अस्ट्रेलियालाई छैटौं उपाधि कि भारतलाई तेस्रो?
दुई दशकपछि एकदिवसीय विश्वकपकाे उपाधिका लागि एकअर्का विरुद्ध भिड्दै गरेका भारत र अस्ट्रेलियामध्ये यस पटक कसले बाजी मार्ला?
सन् १९८७, १९९९, २००३, २००७ र २०१५। विश्व क्रिकेटकाे महारथी अस्ट्रेलियाले यी पाँच संस्करणकाे एकदिवसीय विश्वकपकाे उपाधि उचालेको छ। आज छैटौं उपाधिका लागि भारत विरुद्ध भिड्नेछ।
भारत र अस्ट्रेलिया २० वर्षपछि एकदिवसीय विश्वकपकाे उपाधिका लागि भिड्दै छन्। यिनीहरूको अन्तिम भेट सन् २००३ मा भएको थियो।
एकदिवसीय विश्वकपको १३ संस्करणमध्ये अस्ट्रेलिया आठ पटक फाइनलमा पुगेको छ। आठमध्ये पाँचमा विजेता बनेको छ भने १९७५ र १९९६ मा क्रमशः वेस्ट इन्डिज र श्रीलंकासँग फाइनलमा पराजय भोगेको छ।
१३ संस्करणमा अस्ट्रेलिया तीन पटक मात्र समूह चरणबाट बाहिरियो भने सन् २०११ मा क्वार्टरफाइनल र सन् २०१९ मा सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। अर्थात्, विश्वकपमा नि:सन्देह अस्ट्रेलिया बलियो टोली हो।
यस पटक अस्ट्रेलियाली टोलीमा सन् २०१५ काे विश्वकप जितेका सात खेलाडी छन्- डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोश हेजलवूड, मिचेल स्टार्क, मिचेल मार्स र प्याट कमिन्स।
यो पनि : म्याक्सवेललाई जीवनदानले जुराएको दोहोरो शतकको अवसर
तर यो सवालमा भारत पनि कम छैन। भारतसँग २०१५ काे विश्वकपमा सहभागी भएका खेलाडी त छन् नै, २०११ मा विश्वकप उपाधि जित्दाका समेत दुई खेलाडी छन्- विराट कोहली र रविचन्द्रण आश्विन। त्यसमाथि विराट कोहली अहिले सर्वाधिक उत्कृष्ट लयमा छन्। केही दिनअघि मात्रै उनले सचिन तेन्दुलकरकाे सर्वाधिक एकदिवसीय शतक (४९) काे कीर्तिमान भंग गरेका थिए।
यो पनि : विराट कोहली र सचिन तेन्दुलकरको शतकको तुलना
कोहली मात्र होइन, यो विश्वकपलाई नियाल्ने हो भने पूरै भारतीय टोली अहिले उत्कृष्ट ‘फर्म’ मा छ। ओपनरद्वय रोहित शर्मा र शुभमन गिल तथा तल्लो क्रमसम्मै ब्याटिङ गर्न सक्नु भारतीय टोलीकाे अर्को विशेषता हो।
भारतको बलिङ ‘लाइनअप’ उस्तै धारिलो देखिएको छ। मोहम्मद शामी अहिले करियरकै उत्कृष्ट फर्ममा छन्। यही विश्वकपमै समूह चरणका नौमध्ये सात तथा सेमिफाइनल समेत आठ खेलमा भारतले प्रतिद्वन्द्वीलाई अलआउट गरेको छ।
समूह चरणमै अस्ट्रेलियालाई भारतले ४९ ओभर तीन बलमा १९९ रनमा अलआउट गरेको थियो। उक्त खेल भारतले ६ विकेटले जितेको थियो।
त्यसमाथि भारतको विश्वकप फाइनलको रेकर्डलाई पनि राम्रै मान्न सकिन्छ। यसअघि तीन पटक फाइनल खेल्दा एक पटक मात्र हार बेहोरेको छ, अस्ट्रेलिया विरुद्ध नै।
यसकारण यी दुवै टोली कोहीभन्दा कोही कम छैन। अस्ट्रेलिया छैटौं उपाधिको दाबेदार नै देखिएको छ भने भारत पनि तेस्रो उपाधि जित्न कुनै हिसाबले कम छैन।
पछिल्लो पटक अस्ट्रेलियाले सन् २०२३ मै आईसीसी टुर्नामेन्ट जितेको थियो- वर्ल्ड टेस्ट च्याम्पियनशिप। भारतले भने पछिल्लो पटक आईसीसी टुर्नामेन्ट जितेको एक दशक भइसकेको छ- सन् २०१३ को च्याम्पियन्स ट्रफी।
‘हेड टु हेड’ मा तुलना गर्ने हो भने हालसम्म यी दुई टोलीबीच १५० एकदिवसीय खेल हुँदा ८३ मा अस्ट्रेलिया विजयी भएको छ भने ५७ मा भारत।
आज नेपाली समय अनुसार दिउँसो २:१५ बाट खेल शुरू हुनेछ। अहमदाबादकाे नरेन्द्र मोदी रंगशालामा एक लाख ३० हजार दर्शकसामु भव्य समारोहपछि उपाधि भिडन्त हुनेछ।
फाइनल खेलमा उपाधिका लागि मात्र भिडन्त हुनेछैन। सर्वाधिक विकेट लिने खेलाडीबीच पनि प्रतिस्पर्धा हुनेछ। अहिले सर्वाधिक विकेट लिने खेलाडीमा भारतका मोहम्मद शामी छन्। उनले २३ विकेट लिएका छन्। उनलाई चुनौती दिंदै छन् एडम जाम्पाले। उनी २२ विकेट सहित दोस्रो स्थानमा छन्।
सर्वाधिक रन बनाउनेमा भने कोहली निकै अघि छन्। कोहलीले ७११ रन बनाएका छन् भने दोस्रो स्थानमा रहेका क्विन्टन डी ककले ५९४ रन। यद्यपि कोहलीलाई डी ककबाट कुनै चुनौती छैन। अस्ट्रेलियाका लागि सर्वाधिक रन (५२८) डेभिड वार्नरले बनाएका छन्।
यस विश्वकपकाे विजेताले ४० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ भने उपविजेताले २० लाख अमेरिकी डलर।