सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाउने प्रस्ताव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न १०० देखि ३०० शय्याका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरेकाे छ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव लगिएको बताए। बस्नेतले ३०० शय्याभन्दा माथिका अस्पताललाई पारामेडिक्स र नर्स सहित एमबीबीएस पढाउन समेत प्रस्ताव गरिएको बताए।
यो प्रस्ताव चिकित्सा शिक्षा आयोग र मन्त्रिपरिषद्मा छलफल भइसकेको र त्यहाँबाट सकारात्मक जवाफ आएको उनले जानकारी दिए। चिकित्सा शिक्षा ऐनमा भएको त्रुटि सच्याउन सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ। “चिकित्सा शिक्षामा यो क्रान्तिकारी निर्णय हो, यो निर्णयसँगै अब देशमा स्वास्थ्यका विषय पढ्न समस्या हुनेछैन,” मन्त्री बस्नेतले भने।
मन्त्रालयको प्रस्ताव कार्यान्वयन भएमा विदेश पढ्न जाने अवस्था अन्त्य हुने उनको भनाइ थियो। “नेपालबाट मेडिकल पढ्न बर्सेनि अर्बौं रकम विदेशिन्छ, यो निर्णय कार्यान्वयन भए मेडिकल पढ्न बाहिर जाने अवस्था अन्त्य हुन्छ,” बस्नेतले भने।
यो निर्णय कार्यान्वयन गराउन सक्ने सरकारी अस्पताललाई आफ्नो पूर्वाधार र जनशक्तिको अवस्थाबारे जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ। यो प्रस्ताव स्वीकृत भए कहाँ, कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक संकलन गरिने भएको छ। “छिटै कहाँ, कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक तयार हुन्छ,” बस्नेतले भने।