तनावपूर्ण खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना विजयी
विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटतर्फ आज भएको खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना विजयी भएको छ।
ब्राजिलकै माराकाना रंगशालामा भएको खेलमा १-० गोलअन्तरले अर्जेन्टिनाले जित हात पारेको हो। अर्जेन्टिनाको जितमा निकोलस ओटामेन्डीले हेडर मार्फत ६३औं मिनेटमा गोल गरे।
अन्तर्राष्ट्रिय फूटबलका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीबीचको आजको खेल तनावपूर्ण थियो। अर्जेन्टिनाका रोड्रिगो डी पललाई फल गरे बापत ब्राजिलका खेलाडी जोलिङटन ८१औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यसपछि १० खेलाडीमा सीमित ब्राजिलले केही अवसर पाए पनि गोल फर्काउन सकेन।
खेलमा राष्ट्रिय गान चलिरहेका वेला समर्थकबीच झडप पनि भएको थियो। त्यसपछि ब्राजिलियन प्रहरीले अर्जेन्टिनी समर्थकमाथि कुटपिट गरेको थियो। अर्जेन्टिनी टोलीका गोलरक्षक एमिलियानो मार्टिनेज कुटपिटमा उत्रिएका सुरक्षाकर्मीलाई रोक्न पारापिटमै चढ्न खोजेका थिए।
रंगशाला तनावग्रस्त बनेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले खेल अघि बढ्न नसक्ने भन्दै टोलीलाई लकररूममा फिर्ता लगेका थिए। करीब ३० मिनेटपछि खेल शुरू भएको थियो।
समर्थकबीचको लडाइँ मैदानमा पनि देखापर्यो। खेलको पहिलो हाफमा अत्यधिक फल भएको थियो। ब्राजिलले १६ फल गरेको थियो भने अर्जेन्टिनाले ६। ब्राजिलका खेलाडीले तीन पहेंलो कार्ड पनि पाए। पहिलो हाफमा ब्राजिलले गोलपोस्ट लक्ष्यित एउटा मात्र प्रहार गर्न सक्यो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले।
दोस्रो हाफमा भने ब्राजिल बलियो देखिए पनि अर्जेन्टिनाले आफूले पाएको अवसरलाई गोलमा परिणत गर्न सक्यो। अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले ब्राजिलका केही राम्रा प्रहारलाई रोक्न सफल भए।
अर्जेन्टिनी कप्तान मेस्सी ७८औं मिनेटमा बाहिरिएका थिए। उनको स्थानमा एन्जेल डी मारिया आई कप्तानको जिम्मेवारी सम्हालेका थिए। योसँगै प्रतिस्पर्धात्मक खेलमा ब्राजिल विरुद्ध गोल गर्ने मेस्सीको सपना यस पटक पनि अधुरै रह्यो। हालसम्म मेस्सीले ब्राजिल विरुद्ध सिनियर टोलीका लागि गरेको पाँच वटै गोल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हो।
र, ब्राजिलका लागि पनि यो हार विश्वकप छनोटमा घरेलु मैदानमा बेहोरेको पहिलो हार हो।
जितसँगै दक्षिण अमेरिकी छनोट अन्तर्गत ६ खेलमा पाँच जित सहित अर्जेन्टिना शीर्षस्थानमा छ। त्यति नै खेल खेलेको उरुग्वे चार जित, एक हार र एक बराबरी सहित दोस्रो स्थानमा छ।
ब्राजिल भने ६ खेलमा दुई जित, तीन हार र एक बराबरी सहित छैटौं स्थानमा छ।