चार महीनामा साढे १२ अर्बको बिजुली भारतमा बिक्री
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महीनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारतलाई बेचेको छ।
साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ। यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो। प्राधिकरणले गत वर्षको पहिलो चार महीनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो।
देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो। गत जेठदेखि कात्तिकसम्म एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले साउनमा रु.दुई अर्ब १४ करोड ७६ लाख, भदौमा रु.तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु.चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु.दुई अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको हो। चार महीनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट नौ रुपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्रीदर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महीनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति तथा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।
प्राधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न पनि अनुमति दिएको छ।
प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।