एमाले महासचिव पोखरेलको प्रश्न : जसले जे गर्दा पनि हामी त सत्तामा छैनौं भनेर बस्न मिल्छ?
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा देखिएका खराबी र बेथितिलाई प्रमुख प्रतिपक्षी दलले बेवास्ता गर्न नमिल्ने बताएका छन्।
आफ्नो पार्टी सम्बद्ध जनसंगठन समन्वय संयन्त्रले मंसीर २ गते काठमाडौंमा आयोजना गरेको भेलामा पोखरेलले समाजलाई सही बाटोमा हिंडाउने दायित्व सरकारको हो भनेर एमाले उदासीन बन्न नमिल्ने धारणा राखेका हुन्।
“के नेकपा (एमाले) जस्तो राजनीतिक दलले जसले जे गरे पनि हुन्छ, हामी सत्तामा छैनौं त्यसैले कुनै वास्ता छैन भनेर बस्न मिल्छ?” पोखरेलले भने, “जहाँ खराबी छ, जहाँ बेठीक भइरहेको छ, न्याय-सत्यका पक्षमा एमाले र एमालेपंक्ति छ, उभिन सक्छ भन्ने मान्यता स्थापित गर्नु जरुरी छ।”
परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको भएको पोखरेलको भनाइ छ। “हामीले ल्याएको परिवर्तन रक्षाको जिम्मा हामी कसैलाई दिन सक्दैनौं, परिवर्तन हामीले ल्याएका हौं, त्यसको रक्षा पनि हामी गर्न सक्छौं,” उनले भने।
शासकहरूका कर्मले फैलिएको निराशा र अराजकता चिर्ने शुरूआत एमालेबाट गर्नुपर्नेमा पोखरेलले जोड दिए।