सीमान्तीकरण झल्काउने उराँवका मिथक
राज्यसँगै भूमि, सम्पत्ति र अधिकार खोसिएको पीडा बताउने मिथककै जस्तो जीवन उराँवहरू बाँचिरहेछन्।
उराँवहरू नेपालका सीमान्तीकृत समुदाय मानिन्छन्। उनीहरू आर्थिक र शैक्षिक रूपमा निकै पिछडिएका छन्। राज्यका निकायमा पहुँच कमजोर छ। तापनि भाषा–संस्कृति जोगाउन उनीहरू अगाडि देखिन्छन्।
उराँव (कुडुख) भाषा नेपालमा बोलिने एक मात्र द्रविड भाषा हो। उराँवहरूको यही जीवन्त अस्तित्व लोककथा र मिथकहरूमा पनि भेटिन्छ जसले भारतीय उपमहाद्वीपमा उनीहरूका सयौं वर्षदेखिका यात्राका कथा भन्छन्। तर तिनमा केही गुमाएको भावना बारम्बार देखापरिरहन्छ– भूमि, प्रतिष्ठा, विशेषाधिकार या अरू केही।
उराँवहरू मूलतः प्रकृतिपूजक आदिवासी हुन्। देवताका नाममा मन्दिर बनाउँदैनन्, गोत्र चाहिं मान्छन्। तिनका गोत्र पनि जनावर, बोटबिरुवा, कीरा आदिमा आधारित हुन्छन्। आफ्ना गोत्र पर्ने प्राणी र वनस्पतिलाई उनीहरू हानि पुर्याउँदैनन्।
प्रकृतिप्रतिको यस्तो मोह र निकटता उनीहरूको उत्पत्ति–कथासँग जोडिएको छ। यसलाई बुझ्न उराँवहरूको सबैभन्दा ठूलो चाड करमपूजामा गाइने यो गीत हेरौं-
केटी : करम खन्डा केरका रो जोंखा रो
ककडो लाता नू दरबर दरबर नन्दर।
केटा : पूप तोख्खा केरका रो पेल्ला रो
ककडो लाता नू होम्बेचे होम्बेचे नन्दर।
(केटी : तिमी करमको हाँगा काट्न जाँदै छौ
तिमी गँगटाको प्वालभित्र दौडिन्छौ।
केटा : तिमी ककड़ोको फूल टिप्न जाँदै छौ
तिमी गँगटोको प्वालभित्र दौडिन्छौ।)
गीतले पर्वका वेला उराँव केटाहरू करमको हाँगा अनि केटीहरू गँगटाको फूल लिन जाने परम्परा दर्शाउँछ। उनीहरू गँगटाकै फूल किन टिप्छन् त?
“किनकि उराँवहरू गँगटाको प्वालबाट उत्पत्ति भएको भनाइ छ,” उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँव भन्छन्। यो समुदायका मुख्य देवता धर्मेश हुन्। पृथ्वी, जल, जमीन, ग्रह, नदीनाला, जीवजन्तु तिनैले सृष्टि गरेको उनीहरू मान्छन्।
मिथक अनुसार एक दिन प्रकृतिदेवी पच्चो अयो र धर्मेश आफ्नो सृष्टि हेर्न सँगै धर्ती विचरण गर्छन्। सोही क्रममा सिरासिता नाले भन्ने ठाउँ पुग्छन्। यो भनेको हिन्दू धर्मशास्त्रमा वर्णित सरस्वती नदी हो जुन सिन्धु घाँटी सभ्यताको थलो मानिन्छ।
उनीहरूले त्यहाँ एउटा झाडीभित्रबाट केही आवाज आएको सुन्छन्। गएर हेर्दा गँगटाको प्वालभित्र दुई बच्चा (भाइ-बहिनी) खेलिरहेका देखिन्छन्। तब पच्चोले धर्मेशलाई तिनै दुईलाई संसार चलाउने जिम्मा दिन भन्छिन्। धर्मेशले उनीहरूलाई प्वालबाट बाहिर निकाली संसार चलाउने विधिविधान सिकाइदिन्छन्। तिनैका सन्तानबाट उराँवहरू फैलिएको मानिन्छ।
यो मिथकले उराँवहरूलाई सिन्धु घाटी सभ्यतासँग जोड्छ। इसापूर्व ३००० देखि १३०० सम्म जीवित यो सभ्यता प्राचीन सभ्यतामध्ये एक मानिन्छ, इजिप्ट र मेसोपोटामियाको जस्तै। सिन्धु घाटी सभ्यताका अवशेष अहिले पनि भारत-पाकिस्तानमा वेलाबखत भेटिने गरेका छन्। थुप्रै अध्येता सिन्धु घाटीमा द्रविड भाषा बोलिने गरेको मान्छन्।
गुमेको राज्य
उराँवहरूले आफ्नो जरो सिन्धु घाटीसँग जोडे पनि केही अध्येताले उनीहरू दक्षिण भारतबाट आएको अनुमान गरेका छन्। त्यहाँबाट उनीहरू हालको बिहारको रोहतासगढ र त्यसपछि छोटा नागपुरमा बसोबास गरे। छोटा नागपुरबाट भारतीय उपमहाद्वीपको उत्तरपूर्वी क्षेत्रमा फैलिए।
“बिहारको रोहतासगढमा छैटौं शताब्दीसम्म उराँवहरूले राज्य गरे। त्यसपछि मुगलहरू आए। तिनका पटक पटकका आक्रमण उराँवहरूले विफल पारे पनि अन्तिममा पराजित भए,” बेचन भन्छन्। राज्य गुमेपछि नै उराँवहरू निरन्तर सीमान्तीकरणमा परेको उनीहरू मान्छन्।
सीमान्तीकरणको यो कथा बेचन र जनक राईले उराँव अफ नेपाल पुस्तकमा पनि समेटेका छन्। बेचनका अनुसार समृद्ध उराँव राज्यको डाहा गर्ने धेरै भए पनि उनीहरूलाई हराउन सहज थिएन। यस्तोमा दुश्मनहरूले वसन्तमा मनाइने चाड सरहुलमा आक्रमण गर्ने योजना बुने। त्यस दिन पुरुषहरू हडिया (रक्सी)ले मातिएका हुन्थे। तर शत्रुपक्षको योजना सफल भएन किनकि उनीहरूलाई उराँव महिलाहरूले नै हराइदिए।
सिन्गी दई र कैली दई नामका राजकुमारीको नेतृत्वमा दुई पटक मुगल फौज खेदाइए। अर्को पटक पनि उनीहरूले मुगलहरूलाई रातभर लखेटेर नदीपारि पुर्याए। उति वेला महिला-पुरुष दुवैको लामो कपाल हुने भएकाले उनीहरू महिला रहेको भेउ मुगलहरूलाई थिएन। बिहान आफ्नो राज्य फर्कंदै गर्दा राजकुमारीहरू नदीमा हातमुख धुन थाले। उनीहरूलाई स्थानीय यादव महिलाले देखेपछि हल्ला फैलाइदिइन्, “यी त महिला रहेछन् किनकि एक हातले मुख धुँदै छन्। पुरुष भए त दुई हातले धुन्थे।”
महिलासँग पराजित भएको थाहा पाएपछि मुगलहरूले थप फौज पठाए। लामो कपाल हुने सबैलाई खोजी खोजी मारे। ती दुई राजकुमारीलाई उराँवहरू अहिले पनि कुलदेवीका रूपमा पुज्छन्।
पुस्तकका अनुसार रोहतासगढबाट उराँवहरू थुप्रैतिर छरिए- कोही बंगाल, कोही आसाम, कोही अन्त। माछा मन पराउने भएकाले उनीहरू बढीजसो पानीको छेउमा बस्थे। यस्तोमा कोही कोशी नदी पछ्याउँदै नेपाल आइपुगे। भारतमा ब्रिटिशराज शुरू भएपछि पनि चरण चरणमा उराँवहरू नेपाल पसे।
यो समुदायकी अर्की सदस्य संगीता उराँव भन्छिन्, “जंगल फाँडेर नदी छेउ बस्नु उराँवहरूको पुरानै चलन हो। त्यसैलाई पछ्याउँदै उनीहरू नेपालमा झोडा-जंगल फाँडेर कोशी र मेची नदीको छेउछाउ बसेको मानिन्छ।”
पछिल्लो जनगणना अनुसार नेपालमा उराँवहरूको जनसंख्या ४६ हजार ८१० छ।
झारखण्डको छोटा नागपुर बस्ने उराँव समूह यही कथाको अर्को कडी हो। उराँव अफ नेपालमा उल्लेख छ,
“....भाग्दै छोटा नागपुर पुगेका उराँवले मुण्डाहरूसँग शरण मागे। त्यतिखेर मुण्डाहरू महत्त्वपूर्ण चाड डंगरी मनाउँदै थिए, प्रसादका रूपमा सुँडीमण्डी (खसीको मासु, चामल र दाल एकैठाउँ मिसाइएको खानेकुरा) खाँदै थिए। मुण्डाले उराँवहरूलाई भने, ‘तिमीहरू उराँव ठाकुर हौ। हाम्रो देउता डंगरीलाई मानेर पूजा गर्यौ भने तिमीहरूलाई मुगलबाट जोगाउँछौं।’ उराँवहरूले शर्त स्वीकार गरे, डंगरी मान्न मुण्डाहरूले जसरी शिर मुण्डन गरे, टुप्पी राखे अनि सुँडीमण्डी खाए। त्यही वेलादेखि जनै फुकाले। लामो कपाल भएका उराँवलाई खोज्दै मुगलहरू आइपुग्दा उनीहरूले त्यस्तो मान्छे भेटेनन्। मुण्डाहरूले भनिदिए- यहाँ सबै मुण्डा मात्र छन्।”
यो कथाले उराँवको आप्रवासन मात्र होइन, उनीहरूको संस्कारमा आएको बदलाव पनि देखाउँछ। अर्थात्, कुनै वेला जनै लगाउने उराँवहरू युद्धले सताइएपछि फरक समुदायका चालचलन अनुकरण गर्न बाध्य भए।
“सोह्रौं शताब्दीसम्म उराँवहरूको राज्य समृद्ध र शक्तिशाली थियो। उराँवगान ठाकुर शक्तिशाली राजा रहेको मानिन्छ,” पुस्तकमा उल्लेख छ।
उति वेला राज्य, प्रतिष्ठा, जग्गाजमीन गुमेको साझा भावनाले आज पनि छरिएका उराँवहरूलाई बाँधिरहेको छ। त्यो उनीहरूको वर्तमानको भोगाइ पनि हो। उराँवहरू नेपालमा ब्रिटिशराजको समयदेखि नै बसिरहेको बताइए पनि कुनै प्रमाण छैन। सन् २००६ मा नेफिन (नेपाल आदिवासी जनजाति महासंघ)ले गरेको सर्वेक्षण अनुसार ७० प्रतिशत उराँव परिवार भूमिहीन छन्। बाँकीसँग औसतमा ०.४ हेक्टर जमीन छ जुन जीविकोपार्जनका लागि चाहिनेभन्दा कम हो।
वर्तमान सीमान्तीकरण
राज्य खोसिएसँगै शुरू भएको उराँवहरूको पलायन कालान्तरमा सीमान्तीकरणमा बदलियो। तर नेपाल आउँदा ताकाको उनीहरूको अवस्था अहिलेको जस्तो नरहेको बेचन र जनकले पुस्तकमा औंल्याएका छन्। तिनको तर्क छ- औलो लाग्ने तराईका जंगलमा बाहिरी मानिस जान नरुचाउने भएकाले उराँवहरू त्यहाँ ढुक्कले बसेका थिए। तराईलाई उर्वर बनाउन र राज्य निर्माणका दृष्टिले उनीहरू सरकारलाई सहयोगी सावित भए। यसैकारण राणाकाल हुँदै राजा महेन्द्रको पालासम्म आइपुग्दा उनीहरू सत्तासँग पनि निकट थिए। राज्यका निकायहरूमा उच्च दर्जा पाए।
राजपरिवार शिकार खेल्न महीनौं तराईमा बिताउँथ्यो। उराँवहरू शिकारमा पोख्त भएकाले उनीहरूको सहयोग लिइन्थ्यो। पछि पछि त शिकारी टोलीको स्वागतमा उराँवहरू ठूलो भोज र नाचगान आयोजना गर्न थाले। यसको बदलामा राज्यले आफूहरूलाई थुप्रै दशकसम्म कर माफ गरिदिएको पाका उराँवहरू सम्झन्छन्।
राजा महेन्द्रको जन्मोत्सवमा २०११ सालमा उराँवहरूको सम्मानमा तक्मा पनि दिइयो। २०३२ सालमा उनीहरूको ‘झाँगड नाच’ समेटिएको हुलाक टिकट निकालियो। कालान्तरमा राज्यले दिने यस्तो सम्मान हराउँदै गयो। शिकारको महत्त्व घट्दा कृषिमा आश्रित हुनुपर्ने अवस्था आयो। तर भूमि आफ्नो नाममा नहुँदा उनीहरूले त्यसबाट फाइदा लिन सकेनन्।
सन् १९५० को दशकमा औलो उन्मूलन अभियानसँगै मानिसहरू पहाडबाट तराई झर्न थाले। इतिहासमा राज्य खोसिएका उराँवका अब जमीन खोसिन थाले।
पुस्तकमा उल्लेख भए अनुसार राणाकालमा राज्यले नै उनीहरूलाई जंगल फँडानी गर्न लगाएको थियो। त्यसरी बनाएको जमीनमा उनीहरू सुठुनी, कोदो, घैया धान आदि फलाउन थाले। तर सत्ता-शक्तिसँग निकट पहाडियाहरूले चलाखी र बलपूर्वक त्यो जमीन कब्जा गर्न थाले। आफैंले बनाएको जमीनमा उराँवहरू मोहीमा परिणत भए तर मोहियानी हकसम्म पाएनन्।
शिक्षाको कमीका कारण पनि उनीहरू जमीन दर्ता गराउनतिर लागेनन्। “विगतमा उराँवहरू छोराछोरीलाई पढाउँदैनथे। पढाए त नोकरी गर्न जानुपर्छ, अहिले नै जमीनदार छ भन्थे,” बेचन भन्छन्।
जमीन खोसिएपछि धेरैजसो उराँवहरू अँधिया-बटैया गर्न थाले। तर जमीनदारले कृषिको लागत बेहोर्दैनथ्यो। यसकै लागि ऋण लिनुपर्ने र तिर्न नसक्दा मोहीले झन् बढी काम गर्नुपर्ने स्थिति निम्तियो।
उराँवहरूकै विषयमा स्नातकोत्तरको शोधपत्र तयार पारेकी बिना भट्टराई लेख्छिन्, “स्रोतसाधनको कमीले कृषक परिवारलाई जीविकोपार्जनका लागि श्रम धेरै गर्नुपर्ने तर बदलामा लाभ कम पाउने पेशामा लाग्न बाध्य बनाउँछ। भूमिहीन भएकाले र खेतीयोग्य जमीनमा कम पहुँच भएकाले प्रायः उराँवहरू कृषि र गैर कृषिक्षेत्रमा श्रम गरेर जीविकोपार्जन गर्छन्। उनीहरू रिक्शा चलाउने, पसल थाप्ने, गाईबस्तु पाल्ने, निर्माण र गार्मेन्ट उद्योगमा काम गर्ने गर्छन्। आयआर्जन न्यून भएकैले प्रायजसो उराँवहरू आर्थिक संकटमा छन्।”
सांस्कृतिक अन्तर्घुलन
निरन्तर यात्रा र भिन्नाभिन्नै परिस्थितिमा अनुकूलन हुँदै जाँदा उराँव समुदायको संस्कृतिमा विविधता मिसिएको पाइन्छ। जस्तो, मुण्डाहरूसँग भेट भएपछि उराँवहरूले डंगरी मनाउन र सुँडीमन्डी खान थाले। यस्तो अन्तर्घुलनकै कारण अहिले उराँव र मुण्डाबीच डंगरी र करमपूजा जस्ता चाड मात्र नभएर केही गीत पनि मिल्दाजुल्दा छन्।
करमपूजाका गीत द्रविड परिवारको कुडुख भाषा अनि भारोपेलीमा पनि छन्। साद्री वा नागपुरी पनि भनिने यो भाषा उराँवहरूले आत्मसात् गर्नु प्रभुत्वशाली भाषा-समुदायका बीचमा उनीहरूको निरन्तर अस्तित्वको प्रमाण हो।
कुडुख भाषा द्रविड समूहको सबैभन्दा उत्तर हाँगो मानिन्छ। द्रविड परिवारका तमिल, तेलगु, मलयालम आदि भाषा दक्षिण भारतमा प्रभावशाली छन्। तेलगु, कन्नड र मलयालम भाषामा निकै पुराना इतिहास अभिलिखित छन्। तमिल भारतकै दोस्रो पुरानो भाषा मानिन्छ। कुडुख भाषाका तोलोंग सिकी र कुडुख गरी दुई लिपि भेटिएका छन्। तर नेपालमा ती लिपिमा लेखन व्यवहार भएको पाइँदैन। सोही कारण यो भाषामा विकसित साहित्य र अभिलिखित इतिहास छैन।
बेचन भन्छन्, “अधिकांश उराँवले आफ्नो भाषा बोल्छन् तर यसलाई लिपिबद्ध गर्न सकिएको छैन।”
हरेक आप्रवासनमा उराँवहरूले नयाँ भाषा सिक्नुपर्यो। यसले गर्दा आफ्नो भाषा र लिपिको विकास गर्नु साटो दोस्रो र तेस्रो भाषामा दक्षता हासिल गर्न पुगे। उत्तर भारत, नेपाल र बाङ्लादेशमा उनीहरू जहाँ पुगे, त्यहाँ हावी रहेका भारोपेली भाषाहरू सिक्न थाले- बंगालमा बंगाली, आसाममा आसामी र नेपालमा नेपाली।
यी भाषा र कुडुखका बीचमा कुराकानी गर्न उनीहरू साद्री भाषामा पुगे। “प्रभुत्वशाली समूहसँग बस्दा उनीहरूको भाषा पनि हावी भएर आउँछ। हाम्रा थुप्रै गीत साद्री भाषामा छन्,” संगीता भन्छिन्।
भोजपुरीसँग निकट रहेको साद्री भारतमा ठूलो संख्याका मानिसले बोल्छन्। खरिया, मुण्डा जस्ता भारोपेली बाहिरका समुदायले ‘लिंगुआ फ्रांका’ अर्थात् सर्वमान्य भाषाका रूपमा अपनाएको साद्री नेपालका उराँवमाझ पनि जीवित छ।
भाषा सीमान्तीकृत हुँदै जाँदा उराँवहरूको नाम पनि अर्कै भाषामा आइपुगेको छ। उनीहरूलाई भारतमा अक्सर झाँगड वा धाँगड भनिन्छ। नेपालमा पनि २०३२ सालको हुलाक टिकटले झाँगड नाम दिएको छ।
“उत्तर भारतमा झाँगड वा धाँगड भनेको नोकर वा काम गर्ने मान्छे हो। नेपालमा पनि झाडी सफा गर्ने मान्छे भनेर त्यही नाम चलाइयो। तर बाहिरियाले दिएको यो नाम सम्मानजनक नभएकाले अहिले हामी चलाउँदैनौं,” बेचन भन्छन्, “उराँव पनि भारतमा अरूले नै दिएको नाम हो तर त्यसको अर्थ ‘मनुष्य’ भएकाले हामीले स्वीकार गरेका छौँ। यद्यपि हामी आफूलाई कुडुख भनाउनै रुचाउँछौं।”
पछिल्लो समय उराँवहरू संस्थागत र संगठनात्मक माध्यमबाट आफ्नो अवस्था सुधार्ने र पहिचान जोगाउने प्रयासमा छन्। पुरानो पहिचान फर्काउने त्यो व्यग्रता मिथकमा पनि झल्किन्छ। यस अनुसार उराँवहरू आफ्ना देवता मकेश्वर बाबालाई मुगलहरूले लगेर मुस्लिम शहरमा, गाईको रगतको खोलो बग्ने ठाउँमा राखेको ठान्छन्। उराँवहरू गाईलाई पवित्र मान्छन्। यस्तोमा मकेश्वर बाबा त्यो रगत नाघ्न नसकेर शक्तिहीन भई अन्जान शहरमा बसिरहेको उनीहरूलाई लाग्छ।
“उराँवहरूले ती देवताकहाँ पुगेर जाँड चढाउन पाए उनी फेरि जाग्ने र आफूहरूलाई शक्ति दिने विश्वास गर्दै आएका छन्,” बेचन भन्छन्।
करमपूजा
करमपूजा उराँवहरूको मुख्य पर्व हो। कुनै देवता र मूर्तिपूजा नहुने भएकाले यो चाड हिन्दू पर्वहरूभन्दा फरक छ।
करमपूजा धान रोपिसकेपछि गरिन्छ। सामान्यतया भाद्र पूर्णिमामा शुरू भई दशैंसम्म मनाइने यो पर्वमा करमको रूखको विशेष महत्त्व छ। उराँवहरू शुरूमा दशैंमा जमरा राखे झैं बीउ रोप्छन्। त्यसपछि करमको रूख छानेर चिनो लगाउँछन्। पूजाका दिनमा तीन वा पाँच जना पुरुषले त्यसको हाँगो काटेर ल्याउँछन्।
अनि त्यति नै संख्याका महिलाले ककड़ो (गँगटो)को फूल लिएर आउँछन्। त्यसपछि यी हाँगा र फूल समुदायका नेता ‘नेंग’ को छतमा लगेर राखिन्छ।
पूजाको बेलुकी सबै जना सामूहिक स्थलमा भेला हुन्छन्। “अक्षता, जमरा आदि पूजासामग्री र घरमा पकाएका छौं, मालपुवा जस्ता खानेकुरा लिएर हामी निस्कन्छौं। सबै जना दियो बालेर लस्करै हिंड्दा गाउँ नै उज्यालो देखिन्छ,” संगीता भन्छिन्।
पूजास्थल पुगेपछि नेंगको घरबाट करमको हाँगा ल्याएर बीचमा राखिन्छ, त्यसलाई गँगटोको फूल र अन्य सामग्रीले पूजा गरिन्छ। त्यसपछि मानिसहरू वरिपरि नाच्न/गाउन थाल्छन्। केही मादल बजाउँछन्, कोही गीत गाउँछन्। गीतमा अक्सर समुदायको विगतका कथा पाइन्छन्। माना उराँवले सुनाएको गीत यस्तो छ-
सातैं भाया सातों करम गाड़य
सातों गोतनी सेवाकारय
ओ राय हो
सातों गोतनी सेवाकारय
बड़ भया भुखा साहय
छोटा भया पियासाहय
मझ भाया करे मा कि सो
ओ राय हो
मझ भया करे मा कि सोहय।
यो गीतसँग एउटा कथा जोडिएको छ। छेदो र दयावती उराँवले सुनाएको त्यो कथा यस्तो छ-
कुनै परिवारमा सात दाजुभाइ रहेछन्। काम गर्न कतै टाढा गएका उनीहरू लामो समय नफर्किएपछि पत्नीहरू आत्तिएछन्। तब जेठी जेठानीले करमपूजा गरे पतिहरू फर्कन सक्ने बताइन्। देउरानीहरूले उनको कुरा माने। दाजुभाइ घर फर्कने बाटो नभेटेर जंगलमा हराइरहेका रहेछन्। यत्तिकैमा टाढाबाट ठूलो स्वरमा नाचगान गरेको आवाज सुनेछन्। के रहेछ भनी एक भाइ रूख चढेर हेर्दा टाढा सानो बत्ती बलिरहेको देखेछन्। त्यही बत्तीलाई पछ्याउँदै जाँदा उनीहरू घर पुग्न सकेछन्।
करमको रूखको महत्त्व झल्काउने अर्को एउटा कथा विमलादेवी उराँवले सुनाइन्- “सात दाजुभाइ र बहिनी जंगल गएकामा कान्छो भाइ र बहिनी त्यहीं छुट्छन्। त्यहाँ उनीहरूले करमको रूखमा बसेर आफूलाई जंगली जनावरबाट सुरक्षित राख्छन्। भोलिपल्ट दाजुभाइ गएर उनीहरूलाई फर्काउँछन्। उनीहरूलाई संरक्षण गरेकाले करमको पूजा गर्न थालिएको कथन पनि छ।”
करमपूजाबारे अरू पनि थुप्रै कथा छन्। ती सबैको सार एउटै छ- काम मात्र गरेर पुग्दैन, प्रकृतिको पूजा पनि गर्नुपर्छ। “करमपूजाका कथाहरूको अर्थ भनेको कर्म र धर्म दुवै चाहिन्छ भन्ने हो,” बेचन भन्छन्।
करमपूजाको अर्को उल्लेख्य पक्ष नाच हो। पुरुष र महिला छुट्टाछुट्टै पंक्तिमा उभिएर चाल मिलाउँदै नाच्छन्। छिनछिनमा सिठीको आवाजसँगै चाल फेर्छन्। प्रायः हिन्दू परम्परामा महिला–पुरुष सँगै नाच्ने अवसर हुँदैन तर उराँव समुदायमा त्यस्तो संकोच देखिंदैन।
“कति रमाइलो हुन्छ, थकाइ नै लाग्दैन,” संगीता भन्छिन्, “अरू गाउँका मान्छे पनि आउँछन्, केटाकेटी मस्किंदै, जिस्किंदै नाच्छन्। आफूलाई मन परेको मान्छे पनि त्यहीं हुन सक्छ। अनि रमाइलो हुँदैन त?”
पूजाको भोलिपल्ट एउटा समूहले करमको हाँगा घर घर डुलाउँछ। परिवारको, सुख, शान्ति र समृद्धिका लागि डुलाइन्छ। करम पर्वलाई कर्मको देवता पनि भन्छन्। यस बापत उनीहरूले घरैपिच्छे खानेकुरा र दक्षिणा पाउँछन्। बाँकी मानिस नाची नै रहन्छन्। साँझ करमको हाँगो खोलामा सेलाएपछि पर्व समापन हुन्छ।