आयोगले अनुगमनपछि भन्यो– कालीमाटीमा झडप, तीनकुने शान्तिपूर्ण
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समूहको कार्यक्रम अनुगमनपछि आगामी प्रदर्शन शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको छ।
बिहीबार बल्खुमा युवा संघ र प्रसाईं पक्षबीच झडप भएको तथा प्रसाईं पक्षले प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा कालीमाटीमा प्रहरीसँग झडप भएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ। तीनकुनेमा आयोजित युवा संघको प्रदर्शन भने शान्तिपूर्ण रहेकाे आयोगले जनाएकाे छ।
‘अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइएको छ,’ आयोगले भनेको छ, ‘बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इँटा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको, सो क्रममा केही मोटरसाइकल, स्कूटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ।’
आयोगले आगामी दिनमा संयमित भएर शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकार तथा प्रदर्शनरत पक्षलाई समेत पुनः आग्रह गर्दछ।’
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि युवा संघ र प्रसाईं पक्षले पूर्व निर्धारित कार्यक्रमस्थल परिवर्तन गरेका थिए।