धनगढी आगलागी : करीब १८ करोडको क्षति
धनगढीमा आज भएको आगलागीबाट करीब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
धनगढी उपमहानगरपालिका-१ मा अवस्थित सारथि अस्पताल आसपासमा गए राति १ बजे भीषण आगलागी भएको थियो। अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड शू सेन्टरमा लागेको आगो छेउछाउमा पनि सल्किंदा १७ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको रिर्पोट सार्वजनिक भएको छ।
आगलागीबाट सारथि अस्पताल प्रालिमा पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकमा ३० लाख, सुविधा इन्टरप्राइजेजमा एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको छ। यस्तै, भट्ट सप्लायर्समा ७० लाख, भण्डारी शू सेन्टरमा ५० लाख, भण्डारी जनरल स्टोरमा चार करोड २५ लाख तथा मधुमाला कनेक्शनमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको रिर्पोटमा उल्लेख छ।
यसैगरी, शुभेच्छा बेबी शपमा ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपैयाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपैयाँ बराबरको स्कूटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
विद्युत् तार शर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली आगो निभाउन खटिएको थियो। यस्तै, धनगढी उपमहानगरपालिकाका दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो।