नक्कली शरणार्थी प्रकरण : आजदेखि निरन्तर सुनुवाइ
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने सम्बन्धी मुद्दाको मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत प्रतिवादी रहेको मुद्दाको उच्च अदालत, पाटनमा सुनुवाइ हुने भएको हो।
जिल्ला अदालत, काठमाडौंले अभियुक्तहरूलाई असार १ गते थुनामा पठाउने आदेश दिएको थियो। त्यस विरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।
नेकपा (एमाले)का सांसद समेत रहेका पूर्व उपप्रधानमन्त्री रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका निजी सहायक नरेन्द्र केसी, रामशरण केसी, पूर्व सांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पक्राउ परेका थिए।
यो प्रकरणका अभियुक्तहरू रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज राई लगायत १५ जनालाई प्रहरीले पक्राउ गर्न सकेकोे छैन।
शरणार्थी प्रकरणका प्रतिवादीहरू विरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी अभियोग लागेको छ।