रुकुम जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु
रुकुम पश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सात वर्षीय प्रतीक बुढाको मृत्यु भएको छ। प्रतीक बुढाको उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले जानकारी दिए।
उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ। त्यसका लागि काठमाडौंबाट हेलिकोप्टर आउन लागेको र थप उपचारका लागि काठमाडौं पठाइने मेयर वादीले बताए।
आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी–८, गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो। जीपमा सवार चालक सहित २२ जना घाइते छन्।
मध्यपहाडी राजमार्ग अन्तर्गत गैरीजिउला सडकखण्डबाट जीप भेरी नदीमा खसेको थियो। चौरजहारी मिसन अस्पतालमा घाइतेको उपचार भइरहेको छ।
जीपमा क्षमताभन्दा बढी यात्रु चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ। –रासस