माइतीघर मण्डलमा युवा संघ र दुर्गा प्रसाईंले प्रदर्शन गर्न नपाउने
स्थानीय प्रशासनले युवा संघ नेपाल र अभियन्ता दुर्गा प्रसाईंलाई मंसीर ७ गते काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नदिने भएको छ।
दुवै पक्षसँगको छलफलपछि आफूहरू यो निष्कर्षमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले जानकारी दिए। “उहाँहरूले कार्यक्रमस्थल माइतीघर भन्नुभएको छ तर त्यहाँका लागि अनुमति दिन नसकिने कुरा दुवै पक्षलाई भनिसकेका छौं,” प्रजिअ बस्नेतले हिमालखबरसँग भने।
१७ वर्षअघि गौरमा भए जस्तो घटना काठमाडौंमा नहोस् भनेर माइतीघरमा प्रदर्शन निषेध गर्न लागेको जनाइएको छ। २०६३ चैतमा नेकपा (माओवादी) र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमले रौतहटको गौरमा एउटै स्थानमा कार्यक्रम गर्दा झडप भएको थियो। झडपमा २८ जनाको ज्यान गएको थियो।