जाजरकोट र रुकुममा घर-टहरा बनाउन कांग्रेसले श्रमदान गर्ने
जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी घर-टहरा बनाउन नेपाली कांग्रेसले श्रमदान गर्ने भएको छ।
कांग्रेस पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृसंस्थाको बैठकले भूकम्पपीडितका लागि अस्थायी घर-टहरा बनाउन जाजरकोट र रुकुम पश्चिममा श्रमदान गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख मीन विश्वकर्माले बताए। कांग्रेस महामन्त्री गगन थापाको सभापतित्वमा बसेको बैठकले यसका लागि १०-१० जनाको १३ टोली खटाउने निर्णय गरेको छ।
अस्थायी घर-टहरा निर्माण गर्न जाने टोलीमा एक निर्माणविज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने जनाइएको छ। पहिलो चरणमा १३० जनाको १३ समूह खटिनेछन्। यसरी खटिएका टोलीले एक सातासम्म काम गर्नेछन्।
पहिलो चरणको टोली फर्किएपछि दोस्रो चरणमा अर्को टोली खटिने विश्वकर्माले बताए। दोस्रो चरणमा पनि १३० जना रहेको १३ समूह खटिनेछन्।
श्रमदानमा खटिएको टोलीसँगै सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर पनि सञ्चालन गरिने भएको छ। यसमा प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सक खटिने भएका छन्।
त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सुञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रूपमा काम गर्ने भएको छ। यसमा नेपाल विद्यार्थी संघले आफ्नै खर्चमा चार वटा अस्थायी विद्यालय र दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने निर्णय गरिएको छ।
यसरी भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर-टहरा बनाउन श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम, कर्तव्य र कार्यक्षेत्रबारे कार्यविधि पनि बैठकले पारित गरेको छ।