राज्यका दुई थरी जवाफले विपिनको परिवार झनै चिन्तित
हमासले आक्रमण गरेपछि सम्पर्कविहीन बनेका विपिन जोशीका विषयमा राज्यका निकायले दिइरहेको फरक फरक सूचनाले उनको परिवार झनै चिन्तित छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३, टनकपुर रोडका महानन्द जोशी अचेल प्रायः बार्दलीमा बसेर टोलाइरहन्छन्। कोही भेट्न आउँदा झस्कन्छन्।
४८ दिन भयो, छोरा विपिनसँग सम्पर्क हुन नसकेको। इजरायलको किबुजस्थित कृषि फार्ममा आक्रमण भएदेखि बेपत्ता रहेका उनलाई हमास विद्रोहीले बन्धक बनाएको खबर आइपुगेको छ।
विपिनलाई विदेश पठाउँदा निकै खुशी थिए महानन्द। उज्ज्वल भविष्यको सम्भावना देखेका थिए। उनी भन्छन्, “छोरा एकदमै मेहनती थियो। सरकारी स्कूल पढेर पनि एसएलसी र आईएस्सी प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो।”
छिमेकीहरू विपिनलाई ‘केही हुँदैन, चिन्ता नलिनू’ भन्दै ढाडस त दिन्छन्। तर उनी ढुक्क हुन सक्दैनन्। त्यसैले कोही नयाँ मान्छे आउँदा छोरा छुटेको खबर ल्याउँछ कि भन्दै आश पनि गर्छन्।
उनका अनुसार इजरायलमा घटना भएको दिन १२:४० बजे फोनमा विपिनसँग कुराकानी भएको थियो। “मलाई त्यहाँ हमला भएको थाहा थिएन। छोराले पनि केही भनेन, एक छिन कुरा गरेर फोन राख्यो,” उनी पछुतो मान्छन्, “इजरायलमा यस्तो खतरा छ भन्ने थाहा हुन्थ्यो त उसलाई कुनै हालतमा पठाउँदैनथें।”
विपिन र छोरी गरी उनका दुई सन्तान छन्। विपिन हमासको कब्जामा परेको खबर आएदेखि उनी के गर्ने भन्ने ठम्याउन सकिराखेका छैनन्। पूरै परिवार बेचैन छ।
परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेका फरक फरक सूचनाले विपिनको परिवार झन् चिन्तित बनेको छ। विपिन गाजाको एक अस्पतालमा सकुशल देखिएको सूचना प्राप्त भएको परराष्ट्रले जनाएको थियो।
इजरालयस्थित नेपाली दूतावासले भने उनी अझै सम्पर्कविहीन रहेको र खोजी भइरहेको भनी विज्ञप्ति निकालेको छ। महानन्दका दाजु किशोर आफूहरू विपिन फर्कनेमा आशावादी रहे पनि राज्यका निकायहरूको जवाफले अन्योलमा परेको बताउँछन्।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशी सहितका ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। असोज २० मा प्यालेस्टिनी लडाकू समूह हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। विपिन भने त्यही दिनदेखि सम्पर्कविहीन छन्।