बाघको आक्रमणबाट एक युवकको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट राप्ती नगरपालिका-१, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। आज बिहान ९ः४५ बजे बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
उनी मकवानपुरको मनहरी गाउँपालिका-६, लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएका थिए। घाँस काटिरहेका वेला बाघले आक्रमण गरेको तिवारीले बताए।
केही दिनअघि पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।