चितवन निकुञ्जमा मृत भेटियो पाटेबाघ
दुई वटा गैंडा मारिएको केही दिन नबित्दै चितवनमा पाटेबाघ मृत फेला परेको छ।
भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार पाटेबाघ मृत फेला परेको हो। अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
आपसमा जुधेर बाघ मरेको हुन सक्ने तिवारीको भनाइ छ। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमार्टमको तयारी गरेको छ।
सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन्। देशभरका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी बाघ यही निकुञ्जमा छन्।
पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु मृत भेटिन थालेका छन्। गत साता कात्तिक ३० मा दुई वटा गैंडा मृत भेटिएका थिए।