जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल, एम्बाप्पेको ह्याट्रिक
यूरो कप २०२४ को छनोट खेलमा फ्रान्सले जिब्राल्टर विरुद्ध १४-० को नतीजा निकालेको छ।
जिब्राल्टरको टोली १० खेलाडीमा सीमित भएको उक्त खेलमा फ्रान्सका कप्तान समेत रहेका किलिएन एम्बाप्पेले ह्याट्रिक गरे। उनले ३०, ७४ र ८२औं मिनेटमा गोल गरेका थिए।
जिब्राल्टरका खेलाडी इथन सान्तोसले आत्मघाती गोल गर्दा फ्रान्सले एउटा गोल उपहार पायो। यस्तै, अलिभिए जिरू र किंग्सली कोम्यानले समान दुई गोल गरे। मार्कस थुरम, वारेन जाइर एमरी, जोनाथन क्लस, युसुफ फोफाना, एड्रियन रबियो र उस्मान डेम्बेलेले समान एक गोल गरे।
फ्रान्सले पहिलो हाफमा सात र दोस्रो हाफमा पनि सातै गोल गरेको थियो।
यूरो कपको छनोटको यो हालसम्मकै फराकिलो अन्तरको जित हो। यसअघि सन् २००६ मा जर्मनीले सान मारिनोलाई १३-० गोलअन्तरले पराजित गरेको थियो।
यस्तै, जिब्राल्टर विरुद्धकै खेलमा एम्बाप्पेले आफूलाई फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो स्थानमा पुर्याए। उनले एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै ४६ गोल सहित तेस्रो स्थान हासिल गरेका हुन्। एम्बाप्पे अब ५१ गोल सहित दोस्रो स्थानमा रहेका थिएरी हेनरीको कीर्तिमान भंग गर्न नजिक पुगेका छन्।
फ्रान्सका सर्वाधिक गोलकर्ता अलिभिए जिरू ५६ गोल सहित शीर्षस्थानमा छन्। उनले आज दुई गोल गरे।
यूरो कप छनोटको अन्तिम खेलमा मंगलबार फ्रान्सले ग्रीसको सामना गर्नेछ।