कामदारको फर्जी माग र म्यानपावर व्यवसायीको मृत्यु घटनाको छानबिन गर्न माग
फर्जी मागपत्र मार्फत मलेशियामा कामदार पठाउने क्रममा भएको घोटाला र यस प्रकरणमा नेपालका एक म्यानपावर व्यवसायीको मृत्यु घटनाको छानबिनको माग गरिएको छ।
फर्जी कोटामा करोडौंको कारोबार भइरहेको विषयमा खोज पत्रकारिता केन्द्र र मलेशियाकिनीले संयुक्त रूपमा तयार पारेको रिपोर्ट हिमालखबरमा मंसीर ४ मा प्रकाशित भएको थियो। सोही दिन मलेशियाकिनीमा पनि रिपोर्ट प्रकाशित भएपछि मलेशियाको संसद् र संसद् बाहिर फर्जी मागपत्र र म्यानपावर व्यवसायीको मृत्युबारे छानबिनको माग भएको हो।
रिपोर्ट प्रकाशित भएको दिन मलेशियाका पूर्व सांसदले नेपालका म्यानपावर व्यवसायीको मलेशियामा भएको मृत्युबारे नयाँ अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन्। पूर्व सांसद चार्ल्स स्यान्टियागोले म्यानपावर व्यवसायी रिन्जी राईको मृत्युमा कुनै बदमासीपूर्ण काम नभएको भन्ने प्रहरीको भनाइप्रति प्रश्न उठाएका हुन्।
यस्तै, मलेशियाका मानव संसाधनमन्त्री शिवकुमारले आप्रवासी कामदारको कोटामा भएको सिन्डिकेटबारे संलग्न ६ वटा मलेशियाका कम्पनीमाथि पूर्ण अनुसन्धान हुने बताएका छन्। उनले मलेशियाकिनीले पछिल्लो समय प्रकाशित गरेको रिपोर्टबारे आफूलाई जानकारी भएको र यसबारे अनुसन्धान हुने बताए।
मानव संसाधनमन्त्रीको भनाइपछि पूर्व सांसद चार्ल्सले मलेशियाका ६ वटा कम्पनीको संलग्नतामा भएको फर्जी कामदारको कोटाबारे स्वतन्त्र छानबिनको माग गरेका छन्। चार्ल्सले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी उच्चस्तरीय टोलीको नेतृत्वमा अनुसन्धान हुनुपर्ने माग गरेका हुन्।
उनले यो घटनाबारे मलेशियाको मानव संसाधन मन्त्रालयले छानबिन गरेमा स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै त्यसो हुन नदिन उच्चस्तरीय टोलीको नेतृत्वमा अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
यस्तै, मलेशियाको समाजवादी पार्टीको प्रवासी डेस्क संयोजक रानी रसियाले नक्कली सम्झौता, कोटा र रोजगारदाता सिर्जना गर्ने काममा सरकार प्रत्यक्ष जिम्मेवार रहेको बताइन्।
हिमालखबर र मलेशियाकिनीमा मलेशियामा श्रमिक आयातका लागि फर्जी सम्झौता गरेका केही कम्पनीले त्यसबाट प्राप्त कोटा करोडौंमा बिक्री गरी सयौं नेपाली युवालाई अलपत्र पारेकोे रिपोर्ट प्रकाशन भएको थियो। यस्तै, दुवै देशका सरकारी निकायको संलग्नता भएको यो जालसाजीको मामिलामा नेपालका म्यानपावर व्यवसायी राईको मृत्यु भएको रिपोर्ट प्रकाशन भएको थियो।
यो पनि पढ्नुहोस् : मलेशियाबाट श्रमिकको फर्जी माग: करोडौंको सौदाबाजी