फर्किएका आशेर परिवारका तीन सदस्य ३४ वर्षीय डोरोन कात्ज–आशेर, चार वर्षीय राज आशेर र दुई वर्षीय अविव आशेर रहेका छन्। त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ४५ वर्षीय ड्यानियल अलोनी र पाँच वर्षीया अमेलिया अलोनी रहेका छन्। मोन्डर परिवारका ७८ वर्षीय रुथ मुन्डर, ५४ वर्षीय केरेन मोन्डर र नौ वर्षीय ओहद मोन्डर रहेका छन्।
उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक ७२ वर्षीया अदिना मोशे, ७६ वर्षीया हाना कात्जिर, ७७ वर्षीया मार्गालिट मोजेस, ७९ वर्षीया हन्ना पेरी र ८५ वर्षीय याफे अदार पनि छुटेका छन्।
यस्तै, शुक्रबार रिहा भएकामा थाइल्यान्डका १० र फिलिपिन्सका एक जना नागरिक पनि छन्।
रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागका रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेबाट लागू भएको थियो। शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका थिए।
त्यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको शुरूआत’ भनेका छन्। उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका थिए।
टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकका लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकलाई मुक्त गर्नुपर्नेछ। यद्यपि गत अक्टोबरदेखि हमासले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो संख्या मात्र हो।
हमासले थप बन्धकलाई आज पनि रिहा गर्ने अल जजीराले जनाएको छ। त्यसमा को पर्छन् भन्ने सार्वजनिक गरिएको छैन। नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा छन्।