जाजरकोटमा चिसोका कारण एक महीने शिशुको ज्यान गयो
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जाजरकोटको भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महीनाकी छोरी निरुताको चिसोले ज्यान गएको छ।
भेरी-२ का पूर्व वडाध्यक्ष कालीबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।
चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन्।
भूकम्पबाट २६ हजार ५५७ निजी घरमा पूर्ण रूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ। -रासस