दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा ढुंगा हानाहान
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको प्रदर्शनस्थल बल्खुमा ढुंगा हानाहान भएको छ।
बल्खु भएर आइरहेको नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालको जुलूसमाथि प्रसाईं समर्थकले ढुंगा प्रहार गरेका हुन्। बल्खु क्षेत्रबाट युवा संघका कार्यकता जुलूस सहित तीनकुनेस्थित कार्यक्रममा आइरहेका थिए।
त्यसैक्रममा बल्खु चोक पुग्दा प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। त्यसपछि युवा संघका कार्यकर्ताले पनि ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ।
उनीहरूले युवा संघका कार्यकर्तासँगै सर्वसाधारणका सवारीसाधनमाथि पनि ढुंगा हानेका छन्। त्यसबाट केही सवारीसाधनमा क्षति पुगेको छ। प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेपछि युवा संघका कार्यकर्ता कुलेश्वरतिर लागेका छन्।
दुवै पक्षबीच झडप हुन नदिन प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रसाईंका समर्थकलाई बल्खुमै रोकेको छ।
दुवै समूहले माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका थिए। झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले युवा संघलाई तीनकुनेमा र प्रसाईं समर्थकलाई बल्खुमा प्रदर्शन गर्न अनुमति दिएको थियो।