गाजाको अल-शिफा अस्पताल ‘डेथ जोन’ बनेको विश्व स्वास्थ्य संगठनको घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्यालेस्टाइनको गाजा शहरको अल-शिफा अस्पताललाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) घोषणा गरेको छ।
अस्पतालको भ्रमणपछि डब्लूएचओले त्यस्तो घोषणा गरेको हो। इजरायली सेनाले अस्पताल कब्जा गरी त्यहाँबाट मानिस हटाएपछि डब्लूएचओको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघको संयुक्त समूहले निरीक्षण गरेको छ।
अस्पतालका निर्देशकका अनुसार इजरायली सेनाको आदेशमा अस्पतालमा रहेका मानिसलाई बाहिर पठाइएको छ। इजरायली सेनाले भने अस्पतालका निर्देशकको अनुरोधमा त्यसो गरिएको दाबी गरेको छ।
डब्लूएचओ र राष्ट्रसंघको टोलीले आफूहरूले अस्पतालभित्र गोलाबारीको निशान र ठूलो समूहमा मृतकहरू देखेको बताएको छ। अस्पतालमा अहिले पनि ३०० जना गम्भीर प्रकृतिका बिरामी रहेको जनाइएको छ।
डब्लूएचओले त्यहाँ बाँकी रहेका बिरामी र कर्मचारीलाई तुरुन्त बाहिरिने प्रबन्ध मिलाउन प्रयास गरिरहेको छ। यससँगै युद्धविरामका लागि पुनः अनुरोध गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले वाशिङटन पोस्टमा प्रकाशित समाचारबारे प्रतिक्रिया दिएको छ। समाचारमा इजरायल र हमास अमेरिकाको मध्यस्थतामा समझदारी निकट पुगेको, पाँच दिनका लागि युद्धविराम गरेर हमासले कब्जा गरेका महिला र बालबालिकालाई मुक्त गर्न तयार भएको उल्लेख गरिएको थियो। ह्वाइट हाउसका प्रवक्ताले त्यस्तो कुनै समझदारी नभएको तर त्यसका लागि प्रयास भइरहेको जनाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग पूर्ण युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन्। हमासले कब्जा गरेका सर्वसाधारणालाई फिर्ता गर्ने शर्तमा अल्पकालीन युद्धविरामबारे सोच्न सकिने उनले जनाएका छन्।
मंसीर २ मा मात्रै केही बिरामी सहित सयौं मानिसले अल-शिफा अस्पताल त्यागेका छन्। केही स्वास्थ्यकर्मीले आफूहरूलाई अस्पताल छोड्न भनिएको बताएका छन् तर इजरायलले त्यस्तो कुनै आदेश नदिएको दाबी गरेको छ।
अल-शिफा अस्पतालमा रहेका एक पत्रकारका अनुसार हिंडडुल गर्न नसक्ने बिरामी र साह्रै थोरै संख्यामा डाक्टरहरू मात्रै अस्पतालमा बाँकी छन्।
त्यस्तै, अरब न्यूजमा प्रकाशित समाचार अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालमा अवधि नपुगी जन्मिएका कम्तीमा ३० जना शिशुलाई पनि त्यहाँबाट निकालेर इजिप्टका अस्पतालमा पठाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मेधत अब्बासले मंसीर ३ मा उनीहरूलाई अस्पतालबाट पठाइएको जनाएका छन्।
(बीबीसी र अरब न्यूजको सहयोगमा)
यो पनि पढ्नुहोस्: गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल?