अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा चिनियाँ रवाफ
‘दक्षिणएशिया अन्तर्राष्ट्रिय’ नाम दिइए पनि भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनी चीनको एकल प्रदर्शनी रहेको प्रतीत हुन्छ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नौ वर्षपछि पुस्तक प्रदर्शनी भइरहेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीलाई नाम दिइएको छ- दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी। तर प्रदर्शनीस्थल पुग्दा अन्तर्राष्ट्रिय नभई चिनियाँ पुस्तकको प्रदर्शनीमा पुगेको भान हुन्छ।
प्रदर्शनीस्थलको आधाजसो भाग चिनियाँ स्टलले ओगटेका छन्। बाँकी दक्षिणएशियाका अन्य देशलाई दिइएको छ। नेपाली प्रकाशकका स्टल निकै कम छन्।
चिनियाँ पुस्तक अधिकांश त्यहाँको सरकारलाई प्रवर्द्धन गर्ने विषयवस्तुका छन्। तिनको मूल्य सर्वसाधारण नेपाली पाठकको पहुँचभन्दा बाहिर छ। एउटैको मूल्य दुई हजार रुपैयाँ हाराहारी छ।
प्रदर्शनीमा पाकिस्तान, बाङ्लादेश, श्रीलंका तथा भारतका स्टल पनि छन्, तर तिनीहरू चिनियाँ स्टलको छायामा परेका छन्। चिनियाँ प्रकाशकहरू पुस्तक बिक्रीभन्दा पनि आफ्ना प्रकाशनको प्रवर्द्धनका लागि उपस्थित भएको आयोजकले जनाएको छ। “हामीले चिनियाँ पक्षलाई विशेष आगन्तुकका रूपमा स्थान दिएका हौं,” महासंघका महासचिव शिवसागर शर्मा भन्छन्, “चिनियाँ पक्ष पुस्तक बिक्रीभन्दा पनि स्थानीय विक्रेतासँग सम्पर्क स्थापित गर्ने उद्देश्यले सहभागी भएको हो।”
प्रदर्शनीस्थलको आधा भाग चिनियाँले लिइदिंदा आयोजकलाई लागतको दृष्टिले सहज भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी भनेर पुग्ने पाठक झुक्किएका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागका सहप्राध्यापक रामप्रसाद ज्ञवाली प्रदर्शनी अपेक्षा गरे जस्तो नपाएको गुनासो गर्छन्। “अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी भनिए पनि त्यस्तो ठूलो उत्साह देखिएन,” ज्ञवाली भन्छन्।
झिलिमिली बत्तीले चिटिक्क सजाइएका चिनियाँ स्टल घुमिसकेपछि एमाले सांसद रघुजी पन्तको टिप्पणी थियो, “चिनियाँको समृद्धि यस पुस्तक प्रदर्शनीस्थलमा पनि देखियो।” स्टल ठूलो भए पनि चिनियाँ पुस्तकमा पाठकको आकर्षण उति देखिएको छैन।
यही ठाउँमा विगतमा नेपाल पुस्तक प्रकाशक संघले पुस्तक प्रदर्शनी गर्दै आएको थियो। त्यति वेला एसएलसी परीक्षा दिएका विद्यार्थीलाई लक्ष्य गरी कलेजका स्टल समेत राखिन्थे। सरकारले कलेजको विज्ञापन र प्रवर्द्धनमा कडाइ गरेको र एसएलसी समेत एसईईमा रूपान्तरण भएपछि संघले भाडा समेत उठाउन मुश्किल पर्ने भन्दै प्रदर्शनी गर्न छाडेको थियो।
त्यो शून्यता चिर्दै यस पटक महासंघले प्रदर्शनी गरेको हो। महासंघमा पाठ्यपुस्तक प्रकाशक तथा नेपालका ठूला पुस्तक विक्रेताको बाहुल्य छ। संघमा भने प्राज्ञिक तथा सन्दर्भ पुस्तक प्रकाशन गर्ने नेपालका ठूला तथा साना लगभग सबै प्रकाशकको सहभागिता छ।
लामो समयदेखि प्रदर्शनी रोकिएको र आयोजक पनि नयाँ भएकाले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीमा त्यही तहको स्वाद नपाइएको पाठकको गुनासोसँग एकता प्रकाशनका रामचन्द्र तिमोथी असहमत छैनन्। तर प्रकाशकका हिसाबले चिनियाँहरूबाट पनि धेरै कुरा सिक्न सकिएको तर्क छन्। “चिनियाँको प्रकाशनको गुणस्तर र साजसज्जा उपल्लो छ,” तिमोथी भन्छन्, “चिनियाँ पक्षलाई विशेष आमन्त्रण गरिएकाले उनीहरूको उपस्थिति पनि विशेष देखिएको हो।”