भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो विश्वकप
भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी पुरुष एकदिवसीय विश्वकप जितेको छ।
आइतबार भएको फाइनल खेलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौं पटक विश्वकप जितेको हो। भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाउँदै ४३ ओभरमा पूरा गरेको छ।
अस्ट्रेलियाको जितमा ओपनर ब्याटर ट्रभिस हेड नायक बने। उनले १२० बलमा १३७ रनको शतकीय पारी खेले। टीमलाई दुई रन आवश्यक हुँदा उनी क्याच आउट हुन पुगे।
हेडलाई मार्नस ल्याबुशेनले अर्धशतक बनाउँदै साथ दिएका थिए। उनले ११० बलमा ५८ रन बनाए।
अस्ट्रेलियाले आफ्नो तीन विकेट पहिलो पावरप्लेमै गुमाए पनि हेड र ल्याबुशेनले पारी सम्हालेका थिए। डेभिड वार्नर सात र मिचेल मार्स १५ रनमा आउट भएका थिए। यस्तै, चार रनमा खेल्दा स्टिभ स्मिथ एलबीडब्लू आउट भए। यद्यपि रिप्लेमा उनी आउट नभएको पाइएको थियो।
बलिङतर्फ भारतले शुरूमा प्रभावशाली प्रदर्शन गरे पनि बीचमा खेल अस्ट्रेलियाको पक्षमा गयो। जसप्रित बुमराहले दुई विकेट लिए। त्यस्तै, मोहम्मद शामी र मोहम्मद सिराजले एक-एक विकेट लिए।
अस्ट्रेलियाले बलिङ पनि राम्रो गरेको थियो। २४० रनमा भारत अलआउट भएको थियो। एक समय ८१ रनमा भारतले तीन विकेट गुमाएको थियो। विराट कोहली र केएल राहुलले पारी सम्हालेका थिए। कोहलीले ५४ तथा राहुलले ६६ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए।
त्यस्तै, सूर्यकुमार यादवले १८ तथा कुलदीप यादवले १० रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए। जोश हेजलवूड र कप्तान प्याट कमिन्सले दुई-दुई विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए।
अस्ट्रेलियाकाे यो छैटौं उपाधि हो। यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा अस्ट्रेलिया विश्वविजेता बनेको थियो।