बलात्कार घटनामा मिलापत्र गराउने सात पक्राउ
मोरङको रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र गराउने सात जनालाई पक्राउ गरी शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार, गत २० असारमा शारीरिक रूपमा अशक्त १६ वर्षीया किशोरीलाई ३ युवाहरू मिलेर सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्नहरूलाई जोगाउन गाउँलेले क्षतिपूर्ति बापत रकम दिलाउने शर्तमा मिलापत्र गराएका थिए ।
मिलापत्र गराउनेहरू अभिनव बजगाई, दिलिम मुर्मु, सुभाष राजवंशी, रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम र चित्रशेन राजवंशीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहालका अनुसार, मिलापत्र गराउने थप तीन जनाको खोजी भइरहेको छ ।
यसअघि बलात्कारमा संलग्न रहेको आरोपमा स्थानीय २५ रोमन मगर (२५) र वर्षीय प्रिन्स अधिकारी (२४) लाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अर्का आरोपी सबिन चौधरी (२३) फरार रहेका छन् ।
सो घटनालाई गाउँमै मिलापत्र गराई लुकाइएको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । आमाले घर छाडेपछि बाबुले बेवास्ता गरेकाले आफन्तको घरमा बस्दै आएकी पीडित बालिकालाई सहिछाप गराएर २६ असारमा रु १ लाख ५० हजार दिने शर्तमा मिलापत्र गराइएको थियो ।