करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउँदै सर्वसाधारण
करेन्ट लगाएर माछा मार्ने क्रममा गण्डकी प्रदेशमा मात्रै चार वर्षमा १६ जनाले ज्यान गुमाएका छन्।
करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार पोखरामा एक दम्पतीले ज्यान गुमाए। पोखरा महानगरपालिका-२१, पट्नेरी खेतमा पानी लैजाने कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ४६ वर्षीय भीमलाल सुनार र ४५ वर्षीया सावित्री सुनारको मृत्यु भएको हो।
मुस्ताङ घर भई पोखरामा डेरामा बस्दै आएका सुनार दम्पतीले विद्युतीय धार अर्थात् करेन्ट प्रयोग गरी माछा मार्न खोजेका थिए। माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
करेन्ट लगाएर माछा मार्नु गैरकानूनी कार्य हो। तर खोला, कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन। यसरी माछा मार्ने क्रममा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ।
गण्डकीमा पछिल्लो चार वर्षमा करेन्ट लगाएर माछा मार्ने क्रममा १६ जनाको ज्यान गएको छ। हालसम्म करेन्टको प्रयोग गरेर माछा मारेका १३ जनालाई प्रहरीले पक्राउ पनि गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बुद्धिराज गुरुङले बताए। करेन्ट लगाएर माछा मार्नु गैरकानूनी भए पनि यस क्षेत्रमा लुकिछिपी यस्ता गतिविधि भइरहेको गुरुङको भनाइ छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा मात्र पर्वत, स्याङजा, तनहुँ र कास्की गरी पाँच जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०७९/८० मा नवलपरासी पूर्व र स्याङ्जामा दुई जनाले ज्यान गुमाएका थिए।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा नवलपरासी पूर्वमा मात्रै माछा मार्ने क्रममा करेन्ट लागेर सात जनाको ज्यान गएको थियो। आर्थिक वर्ष २०७७/७८ मा स्याङजा, तनहुँमा एक-एक जनाको मृत्यु भएको थियो।
जलचर संरक्षण ऐन, २०१७ ले यस्ता गतिविधि गरेको भेटिएमा ६ महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै व्यक्तिले सार्वजनिक जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी जलको आसपासमा विद्युतीय धार प्रवाह (करेन्ट) वा विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न पाइँदैन। यदि कोही कसैले यो कानून उल्लंघन गरेमा वा दुरुत्साहन गरेमा स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानि-नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति गराई ६ महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’