यमन विरुद्ध भिड्दै नेपाल
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपाल र यमनबीच खेल हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। नेपाल र यमन यसअघि चार पटक आमनेसामने भइसकेका छन्। सन् २००० मा भएको एशियन कपको छनोट खेलमा नेपाल यमनसँग ३-० गोलअन्तरले पराजित भएको थियो।
यस्तै, सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले २-० को हार बेहोरेको थियो। त्यसपछि सन् २०१७ को एशियन कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो। यो नै नेपालले यमन विरुद्ध निकालेको अहिलेसम्मको राम्रो नतीजा हो।
नेपाल र यमनबीचको पछिल्लो खेल सन् २०१८ मा खेलिएको थियो। एशियन कपकै उक्त छनोट खेलमा नेपाल २-१ ले पराजित भएको थियो।
नेपाल र यमन दुवैका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ। जित हात पारेमा दुवै टोलीले समूहको अंकतालिकामा खाता खोल्ने अवसर पाउनेछन्। यसअघि नेपालले पहिलो खेलमा यूएई विरुद्ध हार बेहोरेको थियो भने यमनले बहराइनसँग।
नेपालका मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेस र कप्तान किरण लिम्बूले सोमबार ‘प्रि-म्याच कन्फरेन्स’ मा घरेलु मैदान र दर्शकको साथले नयाँ इतिहास रच्न सहज हुने बताएका थिए।
फिफा वरीयतामा नेपाल १७३औं स्थानमा छ भने यमन १५६औं स्थानमा छ।