उत्तराखण्डमा राज्य समर्थित राजनीतिक हिन्दूत्वले जातीय सफायालाई कसरी गरिरहेछ मलजल?
हिन्दू अतिवादी संगठनले हिमाली राज्य ‘उत्तराखण्ड’ लाई हिन्दूको ‘पवित्र भूमि’ र मुसलमानको उपस्थितिलाई ‘प्रदूषणकारी’ संज्ञा दिइरहेका छन्।
भारतका हिमाली राज्यमध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तराखण्डले अहिले विगतमा कहिल्यै नभोगेको उथलपुथल सामना गरिरहेछ। मुसलमानहरूलाई राज्यबाट लखेट्ने अभियान प्रभावकारी र ठूलो मात्रामा थाल्ने भारतकै पहिलो राज्य हुन पुगेको छ यो। यो धर्मयुद्धलाई राज्य सरकारले मौन समर्थन गरिरहेछ।
खासै रक्तपात नभएकाले यो राज्यमा देखापरेका खतरनाक विभाजनहरू राष्ट्रिय चासोका विषय बनिरहेका छैनन्। तर उत्तराखण्डको साम्प्रदायिक तनावको तापक्रम भित्रभित्रै खतरनाक बिन्दुमा पुगिसकेको छ।
विगतमा उत्तराखण्डमा धार्मिक समुदायबीच उल्लेखनीय साम्प्रदायिक तनाव भएकै थिएन। यहाँको विभाजन धेरै हदसम्म जातका आधारमा भएका छन्। सम्भवतः अन्य प्रान्तमा भन्दा उत्तराखण्डमा ब्राह्मणको संख्या बढी छ। त्यहाँ जनसंख्याको २० प्रतिशत ब्राह्मण छन्। १९९० को दशकमा मुलायम सिंह नेतृत्वको तत्कालीन राज्य सरकारले पिछडिएको समुदायलाई सरकारी जागीरमा दिइने कोटा विस्तार गरेपछि उत्तर प्रदेशबाट उत्तराखण्ड टुक्र्याउने आन्दोलन हिंसात्मक बनेको थियो। मुसलमानहरूले पनि हिमाली राज्यका रूपमा अलग्गिने मागलाई व्यापक समर्थन गरेका थिए।
उत्तराखण्डको कुल जनसंख्याको करीब १४ प्रतिशत मात्रै मुसलमान छन्। राज्यबाट मुसलमानलाई लखेट्ने वर्तमान राजनीति तीन वटा मान्यतामा आधारित छ। पहिलो, हिन्दूको पवित्र पहाडी भूमिलाई मुसलमानको उपस्थितिले अपवित्र बनाइरहेछ। दोस्रो हो, बाहिरिया मुसलमानले तीव्र गतिमा राज्यको जनसांख्यिक बनोटमै परिवर्तन ल्याइरहेछन् जसले हिन्दूहरू नै आफ्नो पवित्र भूमिमा अल्पसंख्यक हुने खतरा बढिरहेछ। तेस्रो, मुसलमानको अन्तर्निहित चरित्र नै विश्वासघात हो र उनीहरू यो पवित्र भूमिबाट हिन्दूलाई हटाउन जनसांख्यिक जिहाद, लभ जिहाद, भूमि जिहाद, मस्जिद जिहाद र हालै मात्र व्यापार जिहाद चलाइरहेछन्
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र यससँग आबद्ध विभिन्न हिन्दूत्ववादी संगठनले यी मान्यता हिमाली राज्यका दुर्गम भेगसम्म फैलाइरहेका छन्। उत्तराखण्डभर संघका १४०० शाखा छन्। आउँदो दुई वर्षमा यी शाखाको संख्या दोब्बर बनाउने योजना छ। मुसलमानको बसोबासका कारण पवित्र देवभूमिको पवित्रता नै धरापमा परेको तथ्य हिन्दूलाई सम्झाउने नै आफ्नो कर्तव्य रहेको संघका कार्यकर्ता व्याख्या गर्छन्।
शंकर गोपालकृष्णन जस्ता स्थानीय अभियन्ताले त सन् २०१७ मै धार्मिक समुदायबीचको परम्परागत सद्भावमाथि सुनियोजित प्रहार भइरहेको चेतावनी दिएका थिए।
गेरु वस्त्रधारी हिन्दू धार्मिक नेताहरूले मुुसलमान विरुद्धको घृणालाई मलजल मात्र गरिरहेका छैनन्। वैधानिकता पनि प्रदान गरिरहेछन। कतिसम्म भने उनीहरू सामुहिक बलात्कार र नरसंहारको फर्मान जारी गर्न पनि पछि पर्दैनन्। उनीहरूले सिर्जना गरेको संकथन (डिस्कोर्स)लाई दक्षिणपन्थी प्रकाशनहरू, सामाजिक सञ्जाल र साम्प्रदायिकीकरण भइसकेका स्थानीय प्रेसले प्रचार गरिरहेका छन्। यी सबैले सामाजिक र आर्थिक सम्बन्धमा दरार सिर्जना गरिरहेका छन्। परिणामस्वरूप, मुसलमान बहिष्कृत भइरहेछन् र वेलाबखत उनीहरूमाथि हिंसा समेत हुने गरेको छ।
तर निर्णायक रूपमा मुसलमान विरोधी भावना जागृत गर्ने काम चाहिं यस राज्यको निर्वाचित राजनीतिक नेतृत्वले नै गरिरहेछ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ४५ वर्षको जिन्दगीमा ३३ वर्ष राष्ट्रिय स्वयंसेवक संघका समर्पित कार्यकर्ताका रूपमा बिताइसकेका छन्। सन् २०२१ मा अचानक मुख्यमन्त्री बन्दा उनको राजनीतिक कद अहिले जस्तो उँचो भइसकेको थिएन। सन् २०२२ मा विधान सभा निर्वाचनमा हारेपछि पनि पुनः राज्यको मुख्यमन्त्रीमा निर्वाचित भएपछि संघका लागि उनी कति महत्त्वपूर्ण छन् भन्ने स्पष्ट भयो।
भारतीय जनता पार्टीका विधान सभा सदस्यले छोडेको सीटबाट उनी पुनः निर्वाचित भए। उत्तराखण्डमा मुसलमान बाहिरिया, जिहादी र दुश्मन रहेको प्रचार गर्न उनी कहिल्यै पछि पर्दैनन्। त्यसका लागि उनले मुस्लिम मिथकको सहारा समेत लिने गरेका छन्।
उनी मुख्यमन्त्री भएको ६ महीनापछि हरिद्वारमा १७–१९ डिसेम्बर २०२१ मा एक ‘धर्म संसद्’ आयोजना गरियो। त्यस संसद्मा बोल्ने हरेकजसो वक्ताले घरभित्र ‘घुसेका’ लाई मार्न ‘तरबार उदाउन’ आह्वान गरे। म्यानमारमा रोहिंग्या विरुद्ध राज्यले गरेको दमनलाई उदाहरणका रूपमा लिइयो र ‘सफाइ अभियान’ चलाउनुपर्ने माग गरियो। राज्यभित्रै रहेका दुश्मनको सफाया गर्न प्रहरी, सेना र नेताले हतियार उठाउनुपर्ने धारणा राखियो।
एक जना वक्ताले त मुसलमानको ‘जनसंख्या घटाउन’ दुई लाख मुसलमान मार्न १०० जना सेना परिचालन गर्नुपर्ने धारणा राखे। तर राज्य प्रहरीले यी आपराधिक आह्वानलाई बडो सावधानीपूर्वक सम्हाल्यो। द क्विन्टका अनुसार सन् २०२१ को धर्म संसद्मा द्वेषपूर्ण भाषण गर्नेमध्ये प्रमुख व्यक्तिहरू प्रबोधानन्द र दर्शन भारती थिए। आज पनि उत्तराखण्डमा उनीहरूले स्वतन्त्रतापूर्वक घृणा फैलाइरहेछन्, हिंसालाई प्रोत्साहित गरिरहेछन्।
०००
सबैभन्दा पहिला, उत्तराखण्डलाई हिन्दूको पवित्र भूमिका रूपमा गरिएको प्रचारबाटै शुरू गरौं। अब्राहमिक धर्महरूको पवित्र भूमि छ (मुसलमानको मक्का र क्रिश्चियनको भ्याटिकन) भन्ने आधारमा यो अवधारणा सिर्जना गरिन्छ। ती दुवै पवित्र क्षेत्रमा अरू धर्मका मानिसलाई प्रवेश निषेध गरिएको छ भन्ने दाबी गरिन्छ। वास्तवमा भ्याटिकनमा त्यस्तो कुनै प्रतिबन्ध छैन। भ्याटिकन क्याथोलिकका मात्र लागि पवित्र भूमि हो, सबै क्रिश्चियनका लागि होइन। धेरै हिसाबले हिन्दूत्व राजनीतिले अब्राहमिक विश्वासको नक्कल गर्ने प्रयास गरिरहेछ। एउटा मुख्य देवता (राम) र एउटा पवित्र ग्रन्थ (गीता)को प्रतिपादनपछि एउटा निश्चित पवित्र भूमिको सिर्जना गर्ने अभ्यास भइरहेछ। यी सबै अभ्यास हिन्दू आस्थाको विशिष्टता बहुलवादसँग मेल खाँदैनन्।
पक्कै पनि, उत्तराखण्डलाई अखण्ड भारत (हिन्दूत्ववादीको दाबी)को पवित्र भूमिका रूपमा प्रस्तुत गर्नु विवादास्पद छ। हिन्दू धर्मावलम्बीले जीवनमा एक पटक पुग्नैपर्ने भनिएका चार धाममध्ये एउटा बद्रीनाथ मात्रै उत्तराखण्डमा पर्छ। बाँकी तीन वटामध्ये द्वारिका गुजरातमा, रामेश्वरम् तमिलनाडुमा र पुरी ओडिसामा पर्छन्। यीमध्ये हरेकलाई हिन्दूको पवित्र भूमि दाबी गर्न सकिन्छ।
अचेल उत्तराखण्डलाई देवभूमिका रूपमा प्रचार गर्नु एकदमै सामान्य जस्तो भइसकेको छ। यो प्रचारबाजी गफगाफ र पर्यटनमा सीमित छैन। सरकारी दस्तावेजमा समेत यस्तो लेख्ने गरिएको छ। द क्याराभान म्यागजिनले वर्णन गरे अनुसार भ्याक्सिन लगाउने जस्तो सामान्य विषयमा सम्बोधन गर्दा पनि प्रधानमन्त्रीले उत्तराखण्डलाई देवभूमि भन्ने गरेका छन्। बद्रीनाथको पटक पटकको भ्रमण र तिनको फोटो व्यापक प्रचार गरेर उनी यसको पवित्रतालाई जोड दिइरहेका छन्।
‘जबर्जस्ती’ धर्म परिवर्तन गर्नेलाई पाँच वर्षको सजाय दिने कानून भएकोमा उत्तराखण्ड विधान सभाले त्यसलाई दोब्बर बनाएर नयाँ विधान पारित गरेको छ। मुख्यमन्त्री धामीले उत्तराखण्ड राज्यमा धर्म परिवर्तन विरुद्ध अन्यत्रभन्दा कडा कानून चाहिने धारणा राख्छन्। उत्तराखण्ड ‘देवभूमि’ भएको र धर्म परिवर्तन ‘घातक’ भएको उनको तर्क छ।
उत्तराखण्डलाई हिन्दूको पवित्र भूमिका रूपमा स्थापित गर्ने प्रयाससँगै जोडिएर आउँछ, मुसलमानलाई धार्मिक क्षेत्रको आसपास बस्न र व्यापार गर्न प्रतिबन्ध लगाउने माग पनि। हिन्दूत्ववादी संगठन र भारतीय जनता पार्टी (भाजपा)का थुप्रै नेता एउटै स्वरमा यही माग राख्छन्। तर यी माग बन्चरोका धार जस्तो मात्र प्रतीत हुन्छन्। मुख्य उद्देश्य त सिंगो ‘पवित्र’ राज्यबाट मुसलमानलाई लखेट्ने नै हो।
वास्तवमा उत्तराखण्डबाट मुसलमानहरूलाई लखेट्ने अभियानको इतिहास पुरानो छ। सन् १९९० को दशकको शुरूतिर हिन्दू महासभाका संस्थापक मदन मोहन मालवियले गंगा सभाको आयोजना गरेका थिए। यो सभाले हरिद्वारको मुख्य घाट ‘हर कि पौडी’ नजिकै मुसलमानलाई प्रतिबन्ध लगाउने अभियान थालेको थियो। गंगा सभाका एक पदाधिकारीले क्याराभान म्यागजिनका पत्रकारलाई बताए अनुसार आज पनि हरिद्वार नगरपालिकाले हर कि पौडीबाट चार किलोमिटर उत्तर र दक्षिणमा गैरहिन्दूलाई कुनै व्यवसाय सञ्चालन गर्न वा घर किन्न, रक्सी, चुरोट बेच्न र मासु बेच्न एवं खान प्रतिबन्ध लगाएको छ।
राष्ट्रिय स्वयंसेवक संघ र संघ परिवारका धार्मिक नेता र सदस्यहरू मुसलमानलाई राज्यबाट लखेट्ने अभियानमा जुझारु र प्रतिबद्ध छन्। तीमध्ये एक हुन्, हिन्दू पुजारी आनन्दस्वरूप। मुसलमानप्रति उनी निकै कठोर सुनिन्छन्। “गैरहिन्दूलाई प्रतिबन्ध नलगाउने हो भने हिन्दू पुजारी सडकमा उत्रिनेछन्,” उनले धम्की दिएका थिए, “मुसलमानले यहाँ बेथिति सिर्जना गरेका छन्। मानिसलाई मांसाहारी बनाएका छन्। गंगामा गाईको मासु फालेर अपवित्र बनाएका छन्। हामीले यी सबैलाई ध्यान दिएनौं भने यो पनि कश्मीर बन्नेछ। हिन्दूहरूका लागि कम्तीमा एउटा राज्य त हुनैपर्छ।”
‘निश्चित धार्मिक समुदाय’ का मानिससँग घुलमिल हुँदा उत्तराखण्डमा ‘लभ जिहाद’ र अन्य अपराध बढेको आरोप छ भाजपाका वरिष्ठ नेता अजेन्द्र अजेयको। मुसलमानले ‘गोप्य रूपमा’ आफ्नो पूजास्थल बनाउने भएकाले साम्प्रदायिक तनाव सिर्जना भएको उनको दाबी छ। उनी त्यसलाई ‘भूमि जिहाद’ भन्छन्।
“हिमाली जिल्ला खाली हुँदै छन्, मानिस बसाइँ सरिरहेछन् ... (जबकि) निश्चित समुदायका मानिसले यहाँको सबै ठाउँ कब्जा गरिरहेछन्,” उनले भनेका थिए, “यो राष्ट्रिय सुरक्षाका लागि पनि खतरा हो।”
“यो देवभूमिलाई नर्क बनाउने अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेछ,” हिन्दू रक्षा सेनाका अध्यक्ष प्रबोधानन्दको दाबी छ। उनले मुख्यमन्त्री धामीलाई पनि ‘सावधान’ हुन भनेका छन्। उनका अनुसार ‘उत्तराखण्डमा जिहादीहरूको संख्या बढिरहेछ।’ उनको दाबी छ, “उनीहरूले हाम्रो पवित्र धार्मिक स्थललाई ध्वस्त बनाउने प्रयास गरिरहेछन् र त्यहाँ नमाज पढ्न चाहन्छन्।” देवभूमि रक्षा अभियानका संस्थापक दर्शन भारती पनि उस्तै ढंगले प्रश्न गर्छन्, “के तपाईं यो देवभूमि मस्जिद र गिर्जाघरले भरियोस् भन्ने चाहनुहुन्छ?”
०००
उत्तराखण्डलाई हिन्दूको पवित्र भूमिका रूपमा स्थापित गर्ने हिन्दूत्ववादी दृष्टिकोणले त्यहाँका स्थानीय हिन्दूलाई अरूभन्दा विशेष भएको दाबी गर्ने अवसर दिएको छ। यो धारणाले यहाँका हिन्दू आदिवासी भएको हिन्दूत्ववादी दाबीलाई प्रश्रय दिएको छ। साथै मुसलमानलाई ‘पराई’ को आरोप लगाइएको छ। मैले उत्तराखण्डका जो जो मुसलमानसँग कुराकानी गरें उनीहरू सबैले उत्तराखण्डका पहाडी भेग र उपत्यकामा १३औं शताब्दीदेखि कायम आफ्नो बसोबासलाई निरन्तरता दिन गाह्रो भइरहेको गुनासो गरे।
उनीहरूले हल्द्वानीको चर्चा पनि गरे। उत्तराखण्डको दोस्रो ठूलो यो शहर पहिला सैन्य शिविर नजिकै रहेको मुस्लिम बजारका रूपमा परिचित थियो। पछिल्ला दशकमा मात्रै त्यहाँ हिन्दूले घर बनाउन र बसोबास गर्न थालेका हुन्। यस राज्यमा मुसलमानले फलफूल पसल, सैलुन र ग्यारेज जस्ता ससाना व्यवसाय मात्रै गर्छन्। उनीहरूमध्ये अधिकांश कम्तीमा दुई-तीन पुस्तादेखि त्यहीं बसिरहेका छन्। पक्कै पनि केही मुसलमान पछिल्लो समयमा त्यहाँ बसाइँ सरेर गएका छन्। तर भारतको संविधानले हरेक भारतीय नागरिकलाई देशको कुनै पनि ठाउँमा जाने र काम गर्ने अधिकार दिन्छ।
राज्यको जनसांख्यिक अनुपात नै परिवर्तन हुने गरी ठूलो मात्रामा मुसलमानको आप्रवासन भएको छ र त्यो नै मुस्लिम षड्यन्त्र हो भन्ने आरोपले हिन्दू आदिवासी हुन् र मुुसलमान बाहिरिया भन्ने दाबीलाई प्रश्रय दिएको छ। कतिसम्म भने मुख्यमन्त्री धामी समेत यस राज्यमा दिक्क लाग्ने गरी जनसांख्यिक परिवर्तन भइरहेको र ‘निश्चित समुदाय’ को अस्वाभाविक उदय भएको आरोप लगाएर थाक्दैनन्।
उनको आरोप तथ्यसम्मत भने छैन। उत्तराखण्डको जनसांख्यिक बनोटमा मुसलमानको अस्वाभाविक वृद्धि भएकै छैन। सन् २०११ को जनगणना अनुसार उक्त राज्यमा कुल जनसंख्याको १४ प्रतिशत मात्र मुसलमान छन्। सन् २००१ को जनगणनाको तुलनामा यो जम्मा दुई प्रतिशत वृद्धि हो जसले स्वाभाविक जनसंख्या वृद्धि व्यक्त गर्छ। थोरै संख्यामा मात्रै मुसलमान अन्य राज्यबाट त्यहाँ बसाइँ सरेका हुन सक्छन्।
अर्कातर्फ, उक्त राज्यमा साँच्चै मुसलमानको संख्या बढेको छ भने पनि यसलाई सरकार र राज्यका अरू बासिन्दाले किन चिन्ताको विषय ठान्नुपर्छ र? आखिर, यो विविधतापूर्ण र बहुलवादी देशमा मुसलमान पनि अरू जस्तै नागरिक हुन्। उनीहरूलाई पनि देशको कुनै पनि ठाउँमा बस्ने अधिकार छ (निश्चित जाति बस्ने केही संवेदनशील ग्रामीण क्षेत्रमा भने बाहिरका अन्य जातिलाई पनि प्रतिबन्ध लगाइएको छ)।
तर दक्षिणपन्थी मिडियाले भने यसैलाई खतरा जसरी प्रस्तुत गरिरहेका छन्। त्यसको एउटा उदाहरण हो, अपइन्डिया। उत्तराखण्डका विभिन्न जिल्लामा मुसलमानको संख्या बढेकाले सुरक्षा संयन्त्र बेचैन भएको दाबी छ उसको। यसलाई ‘विशेष षड्यन्त्र’ रूपमा उनीहरूले हेरको अपइन्डियाको दाबी छ। सन् २०११ यता कुनै जनगणना नभए पनि मुसलमानको संख्या त्यसयता दोब्बर भएको उक्त समाचारमा उल्लेख छ।
दैनिक जागरण त त्योभन्दा पनि कट्टर भएको छ। यो ‘अवैध आवादी’ उत्तराखण्ड, बाङ्लादेश, बिहार, नेपाल, उत्तर प्रदेश, हरियाणा र पंजाब हुँदै अन्ततः पाकिस्तानसम्म जोड्ने करिडोर बनाउने अभ्यास भएको सुरक्षा संयन्त्रले उजागर गरेको उसले उल्लेख गरेको छ।
जनसांख्यिक बनोटमा षड्यन्त्रपूर्ण परिवर्तन भएको यस्ता दाबीले मुसलमान विरोधी प्रचारलाई मलजल गरिरहेछन्। भारतीय जनता पार्टीका पूर्व राज्य महासचिव गजराज सिंह विष्ट भन्छन्, “शुरूमा यी मुसलमान पाउ पर्न आउँछन्। अनि तिनीहरूले हात मिलाउँछन्। तर जब उनीहरू एकबाट १० हुन्छन् तपाईंलाई सडकमा हिंड्न पनि दिनेछैनन्।”
०००
मुसलमानमाथिको यस्तो आरोप जनसंख्या जिहादको लाञ्छनामा मात्र सीमित छैन। लभ जिहादको आरोपमा पनि मुसलमान विरुद्ध घृणा फैलाइएको छ। मुसलमान पुरुषहरू यौन शिकारी हुन् भन्ने मान्यता भारत-पाकिस्तान विभाजन ताकाको साम्प्रदायिक दंगाको वेलामा नै निर्माण गरिएको थियो। तर लभ जिहादको नाममा घृणा फैलाउने काम भने पुरानो होइन। सन् २००० को दशकदेखि दक्षिणपन्थी प्रकाशन, पर्चा र सामाजिक सञ्जाल मार्फत यस्तो घृणा फैलाउन थालिएको हो।
खाडीको पेट्रोडलरको आडमा मुसलमानले लभ जिहाद चलाइरहेछन् भन्ने हिन्दूत्ववादी प्रचारकको आरोप छ। लभ जिहादबारे उनीहरूको धारणा यस्तो छ– ‘हिन्दू महिला सोझा हुन्छन्, अर्कोतर्फ मुसलमान पुरुष भने कुटिल, धूर्त र प्रेम र ख्याल गरे जस्तो देखाउन सिपालु हुन्छन्। आकर्षक देखिने मुसलमान पुरुषलाई हिन्दू युवतीसँग रोमान्टिक बन्न, यौनसम्बन्ध राख्न र विवाहसम्म गर्नेगरीको तालीम दिइएको हुन्छ। उनीहरूले बडो धूर्ततापूर्वक सोझासीधा हिन्दू महिलालाई यौनसम्बन्ध र विवाहमा फसाउँछन्। लभ जिहादको एउटै उद्देश्य छ, हिन्दू महिलालाई मुसलमान बनाएर उनीहरूबाट सके जति धेरै मुसलमान सन्तान जन्माउने।’
पछिल्ला केही वर्षमा नै सामाजिक सञ्जालमा फैलिएको छ, लभ जिहादको आरोप। र, मुसलमानमाथि हुलहुज्जत र आक्रमण गर्ने मामिलामा गाई संरक्षणपछिको यो दोस्रो ठूलो निहुँ बनेको छ। उत्तराखण्डबाट मुसलमानलाई लखेट्नुपर्छ भनेर गरिएको घृणा प्रचारको केन्द्रमा यही लभ जिहाद छ।
लभ जिहाद विरुद्ध खुलेआम युद्धको घोषणा गर्ने सरकारप्रमुखमध्ये उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ हुन्। त्यस्तो ‘गलत व्यवहार’ रोक्न र कारबाही गर्न प्रहरीलाई उनले निर्देशन दिएका थिए। कतिसम्म भने उनले विवाहका लागि धर्म परिवर्तनलाई अपराध मान्ने गरी लभ जिहाद विरुद्ध कानून नै पारित गरे। राजनीतिशास्त्री अजय गुणभर्तेका अनुसार यो कानूनले हिन्दू महिलालाई नियन्त्रणमा राखेको छ भने मुसलमानलाई अपराधी बनाइदिएको छ। उनले हिन्दू महिलासँग सम्बन्ध बनाउने मुसलमान पुरुषलाई हिंसाको धम्की पनि दिए, “हाम्रा दिदीबहिनी र छोरीहरूको सम्मानसँग खेल्ने र आफ्नो पहिचान लुकाउनेहरूलाई म चेतावनी दिन चाहन्छु, उनीहरूले आफ्नो कर्तूत बन्द गरेनन् भने तिनको अन्तिम यात्रा शुरू हुनेछ।”
भाजपा शासित राज्यहरूका धेरैजसो मुख्यमन्त्रीले आदित्यनाथकै पथ पछ्याएका छन्। तीमध्येका मुख्य हुन् उत्तराखण्डका मुख्यमन्त्री धामी। उनले लभ जिहाद विरुद्ध पटक पटक आक्रोश मात्र पोखेका छैनन्, कति पटक त लभ जिहादका नाममा भएका हुलहुज्जतलाई समर्थन पनि गरेका छन्।
हिन्दूत्व कट्टरपन्थी प्रबोधानन्द लभ जिहाद देवभूमि विरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र रहेको दाबी गर्छन्। “देवभूमिमा दिदीबहिनी र श्रीमतीहरू जोगाउन निकै कठिन भएको छ .... यो कुनै एक जना केटीको कथा होइन। उत्तराखण्डका थुप्रै केटीहरू यसको निशानामा परेका छन्,” द क्विन्टका अनुसार उनले भनेका थिए। ५ जूनमा आयोजना भएको एक पत्रकार सम्मेलनमा उनले आरोप लगाएका थिए, “देहरादूनमा पनि लभ जिहादका घटनाहरू बढिरहेका छन्। उनीहरूको उद्देश्य नै देवभूमिलाई कश्मीर बनाउने हो .... यो हुन नदिन हामीले केही गर्नैपर्छ। जिहादीहरूले सीमा नाघिसकेका छन् र अहिले हिन्दू महिलाहरूलाई निशाना बनाइरहेछन्।”
सामाजिक सञ्जालका प्रयोगकर्तामा चर्चित भएको एउटा भिडिओमा उत्तराखण्डको रुर्कीका हिन्दूत्ववादी राजनीतिक रिमा चौहानले भनेकी छन्, “उत्तराखण्डमा हाम्रा छोरीहरूलाई केही हुनुभन्दा अघि नै सचेत हुन म उत्तराखण्डका जनतालाई आह्वान गर्छु ... यी जिहादीहरू हजाम, कार्पेन्टर, तरकारी व्यापारी आदि बनेर उत्तराखण्ड छिर्छन्। उनीहरूले हाम्रा छोरीहरूलाई बहकाउँछन् र उनीहरूलाई कि त मार्छन् कि अपहरण गर्छन्।”
लभ जिहाद विरुद्ध गर्मागर्मी चलिरहेको यो समयमा राजनीतिक नेतृत्व, प्रहरी अधिकारीहरू र सिंगो हिन्दूत्व जमातले बेवास्ता गरेको विषय के हो भने मुस्लिम–हिन्दू सम्बन्धमध्ये साह्रै थोरैमा मात्र मुस्लिम पुरुषले हिन्दू महिलालाई सम्बन्धमा जोडिन बाध्य बनाएको पाइएको छ। अधिकांश सम्बन्ध दुवैको सहमतिमा हुने गरेको पाइएको छ। मानव तस्करी र बलात्कारका घटनाको भने संगठित साम्प्रदायिक षड्यन्त्रसँग कुनै सम्बन्ध नरहेको पाइएको छ।
उत्तर प्रदेशमा पनि लभ जिहादलाई लिएर गरिएका आधिकारिक घोषणामा निन्दनीय दोहोरोपन पाइन्छ। उत्तर प्रदेशको विधान सभामा प्रश्न उठेपछि दिइएको जवाफ त्यहाँका मुख्यमन्त्रीले सार्वजनिक रूपमा दिएको भाषणभन्दा नितान्त फरक थियो।
देशकै ध्यान तानेको एउटा पछिल्लो घटना उत्तराखण्डकै पुरोला शहरको हो। एउटा दक्षिणपन्थी संगठनका नेताले एउटी हिन्दू बालिकालाई अपहरण गर्ने प्रयास गर्दैगर्दा एकजना स्थानीय मुसलमान पक्राउ परेको दाबी गरे। उनले त्यो घटना ‘लभ जिहाद’ को एउटा उदाहरण भएको दाबी पनि गरे। शहरभरि पुरोलाका सबै मुस्लिमलाई लखेट्नुपर्ने माग गर्दै पोस्टर टाँसिए। घर र पसलमा आक्रमण गरिएपछि ४१ मुस्लिम परिवारले शहर छोडे।
न्यूजलन्ड्रीका पत्रकार अनमोल प्रितमले भने त्यही शहरमा एक हप्ता बसेर अनुसन्धान गरी अर्कै तथ्य उजागर गरे। ती बालिका १४ वर्षकी थिइन्। उनी अनाथ भएकाले उनका काका (राकेश)ले हुर्काएका थिए। दुई मानिस, एक हिन्दू र अर्को मुसलमान, जितेन्द्र सायनी र उबेद खानले उनलाई अपहरण गर्ने प्रयास गरेका थिए। तर बालिकाको उद्धार भयो। राकेशका अनुसार उनले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले निष्पक्ष ढंगले काम गर्दै दुवै मानिसलाई पक्राउ गरेको थियो।
तर एक स्थानीय पत्रकारले हिन्दू अपहरणकारीबारे मौन रहन र त्यसको साटो मुसलमान पुरुषले ती बालिकालाई प्रभावमा पारेको भनेर उजुरी दिन राकेशलाई धम्की दिए। उनले त्यो दबाब अस्वीकार गरे। तर स्थानीय हिन्दूत्ववादी संगठनलाई उनको अस्वीकृतिले रोकेन। परिणाम, मुसलमान परिवार विरुद्ध राज्यकै तर्फबाट हिंसा भयो।
२९ मेमा शहरमा आयोजना गरिएको सयौंको र्यालीले नारा लगायो– ‘लभ जिहादीलाई निकाला गर। मुसलमानहरूलाई निकाला गर। मुस्लिम शासन मान्दैनौं।’ त्यति मात्र होइन, उनीहरूले नारा लगाए– ‘मुस्लिम मुक्त उत्तराखण्ड चाहिए।’ ५ जूनमा मुसलमानहरूको पसलमा पोस्टर टाँसियो। देवभूमि रक्षा अभियानले निकालेको त्यो पोस्टरमा ‘सबै लभ जिहादी’ लाई शहर छोड्न धम्की दिइएको थियो।
एक मुसलमान बासिन्दाले पछि क्याराभानसँग आफ्नो दुखेसो यसरी पोखेका छन्– “उनीहरूले हाम्रो नाम बिर्सिए र केवल जिहादी भन्ने मात्रै सम्झिए। सबै मुसलमानलाई एकाएक जिहादी बनाइयो।” शहरका मुसलमानले आफ्नो पसलको साइनबोर्ड, ब्यानरहरू तोडफोड गरिएको तर प्रहरी मूकदर्शक बनेको आरोप लगाएका छन्। उनीहरूले सब–डिभिजनल म्याजिस्ट्रेटको हस्तक्षेप खोजेका थिए तर उनले बेवास्ता गरेको उनीहरूको आरोप छ।
रिपोर्टर्स कलेक्टिभको समाचार अनुसार त्यसपछि तुरुन्तै अरू गाउँ र शहरमा पनि मुस्लिमलाई आफ्ना पसल छोड्न उर्दी जारी गर्दै पोस्टर टाँसिन थाले। भाजपाका एक स्थानीय नेताले त घोषणा नै गरे, “लभ जिहादीहरूलाई १५ जूनको महापञ्चायतअघि नै आफ्नो पसल खाली गर्न सूचना दिइएको छ। यो आदेश नमान्दाको परिणामले के हुन्छ भन्ने त समयले नै बताउनेछ।”
उत्तरकाशीका बडकोट, चिन्यालिसौड जस्ता शहर र नौगाउँ, दामता, बर्नीगाड, नेटवार र भाटवारी जस्ता गाउँमा मुसलमान विरुद्ध र्यालीहरू आयोजना गरिए। यी सबै र्यालीमा तथाकथित लभ जिहाद विरुद्ध चेतावनी दिइएको थियो।
यही समयलाई मुख्यमन्त्री धामीले लभ जिहादका घटनाविरुद्ध आफ्ना कडा अडान दोहोर्याउने उपयुक्त अवसरका रूपमा लिए। उनको भाषणले पुरोलाबाट शुरू भइरहेको हिंसा र धम्कीलाई समर्थन गर्ने संकेतको काम गर्यो। साम्प्रदायिक तनाव बढ्दै गयो। उक्त क्षेत्रबाट मुसलमानलाई निष्कासन गर्न महापञ्चायत बोलाउने धम्की दिइयो। उत्तराखण्ड बाहिरका नागरिकले दबाब दिएकैले राज्य प्रशासनले महापञ्चायत आयोजना गर्न रोक लगायो।
तर राज्य प्रशासनले मुसलमानप्रति निरन्तर बढिरहेको घृणाजन्य वक्तव्यबाजी रोक्न कुनै प्रभावकारी पहल गरेन। बरु यस्ता घृणा फैलाउने नारालाई पनि बेवास्ता गर्यो– ‘जिहादियोंको जो देगा शरण, उनकी बहन बेटियों का होगा हरण (जिहादीहरूलाई जसले दिन्छ शरण, तिनका छोरीचेलीको हुनेछ हरण)। हिन्दूयों को जगाना होगा, जिहोदियों को भगाना होगा (हिन्दूहरूलाई जगाउनु छ, जिहादीहरूलाई भगाउनु छ)।’
मुसलमानलाई सफाया गर्न आह्वान गरिएको उत्तराखण्डको पहिलो शहर होइन पुरोला न त यो अन्तिम नै हो। कम्तीमा अरू तीन वटा शहरबाट पनि मुसलमानलाई लखेट्ने प्रयास गरिएको छ। ती हुन् – घन्साली, अगस्त्यमुनि र सतपुली। पुरोलाबाट धेरै मुसलमान परिवारलाई बाध्यतावश बसाइँ सर्न बाध्य पार्न सफल भएपछि स्थानीय हिन्दूत्ववादी संगठनहरू बर्कोट, उत्तरकाशी र हल्द्वानीबाट पनि त्यसैगरी लखेट्न लागिपरेका छन्।
कतिसम्म भने उत्तराखण्डका भाजपाका नेता यशपाल बेनाम समेत आफ्नी छोरीको विवाह रद्द गर्न बाध्य भए। उनले मुसलमान युवकसँग छोरीको विवाह गराइदिन थालेको खुलासा भएपछि तीव्र विरोध भयो। उनलाई बहिष्कार गर्ने आह्वान नै भएपछि उनले विवाह रद्द गरे। देवभूमि रक्षा अभियानका दर्शन भारतीले त घोषणा नै गरे– “हामी ‘लभ जिहाद’ र भूमि जिहाद’ को शिकार भएका छौं। पौडी गढवालका अध्यक्षले भने आफ्नी छोरीको विवाह मुसलमानसँग गराइदिंदै छन्। धिक्कार छ।”
०००
मुख्यमन्त्री धामीले बारम्बार चेतावनी दिने अर्को विषय हो, ‘भूमि जिहाद’। कुनै गैरमुसलमानले सरकारी भूमिमा बस्यो, खेती गर्यो वा त्यसमा पसल चलायो भने अतिक्रमण गरेको भनेर सामान्य रूपमा लिइन्छ। तर कुनै मुसलमानले त्यही काम गर्यो भने भाष्य नै फरक पर्छ। त्यसलाई धार्मिक षड्यन्त्र जिहादका रूपमा लिइन्छ।
यही वर्षको अप्रिलमा हरिद्वारमा आयोजित विश्व हिन्दू परिषद्को सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री धामीले आफ्नो आरोप दोहोर्याएका थिए। “उत्तराखण्डमा भूमि जिहादका नाममा हुने अवैध भूमि अतिक्रमणलाई ढिम्किन पनि दिइनेछैन।” उनको दाबी थियो– “एउटा निश्चित समुदायले सीमा क्षेत्रमा अवैध तरीकाले भूमि अतिक्रमण गरेको थियो, ती सबै हटाइएको छ।”
उत्तराखण्ड प्रशासनले ‘भूमि जिहाद’ विरुद्ध चलाएको यो अभियानले खासगरी वन गुज्जरहरूलाई क्षति पुर्याइरहेछ। वन गुज्जर जंगल जंगल डुलिहिंड्ने आदिवासी समुदाय हो। मुसलमान भएकैले वर्तमान सत्ताले उनीहरूलाई नकारात्मक दृष्टिले हेर्छ। पहाडी राजमार्ग जस्ता ठूला ‘विकास’ परियोजना वा निजी क्षेत्रलाई दिने नाममा यो समुदाय वर्षौंदेखि बसोबास गर्दै आएको क्षेत्र र घुमफिर गर्ने भूमि अहिले राज्य सरकारले खोसिरहेछ।
जानेदेखि अहिलेसम्म उनीहरू आफ्ना बस्तुभाउ लिएर राज्यको उपल्लो थलोमा घुमफिर गर्ने गरेका थिए। तीमध्ये केही भने खेतीपातीमा लागेकाले अर्धस्थायी बसोबास गर्छन्। अहिले उनीहरूलाई एकाएक अवैध मानिएको छ। जंगल अतिक्रमण गरेको आरोप लगाइएको छ। तिनीहरूका ससाना बस्ती उजाडिएको छ। माटोका चिहानहरू नष्ट गरिएका छन्। उनीहरू हताश छन्। त्यसै त उनीहरूको अस्तित्व सदा संकटमा थियो, अहिले सधैंभन्दा बढी संकट सामना गरिरहेछन्। त्यसको साटो राज्यले उनीहरूको बसाइँसराइ गर्ने मार्ग, परम्परागत जाति, जंगलको बसोबास र परिवर्तन भइरहने खेतीपाती गर्ने ठाउँको नक्शांकन गर्न सक्थ्यो।
राज्य प्रशासनले सरकारी र वनको भूमिमा खडा गरिएका धार्मिक संरचना पनि हटाउने घोषणा गरेको छ। ती धार्मिक संरचनामध्ये धेरैजसो मुसलमान सन्तका मजार र सन्तका ससाना दरगाह छन् (यी दुवै स्थल मुसलमान सन्तका चिहान वा स्मारक हुन्)। भाजपाका प्रवक्ता मनवीर सिंहले यस्ता संरचनाहरू बढीजसो कंग्रेसको शासनमा बनेको आरोप लगाएका छन्। मुख्यमन्त्री धामीले त यिनमा पनि जिहाद नै देख्छन् जसलाई उनले नाम दिएका छन् – मजार जिहाद। अर्थात्, मजारहरू पनि मुसलमानको षड्यन्त्रकै हिस्सा हुन्। राष्ट्रिय स्वयंसेवक संघसँग निकट साप्ताहिक पत्रिका पाञ्चजन्यसँगको अन्तर्वार्तामा मुख्यमन्त्री धामीले एक हजारभन्दा बढी मजार जंगलको जमीनमा बनाइएको र त्यो पनि ‘मजार जिहाद’ को हिस्सा भएको दाबी गरेका छन्।
मुख्यमन्त्रीको घोषणापछि प्रशासनले अधिकांश मजार नष्ट गरेको छ। सयौं वर्ष पुराना यी मजार स्थानीय मुसलमान र थुप्रै हिन्दूको पनि पवित्र स्थल हो भन्ने ख्याल नै गरिएको छैन। क्याराभानका संवाददाताले लेखे अनुसार ‘थप्ली बाबा की मजार’ १५० वर्षभन्दा पनि पुरानो मानिन्थ्यो। उक्त मजारको रेखदेख गर्नेहरूले बताए अनुसार त्यहाँ राखिएको शवका अवशेष जम्मा गर्ने मौका पनि नदिईकन ध्वस्त पारियो। मजारका अधिकांश तीर्थालु हिन्दू हुन्। जंगलमा बनाइएका भनेर भत्काइएका मजारमध्ये वन गुज्जरका ससाना चिहान पनि थिए। त्यसो त जंगलमा हिन्दूका मन्दिर पनि थिए तर ती जिहाद वा अन्य षड्यन्त्रभित्र पर्दैनथे।
“यो नयाँ उत्तराखण्ड हो,” मुख्यमन्त्री धामीले घोषणा गरेका छन्, “हामीले यो देवभूमिमा भूमि जिहाद हुन दिनेछैनौं। उत्तराखण्डका हरेक अवैध मजारहरू हामीले नष्ट गर्नेछौं .... कसैलाई पनि यहाँको भूमि अतिक्रमण गर्ने सोच्न पनि दिनेछैनौं।”
मुख्यमन्त्रीले बारम्बार आफ्नो सरकार भूमि जिहाद विरुद्ध प्रतिबद्ध रहेको घोषणा गरिरहँदा द वायरले सूचनाको हक प्रयोग गरेर सोधेका प्रश्नमा आधिकारिक जवाफ भने यस्तो छः
के उत्तराखण्डको सरकारले विक्रेता र क्रेताको धर्मका आधारमा जमीनको क्रय-बिक्री भएको तथ्यांक राखेको छ?
‘छैन,’ सरकारी जवाफ छ।
उत्तराखण्डको सरकारले ‘भूमि जिहाद’ शब्दलाई कसरी परिभाषित गर्छ?
‘सूचना अनुपलब्ध।’
जेजसरी परिभाषित गरिएको भए पनि उत्तराखण्डमा पछिल्ला पाँच वर्षमा कति वटा ‘भूमि जिहाद’ का घटनाको उजुरी परेको छ?
‘सूचना अनुपलब्ध।’
कृपया राज्यमा भएका ‘भूमि जिहाद’ का घटनाहरूको जिल्लागत र वर्षगत तथ्यांक उपलब्ध गराइदिनुहोस्।
‘सूचना अनुपलब्ध।’
‘भूमि जिहाद’ मा संलग्नलाई कस्तो कानूनी कारबाही गरिएको छ?
‘सूचना अनुपलब्ध।’
०००
नरसंहारलाई नै उत्प्रेरित गर्ने गरी घृणा फैलाउने भाषणबाजी हुने धार्मिक सभा जारी छन्। उदाहरणका लागि २० अप्रिलमा चक्रातामा ‘धर्म सभा’ आयोजना गरियो जसमा कट्टरपन्थी हिन्दूत्ववादी संगठन रुद्र सेनाका संस्थापक राकेश तोमर उत्तराखंडीले भने, “हामी यहाँ जिहादीहरूलाई चेतावनी दिन जम्मा भएका छौं ... तिमीहरूले जिहाद मन पराउँछौ, भूमि जिहाद ... के तिमीहरूलाई हामी चूप लागेर बस्छौं भन्ने लाग्छ?”
अर्का कट्टरपन्थी प्रबोधानन्दले त मुसलमानलाई आर्थिक रूपमा बहिष्कार गर्ने आह्वान नै गरे। “उत्तराखण्डको व्यापार हाम्रो हातमा छैन,” द क्विन्टका अनुसार उनको दाबी छ, “एउटा कश्मीरी संगठन .... एउटा आतंककारीले चार धामयात्राको ठेक्का कब्जा गरेको छ ... केहीको सैलुन छ, अरूको फूल पसल छ र अरूहरूले होटल खोलेका छन्। र, तपाईंहरूलाई थाहै छ, उनीहरूले खानामा पिसाब गर्छन्, थुक्छन्। उनीहरूको जिहादको हिस्सा हो त्यो।”
धेरै गाउँ र शहरमा मुसलमानको पसल र ससाना व्यवसाय बहिष्कार गर्न आह्वान गरिएको छ। मुसलमानले ससाना व्यवसायमा गरेको प्रगतिलाई व्यापार जिहाद भनेर अर्को एउटा जिहादका रूपमा प्रचार गरिएको छ। मुसलमानलाई व्यापार वा बसोबासका लागि आफ्नो घर भाडामा नदिन हिन्दूलाई उर्दी जारी गरिएको छ।
अर्की दक्षिणपन्थी कार्यकर्ता राधा सेमवाल धोनीले पनि मुसलमान व्यापारीलाई बहिष्कार गर्न आह्वान गरेकी छिन्। “तिमीहरू यहाँ किन आएका छौ?” उनी जान्न चाहन्छिन्, “आफूले थुकेको तरकारी हामीलाई बेच्न चाहन्छौ?”
पुरोलाका भाजपाका सांसद दुर्गेश्वर लालले निष्कर्ष नै निकालेका छन्, “ठूलो षड्यन्त्र बनाइएको छ... मुसलमान व्यापारीहरूलाई भरथेग गर्ने अनेकौं एजेन्सी छन् ... यहाँका मान्छेले तीन हजार, पाँच हजार तिर्न सक्दैनन् तर यहाँ फेन्सी पसल खोल्नेहरूले २०–२५ हजार तिर्न सक्छन्। उनीहरूलाई व्यापार गर्न दिन हुँदैन। उनीहरूले हाम्रा छोरी, जमीन र व्यवसायमा आँखा लगाएका छन्। उत्तराखण्डका हरेक जिम्मेवार नागरिकलाई हामी तिनीहरूलाई बहिष्कार गर्न आह्वान गर्छौं।”
प्रबोधानन्दले संवाददातासँग गर्वका साथ भनेका थिए, “कांगडी गाउँमा एक जना पनि मुसलमान छैनन्। तपाईंहरूलाई अचम्म लाग्न सक्छ, उनीहरूले बालाजी धाम अगाडि महीनाको दुई हजार तिर्ने गरी एउटा नाई पसल खोलेका छन् ... यो थाहा पाएपछि, मैले त्यो पसलवालालाई दुई घण्टामा पसल खाली गर्ने भए गर नभए मैले लखेट्नेछु भनें।”
यसको अर्थ सिंगो राज्यका हिन्दू धर्मावलम्बी मुसलमानलाई बहिष्कार गर्ने र लखेट्ने अभियानमा एकबद्ध छन् भन्ने होइन। सतपुली, घन्साली र अगस्त्यमुनीबाट मुसलमानलाई लखेट्न आह्वान गरिए पनि ती ठाउँबाट मुसलमान बसाइँ सरेको कुनै तथ्यांक छैन। पुरोला छोडेका कतिपय मुसलमान परिवार पनि फर्केका छन्।
मुख्यमन्त्रीले ‘भूमि जिहाद’ विरुद्ध लड्न जिल्ला तहमा कमिटी घोषणा गरे पनि खासै त्यस्तो केही भएको छैन। एक स्थानीय कार्यकर्ता भन्छन्, “संघको रणनीति भनेको भए जति सबै पर्खालमा फाल्ने र के अडिन्छ भनेर हेर्ने हो। जे अडिन्छ त्यसैमा अरू जे जे थप्न सकिन्छ थप्ने हो। कसैले विरोध गरे पछि हट्ने अनि फेरि प्रयास गर्ने हो।”
मुख्यमन्त्रीले नै नेतृत्व गरेकाले पक्कै पनि दण्डहीनता छ तर त्यसो हुँदैमा उनीहरू सफल हुन्छन् भन्ने छैन।
फेरि पनि बार्कोटमा मुसलमानको पसलमा कालो रङको क्रस बनाइएको छ। एक स्थानीय मुसलमानले क्याराभानका संवाददातालाई भनेका थिए, “मैले हिटलरको इतिहास पढेको छु। उनीहरूले यसैगरी यहुदीहरूलाई चिनो लगाउँथे। यो त्यही रणनीति हो। यसरी उनीहरूले हामी यहाँ छौं भनेर चिनाइरहेछन्।”
उत्तराखण्डको यात्राका क्रममा थुप्रै मुसलमानले मसँग आफूहरूलाई अनेकौं षड्यन्त्र गरेको लाञ्छना लगाइएकोमा दुःख व्यक्त गरे। “पहिले कहिल्यै नसुनिएका देवभूमि, लभ जिहाद, भूमि जिहाद जस्ता शब्द हामी विरुद्ध प्रयोग भइरहेछ,” तीमध्ये एकले भने।
तर यी भन्दा पनि अपमानजनक र घिनलाग्दो आरोप पनि छ। त्यो हो, ‘मुसलमानहरू गाईलाई बलात्कार गर्छन्।’ मानौं, उनीहरूले मुसलमानलाई भनिरहेछन्ः महिलाहरू हाम्रा सम्पत्ति हुन्, तिमीहरूले लभ जिहाद मार्फत उनीहरूलाई चोरिरहेछौं। गाईहरू हाम्रा माता हुन्, तिमीहरूले तिनीहरूलाई बलात्कार गरिरहेछौ।
यस्तो भएको छ। गत जूनको शुरूतिर नजिकैका एक मुसलमान सिकर्मी मोहम्मद नाफिज आफूले लिनुपर्ने पैसा लिन हल्द्वानी नजिकैका साहुको ढोका ढकढकाए। उनलाई तिर्नुपर्ने पैसा तिर्नुको साटो साहुले उल्टै नाफिजले गाईलाई बलात्कार गरेको आरोप लगाए। तुरुन्तै भीड जम्मा भयो। उनको शिर मुण्डन गरियो। अनुहारमा कालो मोसो लगाइयो र निकै क्रूरतापूर्वक कुटपिट गरियो। प्रहरीले नाफिजलाई पक्राउ गर्यो। संघ–भाजपा निकट अर्गनाइजर र अपइन्डिया जस्ता सञ्चारमाध्यमले उनको निन्दा गर्दै समाचार प्रकाशन गरे, मानौं उनलाई लगाइएको आरोप प्रमाणित भइसकेको थियो।
अर्गनाइजरले त शीर्षक नै यस्तो राखेको थियो– ‘मुसलमानले गौमाता बलात्कार गर्ने प्रयास गर्यो, हिन्दूले उसको शिर मुण्डन गरे।’ उक्त समाचारमा गाईमाथि यस्तो हिंसा आमरूपमा भइरहेको दाबी गर्दै यस्ता आपराधिक कर्मका विरुद्ध कडा कानूनको माग गरिएको छ।
पछि गाईको मेडिकल जाँच गरियो र उनीमाथि कुनै यौनजन्य हिंसा नभएको पुष्टि भयो। प्रहरीले नाफिजलाई रिहा गर्यो तर उनीमाथि झूटो आरोप लगाउने र उनलाई झन्डै मृत्युको मुखमा पुग्ने गरी कुटपिट गर्नेहरू कसैलाई पनि कारबाही भएन। मैले अर्गनाइजर र अपइन्डिया दुवैमा आफूले पहिला प्रकाशन गरेको समाचार हटाएर माफी मागेको पनि भेटिनँ।
०००
सिंगो उत्तराखण्डमा मुसलमानहरू आफ्नो भविष्यबारे चिन्तित छन्।
मुसलमानलाई उत्तराखण्ड छोड्न उर्दी जारी गरिएको र कतिपयले हिंसा पनि भोगेकाले उनीहरू स्थानीय प्रहरीले आफूलाई हिंसाबाट जोगाउँछन् भन्ने विश्वास गर्दैनन्। न्यूजक्लिकका संवाददाताले लेखे जस्तै उनीहरू चूपचाप आफ्नो घर र जमीन छोडेर हिंडिरहेछन्। त्यो उनीहरू जन्मेहुर्केको, पढेलेखेको, खेलेको र परिवार बनाएको ठाउँ हो।
कतिपयले भने प्रतिरोध गरिरहेछन्। जोसुकै भए पनि आफूलाई मातृभूमिबाट हटाउन नदिने वाचा गरेका छन्। “उनीहरू हामीलाई कहाँ लखेट्छन्?” एकजना प्रतिरोधी मुसलमान भन्छन्, “आज उनीहरू उत्तराखण्डबाट लखेट्लान्, भोलि त भारतबाटै लखेट्नेछन्।”
जेजस्तो धम्की आए पनि पुरोलामै बस्ने निधो गरेकामध्ये एक मोहम्मद असरफ हुन्। तर त्यति सजिलो छैन। ग्रीष्म ऋतुको एक रात आफ्नै छिमेकीले धम्की दिएको उनी बिर्सन सक्दैनन्। “म त्यति वेला निकै डराएको थिएँ, मेरा केटाकेटी रोइरहेका थिए,” उनी भन्छन्।
त्यति हुँदा पनि उनले क्याराभानका संवाददातालाई सोधेका थिए, “मैले किन छोड्ने त? मेरो जेजति छ, यहीं छ। यो मेरो घर हो। म यहाँबाट कहाँ जाऊँ? मेरो जन्मभूमि पनि यही हो, कर्मभूमि पनि यही हो। मलाई कात्रोमा बाँधेर लैजाँदा मात्र यो ठाउँ छोड्छु म। उनीहरूले मेरो घर-पसल जलाए पनि मलाई मारे पनि म यहीं बस्छु।”
तर स्थिति त्यति सहज छैन। उत्तराखण्डमा बस्न उनले धेरै थोकमा सम्झौता गर्नुपर्यो। शहरमा एउटा पनि मस्जिद छैन त्यसैले मानिसहरू शुक्रबारको प्रार्थना गर्न र इदमा उनको छतमा जम्मा हुने गर्थे। तर हिन्दू बासिन्दाले सबडिभिजनल मेजिस्ट्रेटसँग ‘शान्ति वार्ता’ को माग गरेर उनलाई त्यो सामूहिक प्रार्थना बन्द गर्न लगाए।
असरफले त्यो सबै स्वीकार गरे। अहिले मुसलमान आफ्नै घरमा ढोका बन्द गरेर गोप्य रूपमा एक्लै प्रार्थना गर्छन्।
बर्कोट छोड्ने पीडादायी निर्णय गरेका एक जनाले आफ्नो दुःख सुनाए, “त्यो ठाउँ नछोडेका मेरो भाइ भन्छ, उसका केटाकेटी पार्कमा खेल्न जाँदा अरू अभिभावकले आफ्ना सन्तानलाई बोलाउँछन्। उसलाई मानिसहरूले ‘तिमी कहिले जान्छौ’ भनेर सोध्छन्। त्यस्तो ठाउँमा हामी कसरी बस्न सक्छौं? यस्तो लाग्छ, सबैजना मरिसकेका छन्। हामीलाई त्यहाँ घृणा गरिन्छ।”
उनी बर्कोटमै जन्मेका थिए। जीवनका अधिकांश वर्ष उनले त्यहीं बिताए। उनका घनिष्ठ साथीहरू हिन्दू नै थिए। अहिले सम्झिँदा पनि मुटु च्वास्स दुख्छ। कुनै साथीले पनि उसलाई एक पटक पनि कहाँ कसरी जाँदै छस् भनेर सोधेनन्।
कसैले पनि नजाऊ, फर्क भनेनन्।
लेखक मंदर विस्तृत अनुसन्धान र सल्लाहका लागि उमर खान र बद्रे आलमप्रति अनुगृहीत छन्।
(भारतीय लेखक, स्तम्भकार, अनुसन्धाता, शिक्षक र सामाजिक अभियन्ता हर्ष मंदर दिल्लीस्थित अनुसन्धान केन्द्र ‘सेन्टर फर इक्विटी स्टडीज’ का निर्देशक हुन्। धार्मिक र साम्प्रदायिक हिंसाका पीडितको ऐक्यबद्धताका लागि ‘कारवां–ए–मोहम्बत’ अभियान शुरू गरेको उनले भारतको सर्वोच्च अदालतमा विशेष आयुक्तका रूपमा पनि काम गरिसकेका छन्। कात्तिक १७ गते स्क्रोलडटइनमा प्रकाशित यो लेखको नेपाली अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)