ललितपुरको पुल्चोक क्षेत्रमा ६ महीने निषेधाज्ञा घोषणा
स्थानीय प्रशासनले ललितपुरको पुल्चोक क्षेत्रमा ६ महीनाका लागि निषेधाज्ञा जारी गरेको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै प्रदर्शनमा रोक लगाइएको जनाएका छन्। मंसीर ५ गतेदेखि आगमी ६ महीनासम्म पुल्चोक क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन गर्न रोक लगाइएको आदेशमा उल्लेख छ।
ललितपुर महानगरपालिका-३ को पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर भेला, नाराजुलूस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा जनाइएको छ।
स्थानीय प्रशासनले पूर्वमा इनारमोड जाने मूलबाटो, पश्चिममा राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेधित क्षेत्र घोषणा गरेको हो।
यसअघि मंसीर ४ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।