के चीन नेपाललाई चिन्नै चाहँदैन?
नेपालले चीन र चीनले नेपाल चिन्दैन भन्ने टिप्पणी व्यापक भए पनि चिनियाँहरू नेपाल लगायत देश बुझ्न प्रयासरत नै रहेको पाइन्छ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे चर्चा हुँदा गरिने बहसका विषयमध्ये एक हो, चीनप्रतिको नेपाली बुझाइ र नेपालप्रति चीनको बुझाइ। विदेश मामिलाबारे जानकारी राख्ने अध्येता, विश्लेषकमध्ये अधिकांशले भन्ने गर्छन्- नेपालले चीन चिनेकै छैन, चीनले पनि नेपाल चिन्ने प्रयत्न गरेकै छैन। के हामी साँच्चै चीन चिन्दैनौं त? आखिर कुनै देश चिन्नु भनेको के हो? त्यो देशबारे के कति जानेपछि चिनेको मानिन्छ? यिनै प्रश्नको सेरोफेरोमा रहेर यो लेख लेखिएको छ।
त्यसो त कुनै पनि देशलाई पूर्ण रूपमा बुझियो भनेर ठम्याउने कुनै निश्चित आधार नै हुँदैन। अझ ९६ लाख बर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलमा झन्डै साढे एक अर्ब मानिस बसोबास गर्ने पाँच हजार वर्षदेखिको इतिहास भएको देश चीनलाई पूर्ण रूपमा बुझ्ने प्रयास आफैंमा अति महत्त्वाकांक्षी हुन सक्छ।
हरेक देशलाई चिन्ने प्रक्रिया जटिल हुन्छ। कुनै देश बुझ्न त्यहाँको राजनीति, समाज, अर्थतन्त्र, कर्मचारीतन्त्र, शिक्षा, संस्कृति, भाषा, विज्ञान आदिबारे अध्ययन गरिन्छ। नेपालको इतिहास, संस्कृति, राजनीतिक घटनाक्रम, जातजाति, भूगोल, कृषि, व्यापार, अर्थतन्त्र जस्ता विविध पक्षबारे विदेशी लेखकले पुस्तक तथा शोधपत्र लेख्नुको तात्पर्य नै नेपाल बुझ्ने अभिप्राय हो। चीनलाई बुझ्न पनि यस्तै अध्ययन तथा अनुभव आवश्यक हुन्छन्। व्यक्तिगत अनुभव पनि त्यसैको एउटा हिस्सा बन्न सक्छ। त्यसैले यस लेखमा केही नेपाली सर्वसाधारण, विद्यार्थी र प्राध्यापकले चीनमा गरेको अनुभव समेटेको छु।
शुरूआत आफैंबाट गर्छु। सन् २०१४ देखि २०१९ सम्म अध्ययनका क्रममा चीनको दक्षिणी प्रान्त युनानको कुन्मिङ शहरमा बसें। त्यहाँ बसुन्जेल हरेक दिन बिहानदेखि बेलुकासम्म चिनियाँ नागरिक निरन्तर काममा लागिपरेको देख्थें। चाहे बिहान सबेरैदेखि विश्वविद्यालयका ससाना फोहोर थुपार्ने भाँडामा प्लास्टिकका बोतल खोज्ने ज्येष्ठ नागरिक हुन् वा सडकछेउमा आलु बेच्ने दिदी (चेचे), सैलुनकी साहुनी हुन् वा सिचुवानदेखि आएर फलफूल बेच्ने काकी (आइ), सबै जना आफ्नो काममा लागिपरेका हुन्थे।
ज्येष्ठ नागरिक पनि काममा जुटेको देखेर मैले चिनियाँ शिक्षक र साथीहरूसँग जिज्ञासा राखेकी थिएँ। सबैजसोले दिने जवाफको सार हुन्थ्यो- चीनका हरेक बालिग नागरिकले आफ्नो निम्ति आफैं कमाउने गर्छन्। परिवारमा कोही कसैको बोझ बनेर बसेको हुन्न। कुनै बच्चा हिंड्दाहिंड्दै लड्यो भने पनि उसका अभिभावकले उठाइहाल्दैन। आफैं उठोस् र हिंड्न थालोस् भनेर हतपती उठाइँदैनन्। यी र यस्तै दृष्टान्तबाट मैले बुझें- आफ्नो बलमा आफैं उठ्नुपर्छ भन्ने मान्यतामा उभिएको देश हो, चीन।
अरूसँग कुराकानी गर्दा भने चीनबारेका बुझाइ फरक पाएँ।
हात्ती छामे जस्तो
सन् २०१७ मा गरिएको एक अध्ययनको क्रममा चीनमा यातायात इन्जिनीयरिङ पढिरहेका एक नेपाली विद्यार्थीले भनेका थिए, “चीनको विमानस्थलमा ओर्लनासाथ चीनप्रतिको मेरो बुझाइ एक निमेषमै परिवर्तन भयो। मैले बुझेको चीन त सस्तो सामान बेच्ने देश थियो। नेपाली बजारमा चिनियाँ सामान उपलब्ध हुन्थे। तिनको गुणस्तर पनि कमजोर हुन्थ्यो। चिनियाँ सामान आज छ, भोलि छैन भनिन्थ्यो। तर मैले पहिलो पटक टेकिरहेको चिनियाँ विमानस्थलमा जडित साधन, कुशल व्यवस्थापन र त्यसको विशाल स्वरूप देख्दा मलाई लाग्यो- मैले त निकै सीमित चीन बुझेको रहेछु।”
विश्वविद्यालयका प्राध्यापकदेखि विद्यार्थीसम्म सबै जना सरकारी उद्देश्य पूरा गर्न एकबद्ध भएर लागेको पाइन्छ। उनीहरू आफ्ना मतभिन्नता विदेशीको अगाडि व्यक्त गर्दैनन्।
यसरी कुनै देशबारेको बुझाइ आफ्नो प्रत्यक्ष अनुभवसँगै बदलिन सक्छ। त्यसो भन्दैमा सबैको अनुभव एकैनासको हुन्छ भन्ने पनि हुँदैन। व्यक्ति, विचार र परिवेश अनुसार भोगाइ पनि फरक पर्छ।
सन् २०१८ मा बेइजिङको छात्रा विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रालाई स्नातकोत्तर अध्ययनको सिलसिलामा साना शहर र गाउँ नजिकका चिनियाँ महिलाले आफ्नो परम्परागत सीपलाई व्यवसायसँग कसरी जोडेका छन् भन्ने देखाउन लगिएको थियो। उनका अनुसार अध्ययनका समयमा विदेशी विद्यार्थीलाई सहयोग गर्न एक जना चिनियाँ सहपाठीको पनि व्यवस्था गरिएको थियो। उनका लागि चीन भनेकै उनकी प्यारी साथी थिइन्। चीन बसाइभर उनी साना-ठूला सबै समस्याको समाधान गर्न उनकै सहयोग लिन्थिन्। त्यसो त राति अबेरसम्म पढ्न सकिने विश्वविद्यालयको सुविधायुक्त पुस्तकालय, क्यान्टिनको पिरो, अमिलो चाउचाउ पनि उनको स्मृतिमा अमिट बनेर रहेका छन्। उनका लागि चीन सहयोगी मानिसको देश हो।
चीन नै नपुग्ने मानिसले पनि त्यस देशलाई आफ्नै हिसाबले बुझ्ने गरेका छन्। सन् २०१५ तिर नेपालकै एक जना जुत्ता बनाउने शिल्पी दाजुले भन्नुभएको थियो, “नानी, अहिले जुत्ता बनाउने छाला धेरैजसो चीनबाट नै आयात हुने गर्छ।” उनका लागि जुत्ता बनाउने छाला पठाउने देश हो चीन।
त्यस्तै, चिनियाँ भाषाको दोभाषेहरूका लागि उनीहरूले उल्था गर्ने अनुच्छेदहरू नै चीन हुन सक्छ। चीनसँग व्यापार गर्ने नेपाली व्यापारीलाई रसुवाका नाकामा भेटिने चिनियाँ नागरिक नै चीन हुन सक्ला। परराष्ट्र मन्त्रालयका कर्मचारीका लागि वार्ताको टेबलमा भेटिने समकक्षी नै चीन हो।
त्यसैले चीनबारे हाम्रो बुझाइ एकैनासको छैन। अनेकौं पत्र पत्र अनुभव सँगालिएको बुझाइले नै चीनबोधलाई समृद्ध पार्न सक्छ। त्यसैगरी चीनका लागि पनि नेपाल अनेकौं अनुभवको सँगालो हो।
चिनियाँ शैली
जसरी हामीले विभिन्न क्षेत्रमा सँगालिएका अनुभवबाट चीन चिन्ने प्रयत्न गरिरहेका छौं, त्यसैगरी चीनले पनि अरू देश बुझ्न खोजिरहेको हुन्छ। फरक यत्ति हो, चीनले विद्यार्थी अवस्थादेखि नै विदेशीलाई बुझ्न तालीम दिइरहेको हुन्छ। त्यसो त हरेक चिनियाँ नागरिकले एक सिपाहीले जसरी नै काम गर्छन्। कुनै पनि कार्यक्रममा सहभागी हुन चीन पुग्ने विदेशी प्रतिनिधिलाई सहयोग गर्न सम्बन्धित देश र समाज बुझ्ने व्यक्ति खटाइएको हुन्छ।
चीनले अन्य देशलाई बुझ्न जेजति प्रयास गरिरहेको छ, आफूबारे अरूको ज्ञान वृद्धि गर्न वा आफूलाई चिनाउन पनि त्यत्तिकै जोडबल गरिरहेको छ।
अर्कातर्फ, चीन सरकारका उद्देश्यलाई प्राध्यापकहरू मार्फत खटाइएका विद्यार्थीले प्रसार गरिरहेका हुन्छन्। विश्वविद्यालयका प्राध्यापकदेखि विद्यार्थीसम्म सबै जना सरकारी उद्देश्य पूरा गर्न एकबद्ध भएर लागेको पाइन्छ। उनीहरू आफ्ना मतभिन्नता विदेशीको अगाडि व्यक्त गर्दैनन्।
चीनबारे टिप्पणी हुने क्रममा आउने अर्को प्रसंग हो, भाषा। कतिपय टिप्पणीकार अधिकांश चिनियाँ जनताले अन्य भाषा नबोल्ने भएकाले उनीहरू अन्य देशबारे धेरै जान्दैनन् भन्ने गर्छन्। नेपाली विश्लेषकले पनि त्यस्तै मान्यता राखेको पाइन्छ। नेपाली अनुभवका आधारमा त्यस्तो धारणा बनाइएको हुन सक्छ। हुन पनि नेपालमा अनुवाद साहित्य निकै कमजोर छ। त्यसैले अंग्रेजी भाषा नजान्दासम्म अन्य देशको जनजीवन, इतिहास, संस्कृति र राजनीतिबारे बुझ्न गाह्रो पर्छ। चीनमा भने अनुवादलाई जोड दिइएको पाइन्छ। विश्वका विभिन्न भाषामा प्रकाशित पुस्तक चिनियाँ भाषामा अनुवाद गरिन्छ। विदेशी ज्ञानलाई आफ्नै भाषामा बुझ्ने अवसर पाएका छन् चिनियाँ नागरिकले।
आफ्ना नागरिकलाई अन्य देशबारे परिचित गराउन चिनियाँ विश्वविद्यालयले प्रशस्त मेहनत गरेको पाइन्छ। जसरी विदेशी किताब त्यहाँका पुस्तकालयमा उपलब्ध हुन्छन्, त्यसैगरी अन्य देशका प्राध्यापकलाई पनि चिनियाँ विश्वविद्यालयमा अध्यापनका लागि बोलाउने गरिन्छ। चिनियाँ प्राध्यापकलाई कुनै पनि विदेशी प्राध्यापकलाई बोलाउने अधिकार दिइएको हुन्छ। त्यसका लागि उनीहरू झन्झटिलो प्रशासनिक प्रक्रियाबाट मुक्त बनाइएका हुन्छन्। कुनै देशका विज्ञलाई व्याख्यानका लागि बोलाइयो भने चीनमा अध्ययनरत सोही देशका विद्यार्थीलाई पनि खबर गरिन्छ।
यस किसिमको आदानप्रदानबाट विभिन्न देशको ज्ञानसँगै त्यहाँको संस्कृति पनि बुझ्न सकिन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध केवल राजनीतिक मात्र हुँदैन। मानिसहरू राजनीतिक स्वार्थले मात्र जोडिएका हुँदैनन्। बरु त्योभन्दा बढी विभिन्न रुचि, सम्पर्क र माध्यमबाट देशहरू जोडिएका हुन्छन्। विविध तहमा हुने आदानप्रदान नै दुईपक्षीय सम्बन्धका कडी हुन्। अन्तरदेशीय सम्बन्धहरू घनीभूत भएको, व्यापार र यातायात (कनेक्टिभिटी)को सञ्जालले जोडिएको वर्तमान विश्वमा जतिसुकै ठूलो र स्रोतसम्पन्न भए पनि कुनै देश एक्लै अस्तित्वमा रहन सक्दैन। यो तथ्यलाई चीनले राम्रोसँग बुझेको देखिन्छ।
त्यसैले आफू जति नै विशाल र निरन्तर प्रगति हासिल गरिरहेको अर्थतन्त्र भए पनि चीनले हरेक साना-ठूला देशलाई आफ्नो अध्ययनको दायरामा ल्याएको छ। उनीहरू अन्य देशको अध्ययनलाई कति प्राथमिकता दिन्छन् भन्ने एउटा दृष्टान्त त एक जना चिनियाँ विद्यार्थीको शोधपत्र नै रोकिएको घटना हो।
सन् २०१६ मा युनान विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विषयका एक विद्यार्थीले नेपाल-चीन सम्बन्धमा भारतको प्रभाव शीर्षकको आफ्नो शोधपत्रमा ‘नेपाल एक सानो देश तथा भारतसँग विशेष सम्बन्ध भएकाले गर्दा चीनका निम्ति धेरै महत्त्वको देश होइन’ लेखेका थिए। त्यही वाक्यका कारण उनको शोधपत्रमाथि सबै निर्णायकले प्रश्न गरे। त्यो वाक्य सच्याएपछि मात्र उनको शोधपत्र स्वीकृत भएको थियो।
चीनले अन्य देशलाई बुझ्न जेजति प्रयास गरिरहेको छ, आफूबारे अरूको ज्ञान वृद्धि गर्न वा आफूलाई चिनाउन पनि त्यत्तिकै जोडबल गरिरहेको छ। त्यसैले नै संसारभर चिनियाँ भाषाको प्रचारप्रसार भइरहेको छ। विगतमा चीनमा पनि चिनियाँ भाषालाई मुख्य विषय बनाएका विद्यार्थीलाई काम पाउन मुश्किल हुन्थ्यो। अहिले परिस्थिति बदलिएको छ। चिनियाँ भाषा पढेका चिनियाँ नागरिकको व्यस्तता बढेको छ।
नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका देख्दा एकल पार्टीको शासनमा चलिरहेको चीनले बहुल संस्कृति भएको नेपाली समाज र यहाँको बहुल राजनीति बुझ्न नसकेको महसूस हुन्थ्यो।
संसारभरि आफूलाई चिनाउन चीनले इतिहासको सहारा लिएको पाइन्छ। सन् २०१३ मा चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को सान्दर्भिकता स्थापित गर्न इशापूर्व १३९ देखि ११९ सम्म मध्य र पश्चिम एशियाको यात्रा गरेका चाङ छियाङका साहित्यिक कृतिको प्रचार गरिएको छ।
नेपाल चिन्ने प्रयास
केही टिप्पणीकारको विश्लेषण छ, चीनले नेपाल चिन्न खासै प्रयत्न गरेको छैन। कुनै पनि विषयमा निष्कर्ष निकाल्नुअघि सम्भव भएसम्मका सबै स्रोतसामग्रीको सूक्ष्म विश्लेषण गर्न जरुरी हुन्छ। आफ्नै अनुभवका आधारमा भने म ती टिप्पणीकर्तासँग सहमत हुन सक्दिनँ। सानो अर्थतन्त्र भए पनि नेपाल बुझ्ने चिनियाँ प्रयत्न कम छैन।
नेपालमा लगानी गर्नकै लागि चीनले यहाँको वस्तुस्थितिको अध्ययन गरेको पाइन्छ। सन् २०१८ मा चिनियाँ भाषामा प्रकाशित पुस्तक वैदेशिक लगानी र सहकार्यमा नेपाली समाज, राजनीति, भूगोल, जनसंख्या, भाषा, प्राकृतिक स्रोतसाधन आदि विविध आयामबारे तथ्याङ्क र विश्लेषण प्रस्तुत गरिएको छ। उक्त पुस्तकलाई चिनियाँले नेपाल बुझ्ने आधारभूत सामग्रीका रूपमा लिएको पाइन्छ।
त्यस्तै, मे २०१८ मा नेपालका लागि अर्थ तथा वाणिज्य कन्सुलर चाङ फाङले लेखेका थिए- ‘नेपालको राजनीतिक अस्थिरता, पूर्वाधारको कमी, निरन्तरको आन्दोलनका कारण चिनियाँ कम्पनीहरूले धेरै चुनौती भोगिरहेका छन्। यद्यपि विकासको दृष्टिकोणबाट नियाल्दा नेपालमा लगानीकर्ताहरूले बजारको पहुँच पाउने मौका पनि उत्तिकै छ।’
उच्च तहका चिनियाँ अधिकारीबाट यस्तो विश्लेषण प्रकाशित हुनुले पनि उनीहरू नेपालबारे जान्नबुझ्न इच्छुक र प्रयत्नशील भन्ने जनाउँछ।
यद्यपि नेपालबारे चिनियाँ चासो केवल व्यापार र लगानीमा सीमित छैन। उनीहरू नेपाली समाजका विभिन्न आयाम बुझ्ने प्रयास गरिरहेका छन्। जस्तै- चीनका सिचुवान विश्वविद्यालयका एक प्राध्यापक नेपाली र नेवारी भाषा सिकेर काठमाडौं उपत्यकाका नेवार समुदायबारे सन् २०१५ देखि अनुसन्धान गरिरहेका छन्। त्यस्तै, हङकङ विश्वविद्यालयकी विद्यार्थी ली सियाङ नेपालको बाँझो जमीनको व्यवस्थापनबारे अनुसन्धानरत छिन्।
नेपालमा अनुसन्धानरत चिनियाँ अनुसन्धाताको अनुभव भने मिश्रित छ। सन् २०१९ मा नेपालमा चिनियाँ लगानी रहेका ४४ संस्थामा कार्यरत ७६० जना नेपाली कर्मचारी तथा कामदारको सर्वेक्षण गरेकी चिनियाँ अनुसन्धाता फङ लिपिङको नेपालमा अनुसन्धान प्रक्रिया तुलनात्मक रूपमा कठिन र चुनौतीपूर्ण हुने गरेको अनुभव छ। आफ्नो पुस्तक विदेशी भूमिमा रहेका चिनियाँ इन्टरप्राइज एवं बेल्ट एन्ड रोडमा उनले आफ्नो अनुभव उल्लेख गरेकी छन्। सर्वेक्षणमा म पनि सहभागी भएकाले उनको अनुभव सन्तुलित नभएको मेरो ठम्याइ छ। सिंगो अनुसन्धानको दौरान उनलाई कुनै रोकटोक थिएन।
फेरि पनि उठ्ने प्रश्न हो- चीनले नेपाललाई कसरी चिनेको छ? नेपालबारे चिनियाँ प्रकाशनको अध्ययनबाट केही जानकारी पाउन सकिन्छ। नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने चिनियाँ प्राध्यापकहरू नेपालमा २०७४ सालको निर्वाचनपछि राजनीति स्थिर भएको विश्वास गर्थे। कम्युनिस्ट पार्टीहरूको एकतामा सन्तुष्ट उनीहरू स्थायी सरकार बन्नेमा ढुक्क थिए।
चीनले नेपाललाई कति चिन्छ भन्नेबारे छलफल गर्दैगर्दा नेपाल वा अन्य देशले चीन कति चिन्छन् भन्ने पनि उत्तिकै पेचिलो प्रश्न बन्छ।
नेपालका राजनीतिक विश्लेषकहरूले भने नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीचको एकताको दिगोपनमा शुरूदेखि नै शंका गर्थे। त्यति वेला चिनियाँ विज्ञहरूको बुझाइ पोखरी बाहिरको माछा जस्तै लाग्थ्यो। समयले चिनियाँ लेखकको अनुमान असत्य सावित गरिदियो। नेपालको राजनीति न स्थिर भयो न त एमाले र माओवादीको एकता नै कायम रह्यो। बरु दुई पार्टीलाई एक बनाउने चिनियाँ सक्रियताका कारण विगतमा प्रशंसित शान्त कूटनीति कमजोर बन्न पुग्यो।
चीन पनि सक्रिय कूटनीतिमा ओर्लिंदा नेपालमा चीनका प्रतिस्पर्धी देशहरूको सक्रियता बढ्यो। खास गरी, अमेरिकी परियोजना एमसीसी नेपालको संसद्बाट पारित गर्ने दौरानमा नेपालमा अमेरिका र चीनको शक्ति संघर्ष छताछुल्ल भयो। त्यति वेला नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका देख्दा एकल पार्टीको शासनमा चलिरहेको चीनले बहुल संस्कृति भएको नेपाली समाज र यहाँको बहुल राजनीति बुझ्न नसकेको महसूस हुन्थ्यो।
चिनिन्छ चीन?
चीनले नेपाललाई कति चिन्छ भन्नेबारे छलफल गर्दैगर्दा नेपाल वा अन्य देशले चीन कति चिन्छन् भन्ने पनि उत्तिकै पेचिलो प्रश्न बन्छ। यो प्रश्नमा घोत्लिँदा म एक प्रसंग सम्झिन्छु।
चीनको युनान विश्वविद्यालयमा अध्ययनरत रहँदा भारतका एक प्राध्यापक त्यहाँ पुगेका थिए। म र मेरा भारतीय मित्र ती प्राध्यापकसँगै पार्कमा टहल्न निस्केका थियौं। फराकिलो ठाउँ, बीचमा ठूलो तलाउ, अनि त्यसमा मनग्य कमलका फूल। पार्कको वरिपरि चिनियाँ महिला तथा पुरुष विविध वेशभूषा, बाजागाजा सहित नाचिरहेका थिए। त्यो रमणीय दृश्य हेर्दै ती प्राध्यापकले भने, “किताबमा पढ्दा चीन अब भर्खरै सकिंदै छ, अर्थतन्त्र ध्वस्त हुँदै छ भनिन्छ। यहाँ चिनियाँ जनता हेर्छु, उत्तिकै मजा लुटिरहेका छन्। खै के भनूँ? पढेको साँचो भनूँ या देखेको सही मानूँ?
चीनबारे ती भारतीय प्राध्यापकलाई जस्तै धेरैलाई दुविधा छ। पक्कै पनि चीन सजिलोसँग बुझ्न सकिने देश र समाज होइन। भाषा, संस्कृति, इतिहास र राजनीतिक पृथक्ताले चीनलाई जटिल बनाइदिएको छ। फेरि पनि हामीले प्रयत्न कति गरेका छौं भन्ने मुख्य प्रश्न हो। त्यस मामिलामा नेपाल निकै पछाडि छ। चीन र चिनियाँ समाज बुझ्ने हो भने नेपालका विश्वविद्यालयले पनि चिनियाँ भाषा, समाज, संस्कृति, अर्थतन्त्र, राजनीति लगायत विभिन्न आयाममा अध्ययन तथा अनुसन्धान गर्न जरुरी छ। के त्यसका लागि हाम्रा विश्वविद्यालय र अध्ययन केन्द्रहरू तयार छन्?
(त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत न्याइच्याईले चीनको युनान विश्वविद्यालयबाट ‘नेपाल-चीन जनकूटनीति’बारे विद्यावारिधि गरेकी छन्।)
यो पनि पढ्नुहोस् : आत्मप्रचारमा सीमित चीनको नेपाल अध्ययन केन्द्र