महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो
चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले तेस्रो स्थान हासिल गरेको छ।
आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो। हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुबिना छेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाए।
बलिङतर्फ जापानका अहिल्या चन्डेल, अयुमी फुजिकावा र एरिका टोगुची क्युइनले समान एक विकेट लिए। रोमा थापा र रुबिना छेत्री रन आउट भए।
११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनायो। जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ११ रन बनाए।
बलिङतर्फ नेपालकी संगीता राई, इन्दु बर्मा, सीता राना मगर, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए।
महिला टी-२० शृङ्खलामा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए। तान्जानिया र हङकङबीच उपाधिका लागि आज उपाधि भिडन्त हुँदै छ।