गैंडा मारिएको घटनाको अनुसन्धान गर्न छानबिन टोली चितवनमा
चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई वटा गैंडा मारेको घटनाको छानबिन शुरू गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले चितवन पुगेर स्थलगत छानबिन थालेको हो। उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थल पुगेर सूक्ष्म रूपमा अध्ययन गरिएको छ।
आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति लगायत सरोकारवालासँग छलफल गरिंदै छ। मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले बताए।
यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ। ढकालले भने, “हामी सूक्ष्म रूपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छौं।”
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत समेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे जानकारी छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गत शुक्रबार समिति बनाएको थियो।
समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानून अधिकृत र अनुसन्धान अधिकृत छन्।
आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषय समेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए। राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैंडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो।
बिहीबार गैंडा मृतावस्थामा भेटिएका थिए। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैंडा मरेको अन्दाजी तीन र १० दिनमा फेला परेका थिए। -रासस