‘विपिन जोशीको पछिल्लो अवस्थाबारे यकीन गर्न सकिएको छैन’
इजरायलस्थित नेपाली राजदूतावासले विपिन जोशीको पछिल्लो अवस्थाबारे यकीन गर्न नसकिएको जनाएको छ।
गत असोज २० गते दक्षिण इजरायलको किबुज-अलुमिममा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्ये जोशी पनि रहेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै दूतावासले उल्लेख गरेको छ।
जोशी हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जानकारी दिएको छ।
गत शनिबार जोशीका बुबाआमाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
भीमदत्त नगरपालिका-३ का विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनी सहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।