बल्खुमा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा पाँच युवक पक्राउ
काठमाडौंको बल्खुमा मंसीर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा शुक्रबार पाँच जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतीश न्यौपाने, अनुप शाही र आवास खड्का छन्। प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए।
बल्खुमा भएको प्रसाईं समूहको प्रदर्शनमा अराजक गतिविधिसँगै प्रहरीमाथि ढुङ्गा हानेकाले उनीहरूलाई पक्राउ गरिएको एसएसपी खत्रीको भनाइ छ। पाँचै जनालाई शुक्रबार काठमाडौंका विभिन्न स्थानमा पक्राउ गरिएको उनले बताए।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले मंसीर ७ मा बल्खुमा प्रदर्शन गरेको थियो। शुरुआतमा शान्तिपूर्ण प्रदर्शन रहे पनि अपराह्नतिर भने झडप भएको थियो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए।
यसैबीच शुक्रबार पनि तीनकुनेबाट प्रहरीले प्रसाईंका समर्थकलाई पक्राउ गरेको छ। प्रसाईंले आज तीनकुनेमा प्रदर्शन गर्ने तय गरेका थिए। त्यसका लागि तीनकुने पुगेका उनका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शनका लागि अनुमति नलिएकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। प्रहरीले पक्राउ गर्न थालेपछि प्रसाईं समर्थक भेला हुन पाएका छैनन्।