औषधिविहीन आयुर्वेद अस्पताल
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ औषधिविहीन बनेको छ।
विराटनगरस्थित आयुर्वेद स्वास्थ्य केन्द्रको बहिरंग कक्ष बाहिर निःशुल्क पाइने औषधिको सूची ठूला अक्षरमा लेखिएको भए पनि बिरामीले ती औषधि बजारबाट खरीद गर्नुपर्ने बाध्यता छ।
सुत्केरीलाई दिइने दुई प्रकारका धूलो औषधि बाहेक केन्द्रमा अन्य निःशुल्क औषधि पाइँदैन। ज्येष्ठ नागरिकका लागि अश्वगन्धा चूर्ण र आमलकी चूर्ण निःशुल्क दिने भनिए पनि ज्येष्ठ नागरिक अस्पतालबाट रित्तो हात फर्कने गरेका छन्।
केन्द्रले निःशुल्क वितरण गर्ने औषधि कक्षको नजिकै सशुल्क औषधि कक्ष छ। त्यहाँ पनि औषधि नपाएपछि बिरामी बजारमा औषधि किन्न बाध्य छन्।
केन्द्रका प्रमुख डा. केनिन राई दशैंअघि नै औषधि माग गरिए पनि हालसम्म नआएको बताउँछन्। उनले खरीद प्रक्रियाका कारण समय लागेको बताउँदै औषधिका लागि ताकेता भने भइरहेको जानकारी दिए।
केन्द्रमा औषधि रित्तिएपछि त्यहाँका कर्मचारीले अहिले बिरामीको नाम टिपेर पछि आउनू भनी पठाउने गरेका छन्।
आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय अन्तर्गतको निकाय हो। तर न मन्त्रालय न निर्देशनालय नै केन्द्रको हविगतबारे अवगत छन्।
प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहता औषधिबारे आफूलाई जानकारी नहुने बताउँछन्। स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत पनि अनभिज्ञता व्यक्त गर्छन्।
आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशका १४ वटै जिल्लामा छन्। त्यसमा पनि सबैभन्दा बढी सेवाग्राही मोरङमै छन्।
कोशी प्रदेशका संस्थापक स्वास्थ्यमन्त्री जयराम यादव निःशुल्कको बोर्ड राखेर बिरामीलाई झुक्याउन नहुने बताउँछन्। कोरोनाकालपछि आयुर्वेदलाई मानिसले बढी रुचाएको बताउँदै उनी प्रदेशको आपूर्ति केन्द्र मार्फत खरीद गर्न नसके जिल्लाबाटै खरीद हुनुपर्ने बताउँछन्।