भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए। उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएको समेत बताए।
“केन्द्रका कर्मचारी तथ्यांक संकलनमा रहेकाले तथ्यांक आउने बित्तिकै सोलार सिस्टम उपलब्ध गराइनेछ,” मन्त्री बस्नेतले भने। भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको थियो भने ३४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार ५५७ निजी घरमा पूर्ण रूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।