नेपाललाई नयाँ इतिहास बनाउने अवसर
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत मंगलबार नेपालले यमनसँग प्रतिस्पर्धा गर्दै छ।
यमन विरुद्धको यो खेल नेपालका लागि नयाँ इतिहास बनाउने अवसर समेत हुनेछ। किनकि यसअघि चार पटक आमनेसामने भए पनि नेपालले यमनलाई हराउन सकेको छैन। फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ।
सन् २०१७ मा घरेलु मैदानमै भएको एएफसी कपको छनोट खेलमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो। यो नै नेपालले यमन विरुद्ध निकालेको अहिलेसम्मको राम्रो नतीजा हो।
सोमबार काठमाडौंमा भएको ‘प्रि-म्याच कन्फ्रेन्स’ मा नेपालका मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेस र कप्तान किरण लिम्बूले नयाँ इतिहास रच्न खेल्ने बताए। घरेलु मैदान र दर्शकको साथले नयाँ इतिहास रच्न सहज हुने उनीहरूको विश्वास थियो।
नेपाल र यमन दुवैका लागि मंगलबारको खेल जितेमा आफ्नो समूहको अंकतालिकामा खाता खोल्ने अवसर हुनेछ। यमनले घरेलु मैदानमा बहराइनसँग हार बेहोरेको छ भने नेपालले यूएईसँग।
सन् २०१७ मा गोलरहित बराबरी खेल्नुअघि नेपाल सन् २००० मा भएको एशियन कपको छनोट खेलमा यमनसँग ३-०, सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-०, एशियन कप छनोट अन्तर्गत नै सन् २०१८ मा दोहामा भएको खेलमा २-१ गोलअन्तरले पराजित भएको थियो। यस तथ्यले यमनको आत्मविश्वास बढाएको छ।
नेपालका मुख्य प्रशिक्षक एनेस घरेलु मैदान र दर्शकको साथले यमनलाई हराउनेमा आशा व्यक्त गरे। उनले नेपाली समर्थक र खेलाडीलाई आशा दिलाउन पनि यो खेल जित्नुपर्ने बताए। खेल जित्न आफ्नो टोलीले बलियो रणनीति बनाएको उनको भनाइ थियो। “हामी यमनलाई हराएर अंक जोड्न चाहन्छौं, यो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छ,” एनेसले भने।
कप्तान किरण लिम्बूले आगामी खेलहरूमा अझ राम्रो प्रदर्शन गर्न पनि यमन विरुद्धको खेल महत्त्वपूर्ण हुने बताए। चुनौती भए पनि घरेलु मैदान र दर्शकको साथ भएकाले खेल जित्न सहज रहेको उनको भनाइ थियो। यूएई विरुद्धको हारलाई बिर्सेर अघि बढ्नुपर्ने बताउँदै कप्तान लिम्बूले भने, “यहाँबाट अघि बढ्न यो खेल महत्त्वपूर्ण रहेकाले हामीले जित्नुपर्छ।”
घरेलु मैदानमै बहराइनसँग हार बेहोरेकाले नेपालसँगको खेल यमनका लागि पनि महत्त्वपूर्ण छ। यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले नेपालसँग जित्नै पर्ने दबाबमा खेल्ने बताए। आफ्नो समूहमा यूएई र बहराइन जस्ता बलिया टोली भएकाले पनि नेपालसँगको खेल जित्नै पर्ने दबाब रहेको उनको भनाइ थियो। “नेपालसँगको खेल सहज छैन तर हाम्रो टोलीले राम्रो प्रदर्शन गर्छ भन्नेमा विश्वास छ,” उनले भने।
पछिल्लो समय यमनका खेलाडी बहराइन लगायत विदेशी लिगमा खेल्न थालेका छन्। साउकुपले आफ्ना खेलाडीले राम्रो लिग खेलेकाले यमनको टोली शारीरिक र प्राविधिक रूपमा राम्रो रहेको दाबी गरे। “राम्रो लिग खेलेकाले हामी तुलनात्मक रूपमा अघि छौं तर नेपाललाई कमजोर प्रतिद्वन्द्वी मान्दैनौं,” उनले भने।
पहिलो चरणको छनोट खेल्नुअघि एशियाली वरीयतामा पछि रहेको नेपालले दुई वटा लेगको प्रारम्भिक चरणको छनोट खेल्नुपरेको थियो। लाओस विरुद्ध दुई लेगको खेलमा २-१ गोलअन्तरले जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको पहिलो खेलमा यूएईसँग पराजित भएको थियो।
यूएई विरुद्धको खेल नेपालका सेन्टरब्याक अनन्त तामाङले चोटका कारण गुमाएका थिए। यस्तै, मिडफिल्डर लकेन लिम्बूले चोटका कारण पहिलो हाफमा मैदान छाडेका थिए।
अहिलेसम्म प्रशिक्षक एनेसले ‘प्लेइङ-११’ सार्वजनिक गरेका छैनन्। अघिल्लो खेलमा यूएई विरुद्ध खेल्ने टोलीमा तीन नयाँ अनुहार समावेश थिए। तीमध्ये दुई सहित यूएई विरुद्ध तीन खेलाडीले डेब्यू गरे। राष्ट्रिय टीमका पाँच खेलाडीले डेब्यु गर्न अझै बाँकी छ। “चोटका कारण लकेन यमन विरुद्धको खेलमा हुनेछैनन्, अनन्तबारे मेडिकल टीमसँग छलफल गरेर निर्णय गर्नेछौं,” प्रशिक्षक एनेसले भने।
पछिल्लो समय खेलाडी विदेश पलायन हुने समस्या बढ्दा राष्ट्रिय टोलीमा अनुभवी खेलाडी कम हुँदै गएका छन्। अहिले कप्तान किरणसँगै रोहित चन्द र अन्जन विष्ट मात्रै अनुभवी खेलाडी छन्। अनुभवी खेलाडी हुँदा फाइदा पुग्ने भए पनि खेलाडी पलायन भएकाले नयाँ खेलाडीले खेल्नुपर्ने बाध्यता रहेको कप्तान लिम्बूले बताए। “विकल्प धेरै छैन, नयाँ आउने खेलाडीले पनि राम्रो गरिरहेका छन्,” लिम्बूले भने।
जब घरेलु मैदानमा प्रतिस्पर्धा हुन्छ, कप्तान र प्रशिक्षक घरेलु दर्शकको प्रशंसा गर्न छुटाउँदैनन्। कप्तान लिम्बूले पनि घरेलु दर्शकअघि खेल्न सहज हुने बताए। “हाम्रा लागि दर्शक सधैं १२औं खेलाडी हो, यसअघिको खेलमा झैं धेरै दर्शकको अपेक्षा गरेका छौं,” उनले भने।
नेपाल र यमनको खेल मंसीर ५ गते बेलुकी ७ बजे सञ्चालन हुनेछ। दर्शकको सुविधाका लागि एन्फाले बसको व्यवस्था गरेको छ। त्यसका लागि दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ।