सर्वोच्चको न्यायाधीशमा दुई वकील सहित ६ जना सिफारिश
न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको नियुक्तिका लागि सिफारिश गरेको छ।
न्याय परिषद्को मंसीर ५ गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीश र दुई जना कानून व्यवसायीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो। सिफारिशमा अटाएकाहरूमा उच्च अदालतका न्यायाधीशहरू शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र महेश शर्मा पौडेल तथा कानून व्यवसायीबाट वरिष्ठ अधिवक्ताद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्। पोखरेल नेपाली कांग्रेस निकट र ढकाल नेकपा (एमाले) निकट कानून व्यवसायी हुन्।
सर्वोच्चमा अझै एउटा दरबन्दी खाली छ। खाली दरबन्दीमा नेकपा (माओवादी केन्द्र)को कोटाबाट सिफारिश हुने राजनीतिक सहमति बनेको परिषद् स्रोतको भनाइ छ। हालका महान्यायाधिवक्ता दिनमणि पोखरेलाई लैजाने तयारी भएको स्रोतको दाबी छ।
परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशमा समेत नियुक्ति सिफारिश गरेको छ। लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिश गरिएको छ।
परिषद्ले उच्च अदालतका १४ जना मुख्य न्यायाधीश र न्यायाधीशहरूको समेत सरुवाको सिफारिश गरेको छ। त्यस्तै, चार जना न्यायाधीशको काज सरुवा गरिएको छ।
परिषद्ले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई सिफारिश गरेको छ। सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई सिफारिश गरेको छ।