एकै परिवारका तीन जना घरमै मृत भेटिए
धनकुटामा एकै परिवारका तीन जना घरमै मृत भेटिएका छन्।
धनकुटाको धनकुटा नगरपालिका-१, हिले निगालेमा बस्दै आएका संखुवासभाको चैनपुर नगरपालिका-१, नुनढाकीका ३५ वर्षीय टीका गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा तामाङ गुरुङ र छोरा ११ वर्षीय आयुष गुरुङ मृत फेला परेका हुन्।
टीकाको शव झुन्डिएको अवस्थामा तथा भीमा र आयुषको शव खाटमा सुताइएको अवस्थामा बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।
घटनाको जानकारी आए लगत्तै प्रहरी चौकी हिलेको टोली घटनास्थल पुगेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, धनकुटाको अपराध अनुसन्धान शाखाको टोली पनि घटनास्थल पुगेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा सधैंजसो मादक पदार्थ सेवन गरेर झैझगडा गर्दै आएका टीकाले श्रीमती र छोराको हत्या गरेर आफूले आत्महत्या गरेको अनुमान गरिएको छ। कोठामा राखिएका दुई खाटमध्ये एउटा खाटमा श्रीमती र अर्को खाटमा छोराको शव राखेर सिरकले ढाकिएको देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, ६ वर्षीय छोरी आशिका गुरुङलाई भने टीकाले राति पौने १ बजे ‘तल जाने काम पर्यो, बच्चा राखिदिनुपर्यो’ भन्दै छिमेकी लक्ष्मी श्रेष्ठको घरमा छाडेर गएका थिए। बिहान भएपछि आशिकाको खुट्टा खाली देखेर लक्ष्मीले ‘चप्पल लगाएर आऊ’ भनेर घर पठाएकी थिइन्। आशिका घर पुगेपछि मात्र घटनाबारे छिमेकीलाई थाहा भएको हो।
चप्पल लगाउन घर गएकी आशिका बुबा ‘पिङ खेलिरहेको छ’ भन्दै फर्किएकी थिइन्। पहिला श्रीमती र छोराको हत्यापछि छोरीलाई छिमेकीको घरमा छाडेर टीकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
गुरुङ परिवार गत १३ वर्षदेखि निगालेमा बस्दै आएको थियो। उनीहरू मजदूरी गरेर दैनिकी चलाइरहेका थिए। मादक पदार्थ सेवनका कारण गुरुङ परिवारमा सधैंजसो झगडा हुने गरेको जानकारी आएको वडाध्यक्ष ओङद तामाङले बताए। घरधनी भने तराईमा बसिरहेका छन्।
प्रहरीका अनुसार टीका स्वास्थ्य परीक्षणका लागि बुधबार जिल्ला अस्पताल पुगेका थिए। मिर्गौला र कलेजोमा समस्या देखिएको भन्दै अस्पतालले जाँडरक्सी नखान सल्लाह दिएको थियो।