काठमाडौंमा मंसीर पहिलो साता अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
काठमाडौंको भृकुटीमण्डपमा मंसीर ५ देखि ९ गतेसम्म दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीका १८० स्टलमा देश-विदेशका प्रकाशनगृहका पुस्तक र विविध शैक्षिक सामग्री रहनेछन्। प्रदर्शनीमा दक्षिणएशियाली मुलुकका साथै चीन, अमेरिका, इजिप्ट सहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहने महासंघले जनाएको छ। पुस्तक आयात-निर्यात गर्ने चीनको पहिलो एजेन्सी चाइना इन्टरन्याशनल बूक ट्रेडिङ कर्पोरेशनलाई प्रदर्शनीमा विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
पुस्तकका साथै शैक्षिक सामग्रीको प्रदर्शनी हुने यो मेला नेपालका शैक्षिक संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवं आमपाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको संगमस्थल बन्ने अपेक्षा लिएको महासंघको भनाइ छ। साथै, प्रदर्शनीमा दक्षिणएशियाली क्षेत्रका राष्ट्रहरूको सहभागिता रहने भएकाले स्वदेशी-विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्ने विश्वास गरिएको छ। प्रदर्शनीमा १५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ।
२०६४ देखि २०७४ सालसम्ममा देशका विभिन्न शहरमा बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका आठ संस्करण गरेको महासंघले कोभिड महामारीका कारण केही वर्ष कार्यक्रम गर्न सकेको थिएन। महासंघमा देशभरका २० हजारभन्दा बढी व्यवसायी आबद्ध छन्।