पानी भर्न मन्सुली चामल दिने तमसुक
खोटाङको मंगलटारका बासिन्दाले पानी उपभोग गर्न मुहान भएको खेतधनीलाई सोना मन्सुली चामल दिने तमसुक गरेका छन्।
गाउँघरतिर ऋण लिंदा तमसुक गरेको त सुनिन्छ। तर खोटाङको मंगलटारका बासिन्दाले भने पिउने पानीका लागि सोना मन्सुली चामल दिने तमसुक गरेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६, मंगलटारका बासिन्दाले पिउने पानी उपभोग गरेको सट्टा तुवाचुङ नगरपालिका-५ दुर्छिम राबुका जसबहादुर राईलाई ३० किलोग्रामका ३० प्याकेट सोना मन्सुली चामल दिने तमसुक गरेका हुन्। जसमा दुवै वडाका वडाध्यक्षहरू रोहबरमा बसेका छन्।
पानीको चरम अभाव हुने मंगलटारको दमैडाँडा, बरबोट, कार्की गाउँ र राउत गाउँका बासिन्दा जसबहादुरलाई वार्षिक रूपमा चामल दिएर पानी उपभोग गरिरहेका छन्। ६ वर्षदेखि यसरी नै पानी उपभोग गरिरहेका स्थानीय बासिन्दाले पछिल्लो पटक १० वर्षका लागि तमसुक बनाएका छन्।
२०७४ पुसदेखि गाउँभन्दा करीब पाँच किलोमिटर टाढा रहेको मुहान भाडामा लिइएको स्थानीय बासिन्दा तीर्थबहादुर कार्कीले बताउँछन्। २०७४ सालमा पाँच वर्षका लागि गरिएको सम्झौता गत वर्ष सकिएको थियो। फेरि २०७९ पुस ११ मा १० वर्षका लागि सम्झौता गरिएको तीर्थबहादुर बताउँछन्।
यसरी ल्याइएको पानी दमैडाँडा, बरबोट, कार्कीगाउँ र राउतगाउँका ५० परिवार उपभोग गरिरहेका छन्। दमैगाउँ, बरबोट (मगरगाउँ) र कार्कीगाउँमा रहेका तीन वटा धाराबाट पानी वितरणको व्यवस्था मिलाइएको छ। स्थानीय बासिन्दाले तीनै धाराबाट पानी भर्ने गरेका छन्।
कतिपयले धाराबाट व्यक्तिगत रूपमा पाइप जोडेर घरैमा पनि पानी लगेका छन्। पानी उपभोग गरे बापत हरेक वर्ष जसबहादुरको घरमै चामल पुर्याउने गरेको तीर्थबहादुर बताउँछन्।
गत वर्ष ४५ हजार रुपैयाँको चामल खरीद गरेर जसबहादुरलाई बुझाएको अर्का स्थानीय बासिन्दा मेखबहादुर थापा मगर बताउँछन्। यसअघिसम्म पानीको मुहानधनीलाई कान्छी मन्सुली चामल दिंदै आएका थिए। अबदेखि सोना मन्सुली चामल दिने सहमति भएको छ। सोना मन्सुली चामल दिनुपरेपछि खर्च बढ्ने उनी बताउँछन्।
कोभिड-१९ को महामारीका वेला चलेको बन्दाबन्दीमा चामल ढुवानी हुन सकेको थिएन। त्यतिवेला चामल खरीद गर्न नपाएर अप्ठ्यारो भएको उनी सुनाउँछन्। “चामल त किन्न पाइन्छ तर पानी किन्न सकिंदैन,” मेखबहादुर भन्छन्, “पानीका लागि जति भने पनि तिर्न तयार हुनुपर्ने अवस्था छ।”
जसबहादुरको खेतमा रहेका दुई वटा मुहानबाट पाइप मार्फत लगिएको पानीलाई दमैगाउँको सिरानमा निर्माणाधीन हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पानी ट्यांकमा संकलन गरिन्छ। त्यहाँबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ।
ट्यांकमा जम्मा भएको पानीलाई हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिन्छ। स्थानीय बासिन्दाले त्यो समयमा भरिसक्नुपर्छ। चामल दिनुपरे पनि टाढाबाट गाग्रो बोक्नुनपरेको स्थानीय बासिन्दा लालकुमार दर्जी सुनाउँछन्। पानीको रेखदेख गर्न वार्षिक १२ हजार रुपैयाँ दिने गरी एक जना हेरालु पनि राखिएको छ।
खेतमा पानीको मुहान भएका जसबहादुर चन्द्रबहादुर दर्जीको घरमा आउजाउ गरिरहन्थे। उनको घरमा पानीको समस्या देखेपछि वर्षमा ६ महीना आफ्नो सिमसारे खेतको पानी पाइप राखेर लैजान भनेका थिए। चन्द्रबहादुर एक्लैले पाइप किनेर लग्न आर्थिक कठिनाइ भएपछि गाउँलेसँग मिलेर पाइप किन्न आग्रह गरेका थिए।
त्यसपछि सबै गाउँले गएर जसबहादुरसँग पानीका लागि आग्रह गरे तर उनले मानेनन्। त्यसपछि गाउँलेले पानीको मूल भएको खेत बेच्न आग्रह गरे। त्यसमा पनि जसबहादुर सहमत भएनन्। अनि वार्षिक ३० किलोग्रामका ३० प्याकेट चामल दिने २०७४ मा सहमति बनेको तत्कालीन वडाध्यक्ष रमेश राउत बताउँछन्।
त्यति वेला पानीको मुहान मिल्ने सहमति भएपछि वडा कार्यालयले बजेटको व्यवस्था गर्ने भन्दै स्थानीय बासिन्दालाई पठाएको रमेश बताउँछन्। जसबहादुर चामलमा सहमति गरेका थिए। २०७४ चैतमा चामल बुझाएपछि अर्को महीना २०७५ वैशाखदेखि मात्र पानी उपयोग गर्न पाएका थिए।
स्थानीय व्यवस्था नभएकाले पानीको पाइप पनि जमीनमा गाडिएको छैन। गत जेठमा डढेलोले पाइप जलेको थियो।
यसरी ल्याइएको पानी पिउनेसँगै नुवाइधुवाइ, गाईवस्तुलाई खुवाउन तथा सागपातमा हाल्न सहयोग पुगेको स्थानीय बासिन्दा तुलसी भुजेल बताउँछन्। यसअघि स्थानीय बासिन्दाले फडिनपानी कुवा, राजापानी कुवा, राबुखोलाबाट घण्टौं लगाएर गाग्रोमा बोकेर ल्याउने गरेका थिए।
उता, चामलमा पानी दिएपछि जसबहादुरको सिमसारे खेत भने बाँझिएको छ। पानी गाउँमा गएपछि खेती गर्न नसकिने भएकाले चामल मागेको उनको तर्क छ।
मंगलटारमा एशियाली विकास ब्यांक (एडीबी)को सहयोगमा २०५६ सालतिरै हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थान मुहान भएको टिम्बुरबोटे खानेपानी आयोजना सञ्चालनमा ल्याइएको थियो। तर सडक विस्तार एवं २०७२ सालको भूकम्पका कारण टिम्बुरबोटे आयोजनामा पानीको मात्रा घटेको थियो। जसले गर्दा मंगलटारमा फेरि पानीको समस्या भएको हो। अहिले पानी उपभोगका लागि वडा र नगरपालिकाले पाइपमा सहयोग गरेको छ।