इजरायल र हमासबीच चारदिने युद्धविराम, एकअर्काका बन्दी रिहा गरिने
इजरायल र प्यालेस्टिनी समूह हमासबीच चारदिने युद्धविराम हुने भएको छ।
हमासको नियन्त्रणमा रहेका इजरायली बन्दीहरूको रिहाइका लागि चार दिन युद्धविराम गर्ने सम्झौता आज इजरायली मन्त्रिपरिषद्ले स्वीकार गरेको हो।
इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ५० जना महिला र बालबालिका रिहा हुनेछन्। पचासै जना इजरायली नागरिक वा दोहोरो नागरिकताधारी हुनेछन्। यस्तै, इजरायलले १५० प्यालेस्टिनी महिला र बालबालिका रिहा गर्ने हमासले जनाएको छ।
यस्तै, इजरायल-हमासबीचको सम्झौता अनुसार औषधोपचार तथा इन्धन लगायत मानवीय सहायता सामग्री बोकेका सवारीसाधन गाजा प्रवेश गर्नेछन्। यस अवधिमा इजरायलले गाजामा आक्रमण गर्नेछैन भने कसैलाई पक्राउ पनि गर्नेछैन।
चार दिनको युद्धविरामपछि थप अर्को दिन युद्ध रोक्न १० बन्दी रिहा गर्नुपर्ने शर्त इजरायलले राखेको छ।
इजरायल र हमासबीच कतारको मध्यस्थतामा इजिप्ट र अमेरिका समेतको पहलमा शान्तिवार्ता भएको थियो। चारदिने युद्धविराम कार्यान्वयनको निर्णय २४ घण्टाभित्र गरिसक्ने कतारले जनाएको छ।
यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने युद्ध जारी नै रहेको बताएका छन्। चार दिनको युद्धविरामपछि इजरायलले पुनः आक्रमण गर्ने उनले बताएका छन्। उनले इजरायलमाथि थप कुनै चुनौती नरहोस् भन्ने निश्चित गर्न ‘हमासको पूर्णतः सफाया’ गर्ने बताएका छन्।
हमासका अनुसार ७ अक्टोबरमा युद्ध शुरू भएयता गाजामा १४ हजार १०० मानिस मारिइसकेका छन्। जसमा पाँच हजारभन्दा बढी बालबालिका छन्।
यस्तै, इजरायलमा हमासको आक्रमणबाट एक हजार २०० मानिस मारिएका छन्।
- विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा