वन्यजन्तु तस्कर पुनः सलबलाएको संकेत
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मारिएको घटनाले वन्यजन्तु तस्कर पुनः सलबलाएको संकेत गरेको छ।
लामो समय शून्य चोरी शिकारीको उपलब्धि हासिल गरेको चितवन राष्ट्रिय निकुञ्जमा गत बिहीबार दुई वटा गैंडा मृत अवस्थामा फेला परे। दुवै गैंडाको खाग थिएन, यसले प्रस्ट संकेत गर्थ्यो- गैंडालाई तस्करले मारेका हुन्।
निकुञ्जको सौराहा सेक्टर अन्तर्गतको चपरचुलीदेखि झन्डै साढे तीन किलोमिटर दक्षिणपूर्वमा चुरेको फेदीमा खोंच जस्तो ठाउँमा अन्दाजी १८ र ६ वर्षका दुई वटा पोथी गैंडा मृत भेटिएका हुन्।
“१८ वर्षको गैंडा ११ दिन अगाडि मरेको जस्तो देखिन्छ भने ६ वर्षको पोथी चाहिं चार दिन अगाडि मरेको जस्तो देखिन्छ,” निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले हिमालखबरलाई भने।
तिवारीका अनुसार तस्करले १०० मिटरको फरकमा दुई वटा खाल्डो खनेर धराप पारेर गैंडा मारेका हुन्। घटनास्थल सेनाको सुरक्षा पोस्टबाट साढे तीन किलोमिटर पर छ।
घट्दै थियो चोरी शिकारी
सन् २००० देखि २०११ का बीचमा मरेका लगभग ४७ प्रतिशत गैंडा तस्करले मारेका हुन्थे। सशस्त्र द्वन्द्वको वेला एकै वर्ष ३८ वटासम्म गैंडा मारिएका थिए।
सन् २०११ देखि चोरी शिकारीका कारण गैंडा मर्ने क्रम घट्यो। वर्षको एक वा दुई वटा मात्र चोरी शिकारीको घटना हुन थाल्यो। केही वर्ष त शून्य चोरी शिकारी वर्ष नै मनाइयो। तर तीन वर्षयता फाट्टफुट्ट चोरी शिकारीका घटना भइरहेका थिए। यसले वन्यजन्तु तस्कर सूक्ष्म रूपमा सलबलाएको संकेत गरिरहेको थियो। परिणामतः बिहीबार एकै पटक दुई वटा गैंडा मृत भेटिए।
गैंडा खाल्डोमा परिसकेपछि त्यसको खाग झिक्ने र त्यसलाई सुरक्षित ठाउँसम्म पुर्याउन पनि मेहनत गरिएको देखिएको छ। यद्यपि विगतका घटना जस्तै यसको पनि सत्यतथ्य पत्ता लाग्ने निकुञ्ज स्रोत बताउँछ।
केही वर्षयता भएका चोरी शिकारीका घटना मानव बस्तीभन्दा पर भएको हुँदा अब त्यस्ता ठाउँलाई पनि निगरानी गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका संरक्षणकर्मी डा. बाबुराम लामिछाने बताउँछन्। निकुञ्जभित्र जहाँ पुग्न सकस छ र गस्ती गर्न पनि सहज छैन, त्यस्तो ठाउँमा चनाखो हुनुपर्ने उनी बताउँछन्।
“संरक्षणकर्म र संरक्षण शिक्षा प्रभावकारी भएकाले नै समुदाय नजिक र समुदायमा आउने वन्यजन्तु सुरक्षित भएका हुन्। नत्र त वन्यजन्तु कसरी जोगिन्थ्यो होला र?” संरक्षणकर्मी लामिछानेले भने।
यता, निकुञ्जका सूचना अधिकारी तिवारी भने हाल घटना भएको क्षेत्रमा पनि गस्ती भने भएको बताउँछन्। “गस्ती गर्दा त्यहाँ नपुगेको भए त घटना जानकारीमै आउँदैनथ्यो। सो क्षेत्रमा गस्ती भएकै थिएन भन्ने होइन,” तिवारीले भने, “कतिपय अवस्थामा झाडीले गर्दा गस्ती गर्दा पनि अनियमितता देखिंदैनन। घटनास्थलमा हात्तीभन्दा अग्ला ढड्डी छन्। त्यस्तो ठाउँमा १०/१५ मिटर परको खाल्डो पनि देखिंदैन। त्यसैलाई तस्करले उपयोग गरेको देखियो।”
चितवन राष्ट्रिय निकुञ्जमा बढीजसो तल्लो क्षेत्र र खोला आसपासको क्षेत्रमा गस्ती हुने गरेको छ। त्यो क्षेत्रमा चोरी शिकारीको चुनौती अधिक भएकाले गस्ती पनि सोही क्षेत्रमा केन्द्रित गरिएको हो।
संरक्षणका लागि बाहिरबाट राम्रोसँग घेरा हालेपछि भित्र सुरक्षा हुन्छ भन्ने पनि एउटा बुझाइ छ। तर यो घटनाले भित्री इलाकामा पनि उत्तिकै निगरानी गर्नुपर्ने देखाएको छ। गस्ती बढी हुने क्षेत्रमा चोरी शिकारी गर्ने सम्भावना नदेखेपछि नियमित गस्ती नहुने ठाउँमा तस्करहरूले गैंडा मारेको देखिएको तिवारी बताउँछन्।
यस घटना अत्यधिक मेहनत र तयारीका साथ भएको देखिएको छ। निकुञ्जभित्रै गैंडा फस्ने गरी ठूलो खाल्डो खनिएको छ जसका लागि केही दिन लाग्छ नै। यस्तै, खाल्डोमा गैंडा परेको छ कि छैन भन्ने निगरानी पनि गरिएको हुनुपर्ने निकुञ्जका अधिकारी बताउँछन्।
गैंडा खाल्डोमा परिसकेपछि त्यसको खाग झिक्ने र त्यसलाई सुरक्षित ठाउँसम्म पुर्याउन पनि मेहनत गरिएको देखिएको छ। यद्यपि विगतका घटना जस्तै यसको पनि सत्यतथ्य पत्ता लाग्ने निकुञ्ज स्रोत बताउँछ।
विगतमा चोरी शिकारीमा लागेका, जेल परेकाहरूलाई संरक्षणमा संलग्न गराउँदै वैकल्पिक आयआर्जनको काममा लगाउने कार्यक्रम पनि चितवनमा हुँदै आएको छ। “आमसमुदायमा चोरी शिकारी गर्नु हुँदैन, बरु वन्यजन्तुको संरक्षण गर्दा मान्छे आउँदा रहेछन्, त्यसबाट आर्थिक उपार्जन हुँदो रहेछ भन्ने बुझाइ छ,” लामिछानेले भने। तर नयाँ पुस्ता चोरी शिकारीमा लाग्दा यसले संरक्षणमा चुनौती हुँदै आएको छ।