बल्खुमा झडपका लागि उक्साउने को?
काठमाडौंको बल्खुमा शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनलाई नेतृत्वकर्ताले ‘सिंहदरबार घेर्न जाऔं’ भनेर उक्साएपछि झडप भएको हो।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आह्वान गरेको विरोध कार्यक्रममा बिहीबार अपराह्न कलंकीबाट बल्खु आउने बाटोमा कोणसभा चलिरहेको थियो। प्रदर्शनमा सहभागी समर्थकलाई प्रसाईंले सम्बोधन गरिरहेका थिए।
बल्खु जानका लागि कलंकी, कालीमाटी र सातदोबाटोबाट भीड अघि बढिरहेको थियो। बल्खु चोकमा बसेका सुरक्षाकर्मीले तीनैतिरबाट आइरहेको भीडलाई एकै ठाउँमा जम्मा हुन दिइरहेका थिएनन्। जसले गर्दा प्रदर्शनकारी उत्तेजित बनिरहेका थिए।
उत्तेजित भीडलाई झनै उत्तेजित बनाउन प्रसाईंले भने, “तपाईंहरू, श्रीलंकाको जनताले जस्तो नेताको घरमै गएर खेदाउने कि नखेदाउने?”
प्रदर्शनकारीले चर्को स्वरमा भने, “खेदाउने हो।”
त्यही वेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही आए। शाही पनि प्रसाईंले भाषण गरिरहेको मञ्चमा उक्लिए। प्रसाईंले शाहीलाई बोल्नका लागि माइक दिए।
उनी नेताको आलोचना गर्न थाले। भाषण गरिरहँदा मञ्च नजिकै रहेका अन्य कार्यकर्ताले नेताहरूलाई खेदाउन सिंहदरबार कब्जा गर्नुपर्ने भाषण दिए।
दुवै जनाले भाषण सकेपछि मञ्चबाट ‘अब यो भीड सिंहदरबारतर्फ अघि बढ्छ’ भनेर उद्घोष गरियो। प्रसाईं र शाही अघि लागे भने उनीहरूलाई पछ्याउँदै भीड पनि अघि बढ्यो।
बल्खु चोकमा रहेका सुरक्षाकर्मीले रोक्न खोजे। त्यही वेला प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हान्न शुरू गरे। भीडलाई रोक्न प्रहरीलाई सहज थिएन।
त्यसपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्यो। तर त्यसको प्रभाव परेन। भीड झन् उत्तेजित बनेर ढुंगा हान्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्यो। त्यसले पनि भीड नियन्त्रण भएन। अनि प्रहरीले लाठी चार्ज गरेको थियो।
प्रहरी र प्रदर्शनकारीबीच झन्डै आधा घण्टा घम्साघम्सी चल्यो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठी चार्ज गर्यो। यसमा केही आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भए।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले निषेधित क्षेत्रतिर जाने उद्देश्यले प्रहरीमाथि आक्रमण भएपछि झडपको स्थिति आएको बताए। बल्खु क्षेत्रमा खटिएका एसएसपी खत्रीले भने, “प्रहरीले एक घण्टा जति रोकपछि निषेधित क्षेत्रतिर जाने उद्देश्यले एक्कासि प्रहरीमाथि आक्रमण गर्न थालेकाले झडपको स्थिति आएको हो।”
प्रहरीले संयम अपनाउँदा स्थिति उग्र नबनेको एसएसपी खत्रीको भनाइ छ। “हिजो जिल्ला प्रशासन कार्यालयमा कार्यक्रमको अनुमति माग्न आउनेहरूले नै आन्दोलनको जिम्मेवारी लिन नसक्ने अवस्था देखिएको थियो,” उनले भने, “प्रहरीले लोकतान्त्रिक प्रणालीमा आन्दोलन गर्न पाउने नागरिकको हक सम्मान गर्दै संयमित भएर भीड नियन्त्रण गरेकाले स्थिति उग्र हुन पाएन।”
प्रदर्शनको आयोजना गरेका प्रसाईंकै नियन्त्रणमा नभएकाले झडप हुने अवस्था आएको प्रहरीको भनाइ छ। “नेतृत्व दुर्गा प्रसाईंले गरे पनि स्थिति उनको नियन्त्रणमा थिएन। रोयल टास्क फोर्स, एनी टाइम फोर्स जस्ता राजतन्त्र र हिन्दू राज्यको पक्षमा सक्रिय समूह मादक पदार्थ सेवन गरेर आएका थिए,” एक प्रहरी अधिकृतले भने।
काठमाडौंमा भएका दुवै प्रदर्शनको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि बल्खुमा प्रदर्शनकारीकै कारण झडप भएको जनाएको छ। आयोगले विज्ञप्ति जारी गरी प्रसाईं पक्षको समूहले प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा झडप भएको उल्लेख गरेको छ।