माघ ११ मा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ।
आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरेका हुन्। फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिंदै छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार फागुनमा रिक्त हुने पदहरूको पूर्ति माघ १५ गतेसम्म गरिसक्नुपर्ने हुन्छ।
निर्वाचनको आवश्यक तयारी, निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने अवधिलाई समेत ध्यान राखेर मिति प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।