माओवादीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन
नेपाल समाजवादी पार्टी (नेसपा)ले समान विचार भएका पार्टीसँग एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ।
काठमाडौंमा बुधबार बसेको नेसपाको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिसँग एकता गर्दै लैजाने निर्णय गरेको हो।
अध्यक्ष भट्टराईको संयोजकत्व गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन्।
संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महीना थप गरी फागुन मसान्तसम्म पुर्याउने र सबै स्थानीय तहको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको नेसपाले जनाएको छ।
त्यसैगरी मंसीर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्पपीडितलाई राहत र पुनःस्थापनाका लागि सरकारलाई अनुरोध गरेको छ।