नेपाली भाषा ‘उठ्छ’?
नेपाली भाषाको मर्म छर्लङ्ग हुने गरी नेपालीभाषीलाई भाषा बुझाउने हैसियत न विद्यालयीय-महाविद्यालयीय पाठ्यक्रमहरूले राख्छन् न त धेर बिक्री भएर पैसा सोहोर्न पल्केका नेपाली शब्दकोशहरूले राख्छन्।
हरेक समृद्ध भाषामा लालित्य हुन्छ र त्यसले नै भाषालाई जीवन्त बनाउँछ। लालित्य विना भाषा केवल अभिधेयार्थमा सीमित हुन्छ र समाप्तिको बाटोमा पुग्छ। नेपालका कतिपय भाषाहरू अहिले यही हालतमा छन्। यस लेखमा भाषामा हुने लालित्यको चर्चा गरिंदै छ। यसमा खासगरी नेपाली भाषाका गिर्नु (गिराउनु), उठ्नु (उठाउनु) क्रियापदको विशेष र केही हदसम्म लाग्नु (लगाउनु) को पनि चर्चा छ।
कुरो आफ्नै मित्र-मण्डलीको सानो लेखोटबाट थाल्छु, किनभने उनीहरूको लेखोटको जस-अपजसको भागीदार प्रकारान्तरमा म पनि बन्छु। कारण, हामी नेपाली भाषाको मर्म र आन्तरिक ओज जोगाएर भाषाको प्रयोग, अनुवाद र सम्पादन गरिनुपर्छ र नेपाली भाषाको समृद्धिका लागि विदेशी भाषाका ओजनदार किताब नेपालीमा उल्था हुनुपर्छ भन्ने अभियानका सहकर्मी हौं।
देवबहादुर थापा, शङ्करराज पन्त, सुदर्शन देवकोटा, मोहन मैनाली र वसन्त थापा अनुवादक तथा वसन्त थापा सम्पादक पनि रहेको टोनी हागन रचित नेपालको चिनारी (विसं २०५८) किताबमा ‘अज्ञात कुराको अन्वेषण’ उपशीर्षक अन्तर्गत पाल टाँग्नु र गिर्नुको प्रेरणार्थक गिराउनु शब्दको प्रयोग यसरी भएको छ-
“... मेरो दैनिक काम घडी जस्तै चल्न थाल्यो। ... त्यसैले मैले मेरो टोलीलाई पाल टाँग्ने र गिराउने कामको पूरा तालिम दिएको थिएँ। अनि मेरो आफ्नो पाललगायत सबै पालहरू सूर्योदय हुनुभन्दा १५ मिनेटअघि नै गिराउने नियम बसालेको थिएँ। कडा जाडो भएको बेला त म आफैंलाई न्यानो स्लिपिङ ब्याग छाड्न मन लाग्दैनथ्यो। तर मेरा टाउका माथिबाट पाल निर्ममतापूर्वक गिराइन्थ्यो। अनि मैले लुगा लगाएर बाहिर निस्कनुबाहेक कुनै उपाय हुँदैनथ्यो। पाल गिराएको १५ मिनेटभित्रै पूरा क्याम्पको प्याकिङ सिद्धिन्थ्यो र भरियाहरू हिँड्न तयार हुन्थे।
... क्याम्प कहाँ राख्ने भनी ठेगान गरेको आधा घण्टा भित्र पालहरू लागिसक्थे।”
(२०५८ सालमा पहिलो संस्करण प्रकाशित यो पुस्तकको ६ पटक पुनर्मुद्रण भएको छ, र पुनर्मुद्रणहरूमा माथिका उद्धरण फरक फरक पृष्ठमा छन्।)
हो, हामी नेपालीभाषी भित्तामा तस्वीर वा झ्यालमा पर्दा टाँगेसरि पाल ‘टाँग्छौं’, यद्यपि पाल त्यसरी झुन्डिँदैन। झुन्ड्याएर तस्वीर वा पर्दा टाँगिनु शब्दको वाच्य अर्थ हो, पाल टाँगिनु चाहिं वाच्यार्थमा बाधा भई निस्कने लक्ष्यार्थ हो। मानिसको ओत लाग्ने पाल टाँग्ने जुन कुरा हामी गर्दै छौं, त्यो पालवाला ठूला डुङ्गा वा पानीजहाजका पालबाट आएको हो। वास्तवमा डुङ्गामा पनि पाल झुन्डिंदैन, नर्स-डाक्टरले बिरामीको उपचार गर्दा अरूले नदेखून् भनेर काठ/फलामको फ्रेममा टिनिक्क परिएको पर्दाको छेको हालेसरि पानीजहाज चलाउन पाल टाँगिन्छ। टाँग्नुमा झुन्डिनु (झुन्ड्याउनु) मात्र होइन टिनिक्क परेर (पारेर) फैलनु (फैलाउनु) अर्थ पनि हुन्छ। त्यसैले भिजेको पछ्यौरी सुकाउन डोरीमा टाँग्छौं फिंजाएर।
वैरागी काइँला ‘माया र मफलर’ शीर्षकको कवितामा लेख्छन्:
‘माया मेरो मफलर भए बाँधी हिंड्थें गलामा।
कहिलेकाहीं त मन नहुँदा टाँगिदिन्थें किलामा।’
यसमा मफलर झुन्डिन्छ, टिनिक्क तन्केर फैलिंदैन।
तर पाल टाँगिने मात्र हैन, ‘लाग्दो’ पनि रहेछ! कति सुन्दर प्रयोग। पहिलो पल्ट नेपालको चिनारी पुस्तकमै पढें यस्तो प्रयोग।
मैले विदेशीलाई नेपाली भाषा सिकाउने क्रममा नेपालीका क्रियापदमध्ये सबभन्दा बुझाउन दुरुह शब्द हो- लाग्नु। मन पनि लाग्छ, रक्सी पनि लाग्छ, घाम पनि लाग्छ, हिलो पनि लाग्छ, मीठो पनि लाग्छ, दिसा लाग्छ। हामी नेपालीलाई यो सामान्य लाग्छ, तर विदेशीलाई कठिन क्रियापद हो, प्रयोग गर्न हम्मेहम्मे। अनि म बुझाउँदै भन्थें- ढुङ्गा हानेपछि सररर गएर ताकेको ठाउँमा ट्वाक्क जसरी लाग्छ, त्यसरी नै हिलो कुल्चेपछि हिलोको छिटो सररर आएर लुगामा छ्याप्प लाग्छ, अनि लागेन त हिलो? सूर्य उदाएपछि किरण (घाम) पनि सररर आएर पृथ्वीको जमीन, रूख, पाखो वा मान्छेको शरीरमा छपक्क लाग्छ, अनि लागेन त घाम? मन पनि सररर गएर कुनै चीजमा ट्वाक्क लाग्छ, अनि मन लाग्न थाल्छ।
मीठो नि? कुनै रुचिकर खाना मुखमा राखेपछि त्यसको स्वाद दिव्य भुवनबाट सररर आएर जिब्रोमा ट्वाक्क लाग्छ। त्यसरी नै रिंगटा लाग्छ टाउकोमा, प्यास लाग्छ घाँटीमा, भोक लाग्छ पेटमा। यी भोक, प्यास, रिंगटा, टर्रो, तीतो जस्ता कुरा शायद पैशाचिक भुवनबाट सरररर आउँछन् क्यार।
तर पाल नि? पाल त कुनै भुवनबाट आउने होइन, न हिलो जस्तो उछिट्टिएर आउँछ। पाल त मानिसले घोचा गाडेर बाक्ला कपडाका पाटाहरू डोरीले टाँगेर ठड्याइने हो। अनि कसरी लाग्छ रक्सी वा दिसा लागे जस्तो? यो चाहिं शब्दको अर्थ विस्तार शक्तिको नतीजा हो। मानिसले सपाट जमीनमा घोचो आदि सबै सामग्री टाकटुक पारेर छिनको छिन सानो छाप्रो वा अलि ठूलै टहरो आकारको कपडा वा प्लास्टिकका घर ठड्याएको देख्नु के ‘अलादिनको बत्ती’ कथामा जस्तो अफ्रिकी जादुगरको आदेशमा अलादिनको जिनले चीनमा रहेको अलादिनको दरबार अफ्रिकामा लगेर थपक्क राखिदिए जस्तो भएन र? अनि दिव्य वा पैशाचिक भुवनबाट स्वाद वा रिंगटा आदि आएर लागे जस्तै पाल आएर छिनभर अघि केही नभएको सपाट जमीनमा लागेन त?
बाफ रे! मेरा अन्योन्य सहकर्मी मित्रहरूको यो कलमी चमत्कार देखेर गदगद भएँ।
तर छिनको छिन मलाई अचम्म लाग्यो, उनीहरूले त्यो ठडिएको पाललाई चाहिं किन भकाभक ‘गिराए’? के पाल गिर्छ वा गिराइन्छ? गिर्नु क्रियापदको व्युत्पत्ति स्रोत संस्कृत भए पनि यो नेपाली भाषामा क्रमशः विकसित नभई छिमेकी भाषाबाट आगन्तुक शब्दका रूपमा प्रवेश गऱ्यो। त्यसैले यसले नेपाली भाषामा आफ्नो वाच्य प्रथम अर्थ झर्नु वा खस्नुलाई प्रायः वहन नगरी लक्ष्यार्थमा स्तर खस्कनु (खस्नु, झर्नु) भन्ने अर्थ वहन गऱ्यो। त्यसैले स्तरीय (केन्द्रीय) नेपाली भाषामा रूखबाट फल गिर्दैन र रूख पनि गिराइँदैन।
यद्यपि तराई नेपाली भाषिका र पूर्वेली उप-उपभाषिका (जसमा दार्जीलिङी नेपाली उपभाषिका पनि पर्छ) मा गिर्नु (गिराउनु) क्रिया अभिधा (वाच्य) अर्थमा पनि प्रयोग हुन्छ। स्तरीय (केन्द्रीय) नेपालीमा नूर, शिर, मुटु, अभिमान इत्यादि गिर्छ र यो तुक्का रूपमा प्रयोग हुन्छ। त्यसैले पाल गिर्दैन। तर मेरा अन्योन्य मित्रहरूले पाल किन गिराएको गिरायै गरे, मलाई अति खसखस लाग्यो। उनीहरूले पाल त उठाउनुपर्थ्यो। किनभने नेपाली भाषामा पाल गिर्दैन, उठ्छ। नेपालीमा पाल टाँग्नु पदावलीको विलोम पदावली पाल उठाउनु हो।
पाल उठ्छ रे? पाल उठ्छ कसरी, सुतिरहेको बच्चा जुरुक्क उठेर हिंडेसरि? उठाउनु भनेको ठड्याउनु होइन र? घर उठाउँदा घर ठडिंदैन? अनि पाल उठाउनु भनेको पाल टाँग्नु नै भएन र?
होइन। पाल उठ्नु (उठाउनु) भनेको पाल भएको ठाउँमा नभएको वा हटाएको हुनु (पार्नु) हो। उठ्नुको अर्थ खडा हुनु नै हो। त्यही अर्थ विस्तार भएर उन्नति, प्रगति भन्ने अर्थ पनि दिन्छ अनि सावाँ उठ्छ, नाफा उठ्छ र मानिसको हैसियत पनि उठ्छ। अझ त्यसबाट पनि विस्तारित अर्थ सिद्धिनु/सिध्याउनु, सक्नु/सकिनु, समाप्त हुनु/पार्नु पनि हुन्छ। मध्याह्नमा झकिझकाउ र ठेलमठेल हाट गोधूलीमा उठिसक्छ। ठीक यही अर्थ हो पाल उठ्नुको पनि।
जब हाटमा बेच्न थापिएका सामान बेचिसकेर विक्रेता उठेर जान्छ वा नबिकेका सरसामान सोहोरेर उठाई डोकोमा राखेर फिर्ता लैजान्छ र हाट लागेको ठाउँको चहलपहल समाप्त हुन्छ, त्यसलाई भन्छ हाट उठ्नु। हाटबाट उठेर गएका त मानिस हुन्, ती गएपछि हाटै उठ्छ। पाल टाँगेको डोरी फुस्काई, घोचा उखेली जब ती पट्याईतुल्याइ गरेर लगिन्छ, तब पाल उठ्छ।
उठाउनुको यस अर्थमा प्रा. दिनेशराज पन्त वि.सं. १४२९ को एक अभिलेखको सार नेपालीमा यसरी प्रस्तुत गर्छन्- “त्यसमा काष्ठमण्डप सरहमा बस्ने राजहर्षले बङ्गालका सुल्तान समसुद्दीनले उठाएको स्वयम्भूको स्तुपको जीर्णोद्धार गरे भनी लेखिएको छ” (‘काष्ठमण्डपको कथा’, गोरखापत्र २०६८ साउन १४, पृ. शनिवार ‘ग’)। इतिहासमा बङ्गालका सुल्तान समसुद्दीन इलियास शाहले स्वयम्भूको स्तुप सभक्ति खडा गरेका थिएनन्, भत्काएका-मासेका थिए। त्यसैले दिनेशराजको लेखोटबाट ‘उठाउनु’ शब्दको विस्तारित व्याप्ति स्पष्ट हुन्छ, नबुझ्दा उल्टो अर्थ पनि बुझिन्छ– समसुद्दीनले बनाएको स्तुप जीर्ण भएपछि राजहर्षले जीर्णोद्धार गरे भन्ने। यस्तो अर्थ बुझ्ने नेपाली पुस्ता तयार नहोस्! यो शब्द नेपालीमा परस्पर बाझिने द्वैर्थक छ।
यति मजाको उठ्नु-उठाउनु शब्द एकै अभियानका मेरा मित्रहरूले किन प्रयोग गरेनन् होला भन्नेबारे म घोरिएँ। यसपछि मलाई लाग्यो, यसबारे उनीहरूलाई थाहा नभएको होइन, तर प्रयोग गर्नुअघि सुनिश्चित हुन उनीहरूले नेपाली भाषाको मानक मानिने नेपाली बृहत् शब्दकोश पल्टाए होलान्, जसले ‘उठ्नु’ को यति सूक्ष्म विस्तारित अर्थ दिने क्षमताको हैसियत राख्दैन, २०४० देखि २०७७ सम्मका कुनै संस्करण, न त प्रज्ञा नेपाली बृहत् शब्दकोशले नै।
अनि मेरा मित्रहरू धरमरिए- स्वनामधन्य व्यक्तिहरूले नजनाएको अर्थमा तुक्का कसरी प्रयोग गर्नु? अनि उनीहरूले ती व्यक्ति हिंडेकै बाटो हिंड्नु राम्रो ठानेर ‘गिर्नु’ को अभिधेयार्थमा पाल ‘गिराए’ होलान्। मेरा मित्रहरू नेपाली नजान्ने होइनन् भन्ने कहाँबाट प्रमाणित हुन्छ भने उनीहरू मूल लेखकको टाउकोमाथि पाल गिराउँदैनन्, टाउको माथिबाट पाल दैनिक सखारै निर्ममतापूर्वक गिराउँछन्। उनीहरूले पाल टाँगेनन् मात्र, लगाए पनि।
हामी अचेल सबै क्षेत्रमा प्रगति गर्नुपर्ने कुरा गर्छौं र हेर्दा कताकतै केही अंश देखावटी प्रगति भएको पनि देख्छौं। नेपाली भाषाका सन्दर्भमा पनि बर्सेनि ठेलीका ठेली किताब प्रकाशन भएकोलाई प्रगति भएको नमान्ने कुरा आउँदैन, तर नेपाली भाषाको भाषिक मर्म चाहिं बिस्तारै उठ्दै (बढोत्तरी हुँदै) छ कि उठ्दै (मर्दै वा सकिंदै) छ? नेपाली भाषाको अन्तर मर्म छर्लङ्ग हुने गरी नेपालीभाषीलाई भाषा बुझाउने हैसियत न नेपालका विद्यालयीय-महाविद्यालयीय पाठ्यक्रमहरूले राख्छन् न धेर बिक्री भएर पैसा सोहोर्न पल्केका नेपाली शब्दकोशहरूले राख्छन्।
यस्ता निकायहरूको हैसियत खस्किएपछि अंग्रेजी माध्यमबाट पढेर बालखैदेखि अंग्रेजी बोल्दै गरेका नेपालीभाषी कलिला बालबालिकाहरूले नेपाली भाषाको लालित्य र मिठास कहाँबाट पाउने, कहाँबाट सिक्ने? बजारमा पाइने एकैनास र एकै ढर्राका कमजोर कोशहरूबाट कसरी सिक्ने? भाषाको ओज भनेको त्यसको अर्थ क्षमताको गाम्भीर्य हो, जुन विशेषतः नेपाली भाषामा तुक्कामा छ। अर्को भाषामा अर्कै विशेषता होला। तुक्का प्रयोगमा नेपाली भाषा क्रमशः कमजोर हुँदै गएको छ केवल वाच्यार्थमा अहिलेको नयाँ पुस्ता सीमित हुँदै गएको छ र तुक्कालाई कोशहरूले सँगालेको पनि पाइँदैन।
यी गन्थन पाल टाँग्नु र गिराउनुबाट उठेका हुन्। कुनै पनि कुरा यही वा उही शब्दबाट भनिनुपर्छ भन्ने बाध्यता हुँदैन, यद्यपि भाषाको एउटा मानक पद्धति हुन्छ जसबाट भरसक विचलन नहुनु राम्रो। हरेक शब्दका अनेक समानार्थी शब्द हुन्छन् र विपरीतार्थी (विलोम) पनि। विलोम शब्दहरू एक प्रकारले जोडी बाँधिएका हुन्छन्। सारा गन्थनको सन्दर्भ यसैको हो।
त्यसैले पाल टाँग्नुको विलोम जोडी पाल उठाउनु बढी राम्रो हो भन्ने विचार मेरो हो। पाल टाँग्नुको समानार्थी पाल हाल्नु, राख्नु, गाड्नु आदि हुन सक्छन् जसका विलोम जोडी हटाउनु, झिक्नु, उखेल्नु आदि हुन्छन्। त्यसैले, जस्तै- कसैले ‘प्रश्न’ गर्छ भने त्यसको जवाफ दिनु आवश्यक हुँदैन, दिनु नै परे ‘उत्तर’ दिनु राम्रो। कसैले सवाल गर्छ भने चाहिं जवाफ दिनु राम्रो। सबै शब्दको विलोम जोडी हुँदैन, जसको छ त्यसको जोडी बाँध्नु राम्रो भन्ने मात्र हो।