गोरुलाई छुट्टी दिने चाड ‘मैझाडो’
बाजुराको गौमुल गाउँपालिका-३, धल्काँडामा हरेक वर्ष मंसीर ७ गते गोरुलाई छुट्टी दिने पर्व ‘मैझाडो’ मनाइन्छ।
असारमा लगाएको धान, कोदो, मकै लगायत बाली भित्र्याएर गहुँ, जौ लगाएपछि गोरुलाई आराम दिने र किसान स्वयं पनि आराम गर्ने दिनका रूपमा मैझाडो मनाइन्छ। २०७० सालयता गाउँलेकै पहलमा यो पर्व ‘किसान दिवस’ का रूपमा भव्यताका साथ निरन्तर मनाइँदै आएको स्थानीय केशव बोहरा बताउँछन्। २०७० सालअघि भने स्थानीय धामीले तोकेको दिन मैझाडो मनाइन्थ्यो।
“यो हाम्रो पालादेखि व्यवस्थित तरीकाले मनाउन थाले पनि पुस्तौंदेखि मनाइँदै आएको पर्व हो,” मैझाडोबारे जानकार स्थानीय मानबहादुर बोहरा (७०) भन्छन्, “मैझाडो मानव जीवनशैलीसँग निकट पशुप्रतिको प्रेम, सम्मान र न्याय सहितको पहिचानी पर्व हो।”
मैझाडोका दिन धल्काँडामा अवस्थित कालिका भगवती मन्दिरमा मेला लाग्छ। मेलामा बाजुरा मात्र नभई बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलादेखि मानिसहरू हेर्न आउने गरेको उनी बताउँछन्। मंसीर ७ गते मैझाडो पर्व मनाइन्छ। भोलि पल्ट पनि सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
यो पर्व किसान, खेतीपाती र गोरुसँग मात्र नभई देवीदेवतासँग पनि जोडिएको मानबहादुर बताउँछन्।
पर्वको विधि
मैझाडोका दिन बिहानै हल गोरुलाई पखाली जुवा हालेर गोठबाट निकालिन्छ। गोठबाट निकालेको गोरु धल्काँडामा रहेको कालिका भगवती मन्दिर परिसरमा राखिन्छ। यसरी जम्मा भएका करीब ३००/४०० हल गोरु बुण्याउणी (पुजारी वा मुखिया जस्तो व्यक्ति)ले कालिका भगवती र गोरुहरूको पूजा गर्छन्। यसपछि उनी मन्दिरको अग्लो भागमा उभिएर घण्ट बजाउँछन् र ठूलो स्वरले ‘गोरु खुइनु (जुवा निकाल्नु) गाउँले हो’ भनेर उद्घोष गर्छन्।
किसानले गोरुको काँधमा हालेको जुवा एकसाथ निकाल्ने चलन छ। एकसाथ ननिकाले अनिष्ट हुने जनविश्वास छ।
जुवा फुकालेपछि सबै गोरुलाई पिणा (आटोको डल्ला) बनाएर खुवाउँछन्। पिणा खुवाएपछि किसान आआफ्नो गोरु लिएर जान्छन्।
यसरी मैझाडो गरी घर लगेको गोरुलाई वैशाखसम्म आराम दिइन्छ। बीचमा कसैले पनि गोरु लगाएर जोत्न पाउँदैन। “मंसीर, पुस, माघ, फागुन, चैत र वैशाखसम्म गोरुका लागि आराम भयो,” मानबहादुर भन्छन्।
वैशाखपछि पनि धामीले दिन तोकेर भनेपछि मात्र गोरु जोत्न पाइन्छ। यो परम्परा सुदूरपश्चिमका अन्य कुनै जिल्लामा नभएको मानबहादुर बताउँछन्।
गोरु घरमा ल्याएर मात्र मैझाडो सकिंदैन। आफन्त, साथीभाइ बोलाएर मीठा परिकार बनाएर खुवाउने चलन छ। बाली लगाउँदाको दुःख बिर्सने प्रयत्नस्वरूप साँझमा सांस्कृतिक कार्यक्रम तथा देउडा प्रतियोगिता गरिन्छ।
गोरुलाई माया र गोरुको कामप्रतिको सम्मान नै यो पर्वको मुख्य मान्यता हो। वर्षौंदेखि मनाइँदै आएको यस चाडलाई युवापुस्ताले पनि विशेष रुचिका साथ निरन्तरता दिने गरेको स्थानीय केशव बोहरा बताउँछन्।
प्रविधिको विकास, बदलिंदो जीवनशैली र युवामा देश छोड्ने लहडका बीच यस्तो मौलिक पर्वलाई निरन्तरता दिनु चुनौती रहेको पनि उनी बताउँछन्।
केशवको जस्तै गुनासो गर्छन् मानबहादुर पनि। खेती गर्नेहरूले गोरुको सट्टा बिस्तारै ट्र्याक्टरको प्रयोग गर्न थालेका कारण यो पर्व हराउने पो हो कि भन्नेमा चिन्तित छन् उनी।
“गोरु भनेको घरको बलियो खम्बा हो। गोरु नभई कुनै पनि बाली लाग्दैन। गोरुलाई किसानको सहाराका रूपमा पनि हेर्ने गरिन्छ तर हरेक दिन गाउँ रित्तिंदै छ,” मानबहादुरले भने, “गोरु पाल्ने चलन घटेको छ। खेतबारी बाँझो देखिन थालेका छन्।”